February 13, 2025, Thursday
२०८१ फाल्गुन २
1:37:26 pm

“अबको साहित्यको मूल धार पहिचान र समानताको हुनुपर्छ”– मञ्जुल मितेरी

सीता तुम्खेवा
२०८० आश्विन २७

3.3K

मोरङको मिक्लाजुङ गाउँपालिका वडा नम्बर–४ जन्म भई हाल जापानमा रहेका मञ्जुल मितेरीका परिचय अनेक छन् । साहित्यकार तथा मुर्तिकार मितेरीका ‘आस्था’ (कवितासंग्रह २०५७), ‘अर्काको देशमा’ (कथासंग्रह २०७१) र हालसालै ‘कामी’ कवितासंग्रह २०७९) प्रकाशित छन् भने हालसम्म लगभग ३ हजार व्यवसायिक मूर्तिहरु बनाइसकेका छन् निर्माण गरीसकेका छन् । ११ वर्षको उमेरदेखि मूर्तिकला यात्राको सुरुवात गरेका उनको लक्ष्य हजारवटा विश्वप्रसिद्ध व्यक्तित्वहरुका अर्धकदका शालिकहरु बनाएर राष्ट्रलाई उपहार चढाउने रहेको छ। जसमध्ये १८८ वटा बनाइसकिएको उनी बताउछन् । मितेरी गीतकार, संगीतकार तथा गायक पनि हुन् । उनको लेखन, संगीत तथा स्वरमा १० भन्दा बढी गीत सार्वजनिक भएका छन् । हाल मोरङकै उर्लाबारी नगरपालिका वडा नम्बर ६ मा स्थायी बसोबास गर्दै आएका मितेरीले स्नातकोत्तरसम्मको औपचारिक शिक्षा हासिल गरेका छन् । उसु (कुङ् फू) मार्शल आर्टको राष्ट्रिय खेलाडी र प्रशिक्षकसमेत भइसकेका उनले नेपाल सरकारद्वारा २०७२ सालमा राष्ट्रिय युवा प्रतिभा पुरस्कार’, ‘क्षेत्रीय प्रतिभा पुरस्कार २०७९’ सहित विभिन्न ५० बढी पुरस्कार तथा सम्मानहरु प्राप्त गरिसेका छन् ।

हाल जापानको बिशाल चट्टानी पहरामा यस शताब्दीमा विश्वकै सबैभन्दा विशाल गौतम बुद्धको मूर्ति निर्माणको नेतृत्वकर्ताको रुपमा कार्य सम्पन्न गरेका मितेरीसँग नेपाल मामिलाका लागि गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ:

भर्खरै प्रकाशित तपाईँको कवितासंग्रह ‘कामी’ चर्चामा छ । यस कृतिका बारेमा आफ्ना कुरा राखिदिनुहोस् न ?
–‘कामी’ मेरो तेस्रो साहित्यिक कृति हो । मैले बाँचिरहेको समाजका कतिपय विषय र मुद्दाहरूमा मैले लेख्नै पर्छ, बोल्नै पर्छ भन्ने महसुस गरेर लेखिएका कविताहरू छन् यसमा । समाजका विकृति, विसंगती, विभेदमात्रै नभएर यस संग्रहभित्र मैले समाजका सुन्दर पक्षहरू, प्रेमदर्शन र जीवनदर्शनहरूलाई आफ्ना अक्षरहरूमार्फत समेट्ने प्रयत्न गरेको छु । आम जनमानसले यस कृतिलाई चासो दिनु, प्रकाशनको छोटो अवधिमै दोश्रो संस्करण पनि आउनु ‘कामी’को लागि सुखद कुरा नै हो । यसका लागि म सम्पूर्ण पाठक महानुभावहरूप्रति आभारी छु ।

Advertisement

संग्रहको शीर्षक ‘कामी’ नै किन राख्नुभयो ? यदि यही शीर्षक गैरदलित सर्जकले राखेको भए विवाद हुन्नथ्यो ?
–सदियौंदेखि अनेकन उत्पीडनसँगसँगै यो समाज निर्माणको गौरवपूर्ण इतिहास बोकेको सुन्दर नाम हो ‘कामी’ । म त यसभित्र अथाह सौन्दर्य देख्छु । म स्वयम् पनि दलित समुदायभित्रकै भएकोले म मेरो जातीमा गर्व गर्छु । र यसलाई समाजमा सगौरव प्रस्तुत गर्ने हिम्मत पनि गर्छु । विशेष गरी हाम्रो समाजको विभेदहरूविरुद्ध लेखिएका कविताहरू छन् यसमा । यसर्थ पनि मैले संग्रहको नाम सगौरव ‘कामी’ राखें । यो एउटा आवाज हो, आन्दोलन हो र विद्रोह पनि हो ।
जहाँसम्म गैरदलित सर्जकले यही नामका पुस्तक निकालेको भए भन्ने सवाल छ, उसले यो नामलाई, यो शब्दलाई कसरी प्रयोग गरिरहेको छ भन्नेमा भर पर्छ । जोकसैले पनि यी सुन्दर नामहरूलाई समाजमा सकारात्मक तवरले प्रयोग गर्नुपर्छ भन्छु म । तर, विभेदलाई प्रश्रय दिने अभिप्रायले, हेयभावले कसैले प्रयोग गर्छ भने त अवश्य विवाद हुन्छ नै ।

