December 10, 2023, Sunday
२०८० मंसिर २४
1:37:26 pm

त्यतिबेला बैंककको पार्क सफा गर्ने महिलाले मोबाइल बोकेको देख्दा अचम्म लागेथ्यो

डा. दिलकुमार हाङश्रोङ
२०८० आश्विन ६

765

संस्मरणः इजरायलको यात्रा

इजरायल सरकारले मासाभ (MASHAV) कार्यक्रम सञ्चालन गरेको धेरै भएको थियो । यो कार्यक्रम झण्डै १९५८ देखि सुरु भएको थियो होला । यस कार्यक्रममा विभिन्न विकासोन्मुख र विकासशील देशका नागरिकहरूले भाग लिन्थे । यस कार्यक्रमको मुख्य उद्देश्य इजरायल सरकारसँग दौत्य सम्बन्ध भएका राष्ट्रका नागरिकहरूलाई आधुनिक कृषि र प्रविधिसम्बन्धी ज्ञान दिनु र अझ दौत सम्बन्ध सुदृढ गर्नु हो । त्यसकारण इजरायल सरकारले मासाभमार्फत बर्षमा धेरै नै यस्ता ट्रेनिङहरू संचालन गरेको थियो । आतेजाते खर्च चाहीँ इजरायल दुतावासमा पहुँच अनुसार हुन्थ्यो र ट्रेनिङ खर्च आयोजक आफैले बेहोर्थ्यो । यस्ता ट्रेनिङमा केन्द्रीय प्रविधि क्याम्पस धरानबाट प्रा. जगत बहादुर केसी सर सहभागी भइसक्नु भएको थियो र अर्को ट्रेनिङमा गणेश बहादुर थापा सहभागी भइसक्नु भएको थियो भने तेश्रो चरणमा प्रा.डा. गंगाप्रसाद खरेल र म परेका थियौं । हामीपछि कृष्णप्रसाद बास्तोलाजी जानुभएको थियो त्यसपछि जाने क्रम रोकिएको छ ।

मेरो इजरायल यात्रा यहाँ वर्णन गर्न गइरहेको छु । इजरायलको मासाभ कार्यक्रम अन्तर्गत हिब्रु युनिभर्सिटीले आयोजना गरेको ‘बायोटेक्नोलोजी इन एग्रिकल्चर’मा भाग लिन इजरायलको रेहोभोटमा हामी ३ भाई जाँदै थियौं । हामी ३ भाई प्रा.डा. गंगाप्रसाद खरेल, निजामती कर्मचारी कृष्णप्रसाद अर्याल र म थियौं । इजरायल दुतावासले अन्तर्वार्ताबाट छनौट गर्दथ्यो । मेरो पहिलो अन्तरवार्ता असफल भएपछि दोश्रोपटक अन्तर्वार्ता दिएको थिएँ । अन्तर्वार्ताको सहजकर्ता दुतावासका कर्मचारी गोविन्द शर्मा हुनुहुन्थ्यो । हामी छनौट भएपछि इजरायल दुतावासले ट्राभल एजेन्सीमार्फत टिकट उपलब्ध गराएको थियो । पुस महिनाको निकै जाडो थियो । हाम्रो यात्रा काठमाडौँबाट थाइएयरवेज हुदै बैंकक, त्यहाँबाट इजरायली एयरवेजहुँदै इजरायलको तेलअभिव थियो ।

Advertisement

यो कुरो २००४ जनवरी पहिलो हप्तातिर होला । पहिलोपटक ठुलो जहाज चढेको धेरै कुराहरू नौलो लागिरहेको थियो । तर गंगा सर हुनुहुन्थ्यो धेरै कुरामा अनुभव लिएको र म ढुक्क थिएँ । त्यस्तै हामीहरू दिनको १ बजेतिर बैंककका लागि उडेको थियौं । त्यतिबेला भर्याङबाट थाइल्याण्डको जहाज चडेको थियौं । थाइ एयरहोस्टेजले ढोकैमा सुनखरी फुलको गुच्छाले स्वागत गरेकी थिइन् । हाम्रो गन्तव्य पश्चिम भए पनि हाम्रो जहाजचाहि पुर्वतिर गइरहेको थियो ।

पहिलोपटक ठुलो जहाजमा यात्रा गर्न पाउँदा खुशी थिएँ । जहाजबाट तल देखिने दृष्यावलोकन गर्दागर्दै खाजा खाने बेला भएछ । एयर होस्टेज खाजा सोध्दै आइन्, भेज हो कि ननभेज खाने भन्दै । ननभेज भनेपछि माछा भएको खाजा ल्याईन् ।

थाइल्याण्ड पुग्नै लाग्दा जहाजबाट बस्तीमा चुच्चो-चुच्चो थुम्कोजस्तो आकृतिहरू जमिनमा देखिए । साना-साना पहाडहरू रहेछन् । थाइल्याण्डको बैककमा दिउँसै पुर्याएको थियो । हामी बैंकक पुग्दा सिमसिम पानी परिरहेको थियो । अलिअलि गर्मी पनि थियो ।

त्यसबेला काठमाडौँमा चाहीँ अचाक्ली जाडो थियो । हामीले थाइल्याण्डको १५ दिने भिसा पनि लिएको थियौं, कारण फर्किदा हाम्रो ट्रान्जिट बसाई लामो थियो । टिजीको कनेक्टिङ फ्ल्याइट इजरायल एयरवेज रातको ११ बजेतिर मात्र थियो । त्यसकारण ट्रान्जिट हाउस दुईतले लामो भएकोले यताउता घुम्दा नै समय बित्यो । हाम्रो त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टमा मुस्किलले दुईओटा बाहिर निस्कने ढोका हुन्थ्यो, त्यहाँ त ८० वटासम्म बाहिर निस्कने ढोका मैले गनेको थिए । त्यसभन्दा बढि थियो होला !

