हिमालको सिउँदो रङ्ग्याउँदै
घाम जब पहाडको फेदसम्म पुग्छ
त्यहीँ लाली किरणको पर्खाइमा
फक्रन तयार थियो
बेनाम कुमारीको सिउँदो,
त्यही सिउँदोमा एक मुठी घाम भरिरहन
अरबको तातो घाममा
बेल्चा हान्दै थियो
उनको बेनाम कुमार ।
अरब जाने बेलामा
छाताको करङ्मा सर्टिफिकेट उनेर
घरको छानामा सिउरियो उसले
र,
अध्यागमनको फारममा उल्लेख गर्यो
शिक्षा वि. ए. पास ।
जीवन आवश्यक्ताका
कुमारी सपना लिएर
चढेको हो ठूलो जहाज
आफ्नै अर्धाङ्गीनीलाई विधवा बनाएर
बन्द बाकसमा फर्कियो
बेनाम कुमार
एकाएक बाँझिएको खेतको गरा भयो
बेनाम कुमारीको सिउँदो ।
महामारीले लगेको
वृद्ध सासू–ससुराको देह
उपचारमा जाकटी राखेको
घरबारीको धनीपूर्जा
जाकटी मै रह्यो
बेनाम कुमारीका जीवनका
बाँकि खुशीहरू ।
नाबालक छोराछोरीको
कलेजो काटिने भोका चित्कार
सिउसिउ कठाङ्ग्रिने
नाङ्गो ठिहीको तरबारले
छियाछिया पारेको घाइते मुटुभित्रबाट
एउटै गीत गाइन बेनामकुमारीले
जीवन आकास जस्तै शुन्य छ
पहिरो जस्तै भत्किरहन्छ
आँशु जस्तै बगिरहन्छ ।
नदी बनेर बगेको पानीमाथि
तिर्थालुले टपरीमा बालेर बगाएको बत्ती जस्तै
आफैँसँग जल्दै जल्दै गए उनका जीवनदिप
उनको उदासीको लामो रातपछि
जीवनको आठौँ रङ बास्यो खोरमा एकदिन
बेनाम कुमारको शिरभाले
जुन ऊ जहाज चढ्नेदिन
तीन चुलालाई चढाएकी हुन्
बेनाम कुमारीले ।