यस कवितासंग्रह पुरस्कारका लागि शीर्ष सूचीमा त परे तर पुरस्कृत भने हुन सकेन नि ? कस्ता कृतिहरू पुरस्कृत हुने रहेछन् ? अनुभव सुनाउनोस् न ?
–वास्तवमा एउटा लेखकले पुरस्कारको लागि भनेर कहिल्यै लेख्दैन । तर बजारमा आइरहेका पुस्तकहरूको विभीन्न पक्षबाट मूल्यांकन हुनुलाई म गलत पनि भन्दिन । ‘कामी’ केही मूल्यांकनहरूमा अग्रपंक्तिमा आएकै हो । र यसैलाई मैले पुरस्कार सम्झेको छु । समाजको आवाज, समाजको आवस्यकता र उत्कृष्ट विचार बोलेको पुस्तक नै पुरस्कृत हुने हो । ‘कामी’भन्दा अब्बल कृतिहरू पुरस्कृत हुँुदा ‘कामी’ खुशी छ ।

पुरस्कृत कृतिहरू कतिको पढ्नुहुन्छ ? के पुरस्कृत सबै कृति राम्रा हुन्छन् ?
–निकै लामो समय देश बाहिर रहेकोले पछिल्लो समय पुस्तकको अप्राप्यताका कारण अलि कम पुस्तक पढ्ने अवसर पाएको छु । पुरस्कृत कृति पढ्नै पर्छ भनेर चाहिं पहिलेबाटै पछि लागिएन । पुस्तकलाई पुरस्कृत गर्नका लागि विभीन्न मापदण्डहरू तोकिएका हुन्छन् होला । र मापदण्ड बाहिरका, पुरस्कृत नभएका कतिपय पुस्तकहरू पनि उत्तिकै उत्कृष्ट हककुदारहेछन् भन्ने चाहिं थाहा छ । पुरस्कृत कृति राम्रो हुनैपर्छ भन्ने मेरो मान्यता हो । विभीन्न आग्रह, पुर्वाग्रहले प्रभावित भई कमसल कृति पुरस्कृत भएमा पुरस्कारको वजन घट्छ भन्ने लोकमान्यतामा म पनि सहमत छु ।

भनिन्छ, ‘असल लेखक हुन सर्वप्रथम असल पाठक हुनुपर्छ’, तपाइँ कतिको पढ्नुहुन्छ ?
– स्वदेशमा रहँदा त साहित्यिक पुस्तकहरू नियमित पढिन्थ्यो । अहिले देशबाहिर भए पनि पाए जति पुस्तकहरू पढि नै रहेको हुन्छु । एउटा लेखकको साधना भनेको उसले अरुको पुस्तक पढ्नु पनि हो ।

विशेष कस्ता किसिमका पुस्तकहरू पढ्न रुचाउनुहुन्छ ?
–यो समय र उमेर अनुसार भर पर्ने रहेछ । पहिले–पहिले प्रेम, जीवन दर्शन र राजनीति सम्बन्धीका पुस्तकहरू पढ्ने गरिन्थ्यो । अहिले समकालीन साथीहरूको पुस्तकहरू र समाजको अध्ययन गर्ने खालका पुस्तकहरू पढिरहेको छु ।

कवितासँगै गीतहरू पनि लेख्नुभएको छ, त्यसलाई आफैले संगीत गर्ने तथा गाउने पनि गर्नुहुन्छ, एकै व्यक्ति सबै बन्दा सफल हुन सकिने रहेछ ?

