टाढा…
धेरै टाढाको यात्रा हिँड्नु छ
तिमीले छाडेर गएका पदचापहरू समात्दै !
घाम
पश्चिमको आकाश पुग्दा ओरालो लाग्छ
तर,
तिम्रो तस्वीर सदा उदाइरहन्छ पूर्वतिर ।
तिमी ढल्यौं
र, त फक्ताङलुङ अझ आकासियो !
फाकफोकका पहाडहरू
थर्किने गरी चिच्याउँदै
झरेका खोलाहरूले भिजाएको माटोको रङ्ग
अझ गाढा भएको छ तिम्रो रगत पोखिएपछि ।
हामीसँग एक जोर आँखा छन् तिम्रै सपना बोकेका
हातखुट्टा पनि जोर भएरै कुदिरहेछन् तिम्रै बाटो
साहसले भरिएको छाती तयार छ,
तातो गोलीलाई
ठाउँको ठाउँ कक्र्याउन…
निधारमा बाँधेर राखेको कफन जो छ
हामीलाई सधैँ ब्युँझाइराख्नका लागि ।
तारा झरेर उज्यालो छरिएजस्तै
ढलेर भएपनि उठाउनु छ
लिम्बुवानी माटोको माङ्गेना,
कवच बनेर छेक्नु छ नाहेन,
मुन्धुमले नुहाएर गाड्नु छ याग्राङसिङ,
सिंहदरबारका भित्ताहरूका कान छेड्ने गरी
ठटाउनु छ च्याब्रुङ…
च्याङ दुम् च्याङ…
च्याङ
दुम्
च्याङ…!!!
तिमी ढल्यौं
र, त फक्ताङलुङ अझ आकासियो !
टाढा……
धेरै टाढाको यात्रा हिँड्नु छ
तिमीले छाडेर गएका पदचापहरू समात्दै !
(लिम्बुवान आन्दोलनको आधुनिक चरणका प्रथम सहिद मानिने राजकुमार आङ्देम्बे ‘माङ्तोक’ प्रति समर्पित)