April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

कविता: कुन्जागं

अशोक चाम्लिङ
२०८० मंसिर २

2.6K

छुट्टिने बेला
कुन्जागं र दावा भावुक बने
अब उप्रान्त जीवनमा
सायदै भेटिनेछन उनीहरू ।

बीस बर्ष पछि
अमेरिकाबाट
कुन्जागं भूटान फर्किदैछिन्
दावा अमेरिकै रहनेछिन् ।

कुन्जागं अन्य नेपाली झैँ
भुटानबाट लखेटिएको मध्येकी भने होइन
जस्तो की
धेरै नेपाली भूटानबाट लखेटिए
देशबिहीन भए
तीन दशक अघिको
राजनैतिक कोपभाजन कारण जो थियो ।

Advertisement

दावा राज्य पक्ष कै सहि
इच्छाले अमेरिका आइन्
इच्छाले यतै बस्छिन् ।

यसरी,
हुन पर्ने त कुन्जागं र दावा
परस्पर बिरोधी कित्तामा हो
कुन्जागं नेपाली मुलकी
दावा भुटानी मुलकी
तर,
एक अर्कालाई बुझ्नु ठूलो रहेछ
मानवता र मित्रता त
राजनिती भन्दा माथि पो रहेछ ।

अमेरिका रहँदा
कुन्जागंकी श्रीमानले उता बिहे गरे
मन बिग्रियो फ़र्कन सकिनन रे
एउटै जवान छोरोलाई दूर्घटनाले लग्यो
बिरक्तिले पराकाष्ट छोयो रे ।

कुन्जागं अमेरिकालाई भाग्य ठान्दिनन
भूटानलाई दुख ठान्दिनन
आज जन्म थलो फर्कदाको
बाध्यता भन्नु केवल
९१ बर्षीय एक्लो आमा र उनको इच्छा ।

भाग्य सोँचको कुरा पनि रहेछ
जीवन एक लाचारी पनि रहेछ ।