–मैले अहिलेसम्मको मेरो जीवन भोगाइमा जीवनलाई सम्भव भएसम्म सदुपयोग गर्ने प्रयत्न मात्रै गरेको हुँ । चाहे त्यो ललितकलामा होस् या त साहित्यमा होस् या त संगीतमा होस् या त खेलकूदमा । प्रकृतिले दिएका र आफूभित्र भएका सम्भावनाहरुलाई आफूले सुन्दर ढंगबाट प्रस्तुत गर्ने प्रयत्न गर्दा ती सम्भावनाहरु कहिले मूर्ति, कहिले कविता त कहिले संगीत बनेका हुन् । र, यस मानेमा मेरो अनुभव आजसम्म सुखद नै छ । जहाँसम्म सबै क्षेत्रमा हात हाल्दा सफल होईन्छ÷होईन्न भन्ने सवालमा चाहीँ सफलता या असफलताको निश्चित मापन र परिभाषा कतिलाई भन्ने, केलाई ठान्ने, भन्ने प्रश्न उठ्छ । मैले चाहिं यी सबै क्षेत्रमा मैले लेख्नैपर्छ, बोल्नैपर्छ या केही गर्नैपर्छ भन्ने लागेर इमान्दार प्रयत्नहरुमात्रै गरेको हो । सफलता÷असफलतमा भन्दा पनि म मेरो प्रयत्नहरुमा खुशी छु ।

आफ्नो परिचय दिनुपर्दा, कवि, गीतकार, गायक या मूर्तिकार ?
– प्रकृतिमा भएका कला र सौन्दर्यहरुका अथाह रहस्यहरुलाई मेरो मन, मस्तिष्क र कलाले भ्याएसम्म उजिल्याउने प्रयत्न गरिरहेको छु । त्यसैले म एक ‘कलाकार’को रुपमा आफ्नो पहिचान बनाउन साधनारत छु ।

तपाइँले विश्वप्रसिद्ध व्यक्तित्वहरूको शालिक निर्माण गर्दै आउनुभएको छ, शौख हो कि ?

–पेशाले म एक मूर्तिकार हुँ । व्यवसायिक मूर्तिहरुका अलावा मेरो देशलाई उपहार दिन भनी एकहजार विश्वप्रसिद्ध व्यक्तित्वहरुको अर्धकदका शालिकहरु बनाइरहेको छु । अहिलेसम्म यसका लागि १८० शालिकहरु निर्माण गरिसकेको छु । यसका लागि मेरो लाखौं रुपैया र धेरै समय खर्च भइसकेको छ । त्यसैले यो मेरो सौखभन्दा पनि मेरो देशप्रतिको समर्पण र प्रेममात्रै हो ।

जापानमा विश्वकै सबैभन्दा विशाल गौतमबुद्धको मुर्ति बनाउन नेतृत्व गर्नुभयो, अनुभव साझा गर्नोस् न ?
–हजुर, हामी ६ जना नेपाली मूर्तिकारहरुद्वारा सन् २०१६ देखि २०२२ सम्म अथक साधना र श्रम गरेर जापानको एक विशाल चट्टानी पहरामा गौतम बुद्धसहित ७ वटा विशाल मूर्तिहरु निर्माण सम्पन्न भएको छ । ६५ फीट अग्लो यो बुद्धमूर्ति यो शतीब्दीमै विश्वकै सबैभन्दा विशाल ढुंगामा बनेको बुद्धमूर्तिको रुपमा निर्माण भएको छ । नेपाली ललितकलाको इतिहासमा अरनिको पश्चात नेपाली ललितकलाको महिमालाई विश्वमाझ चिनाउने सम्भवत यो नै दोश्रो अवसर र काम हो । जापानको पहरामा बमद्धमूर्ति कककूदिरहककदा हामीले बुद्ध नेपालमा जन्मिनुभएको हो भन्ने तथ्यलाई पनि यहककाको समाजमा उजागर गर्ने अवसर पनि पाएका छौं । अब छिट्टै नै यस विशाल बुद्धमूर्तिको विधीवत उद्घाटन हुनेछ र यो विश्व सम्पदा सुचीमा सुचीकृत गर्न जापान सरकारले प्रकृया अगाडी बढाइसकेको छ ।

अन्त्यमा, साहित्यमा पहिचानको मुद्दालाई कसरी लिनुहुन्छ ?
– म साहित्यमा पहिचानको दृढसमर्थक हुँ । शासकवर्गका लेखकहरूले पुरा शताब्दी कवितालाई पातमा झुन्ड्याएर, नदीमा बगाएर अनि त्यसलाई ट्वालट्वाल्ती हेर्न लगाएर हामीलाई अल्मलाए । प्रत्येक याम पातको कविता लेखेर, बतासको कविता लेखेर, कसैको स्तुतीगान लेखेर त्यसैलाई रटान गर्न लगाए । हाम्रो आफ्नो सौन्दर्य र शक्तिलाई नै अपहरण गरिएको थियो त्योबेला । अब समय रहेन । अब हाम्रो सौन्दर्य, हाम्रो शक्ति, हाम्रो पहिचान र हाम्रो वास्तविकतालाई हाम्रा अक्षरहरूले उजागर गर्नुपर्छ, बुलन्द गर्नुपर्छ । अबको हाम्रो साहित्यको मूल धार भनेकै पहिचान र समानताको हुनुपर्छ ।