शुरुमा त हाम्रो कनेक्टिङ फ्ल्याइट कति बजे छ कन्फर्म गर्दै थियौं र हाम्रो साथमा डा. गंगाप्रसाद खरेल हुनुहुन्थ्यो । उहाँले जापानबाट विद्यावारिधी गर्नुभएको थियो । त्यसकारण धेरैपल्ट ठूलो जहाज चढ्नु भएको, कनेक्टिङ फ्ल्याइटको ज्ञान थियो । उहाँले धेरैपटक जापान-नेपाल गर्नुभएको थियो । हामी त वहाँ कै भरमा थियौं, अविभावक मानेर । हामी फ्ल्याइट टाइमभन्दा १ घण्टा अगाडि फ्लाइट सेक्युरिटी चेकमा पुग्दा तपाईंहरू ढिलो हुनुभयो अब भोली आउनुहोस् भन्यो । हामी ले धेरै अनुनय विनय गर्दा नि भएन । त्यसबेला अरब राष्ट्रहरू र इजरायलको सम्बन्ध राम्रो थिएन त्यसकारण सेक्युरिटी चेक टाइट थियो ।

हामीसँग भएको थाइल्याण्डको भिसा प्रयोग गर्दै इमिग्रेसनबाट बाहिरीयौ । एयरपोर्टबाट झण्डै १ घण्टा टाढा नेपाली बस्तीमा एयरपोर्टको ट्याक्सीबाट पुगेको थियौं र एउटा होटेलमा बसेको थियौं । त्यो होटलमा एक हप्ता अगाडी नेपाली कलाकारहरू बसेका थिए रे त्यसमा राजेश हमाल पनि थियो रे । होटलका कर्मचारीहरूले इसाराले भनेका थिए, भाषा नमिलेपछि । त्यसबेला थाइल्याण्डको बैंककमा निकै गर्मी थियो । सिमसिम पानी पनि परिरहेको थियो । अफ सिजन भएकोले होटल त सस्तैमा भेटियो । भोलीपल्ट बिहानदेखि थाइल्याण्डको बैंकक शहर घुम्न थालियो ।

बैंककको यस्तो ठाउँमा पुगियो, चौडा बाटो छ फुटपाथ पनि ठुलो छ तर ठेलाले बाटो र फुटपाथ भरिभराउ छ । बिहानको नास्ताको लागि सबै ठेलामा पकाएर आन्द्राको परिकारहरू राखेको छ । आन्द्राभन्दा अरु परिकारहरू केही पाइदैन । दिनमा सबै ठेला हटेर गाडी कुद्दो रहेछ । हामीले बिहानको खाजा त्यही आन्द्रा खायौँ होला ! अनि पैदलै बैकक शहर घुम्यौ । त्यहाँको मुख्य यातायातको साधन मोटरसाइकल रहेछ जे पनि मोटरसाइकलमा लोड गरेको देख्यौ ।

एकदिन थाइल्याण्डको बैंकक शहर घुम्दा हामीले देखेका दृश्यहरू यहाँ उल्लेख गर्न कोसिस गरेको छु । त्यसबेला मोबाइलको फेसन भर्खर सुरु हुँदै थियो । बैंककमा पार्क सफा गर्ने छोरी मान्छेले बोक्दा पनि हामीलाई अचम्म लाग्थ्यो । नेपाली बस्ती खोज्दैखोज्दै खाना खान्थ्यौँ । खाना दिने साहुनी त खरेल नै पो रहेछ बर्मेली । हाम्रो अविभावक पनि खरेल नै भएकोले एकछिन् हाँसिमजाक भयो । हामी बैकक घुम्दाघुम्दै एउटा पार्कमा पुगेका थियौं । पार्कमा ३, ४ जना मानिसको जमात थियो । त्यस जमातबाट एकजनाले हामीकहाँ आएर सोध्यो –“तपाईंहरू पाकिस्तानी हो?”

हाम्रो साथी गंगाप्रसाद खरेलक अग्लो, कपाल घुम्रिएको थियो । त्यसकारण पाकिस्तानीजस्तो देखिन्थ्यो । बैंकक शहरमा हातहतियार यत्रतत्र बेचिरहेको पायौ । दुकहरू पनि खुलारुपमा बेचिरहेका थिए । हामीलाई निकै अनौठो लागेको थियो । त्यहाँको कानूनअनुसार खुलारूपमा बेच्न पाइदो रहेछ ।

थाइल्याण्डबासीहरू धेरैजसो बौद्धमार्गी रहेछन् । बुद्धको स्तुपा र बुद्धको मुर्तिहरू जहाँतहीँ थिए । एउटा बुद्ध मन्दिरमा गएको थियौं तर नेपालको भन्दा खासै फरक थिएन ।

हामीलाई अघिल्लो दिनको जहाजमा चढ्न नदिएको याद झलझली आइरहेको थियो । त्यसैले बैंकक शहरबाट चाँडै नै एयरपोर्ट फर्क्यौं । फर्कदा ट्याक्सीवालाले ‘हाम्रो राजाको घर यहाँ हो, सपरिवार यही बस्छ’ भनेर देखाएको थियो ।

हामी एयरपोर्ट पुग्दा ४ बजेको थियो होला ! थाइ भाट पाँच सय तिरेर इमिग्रेसनभित्र छिरेका थियौं । त्यसबेला थाइ भाट र नेपाली रुपैयाँ झण्डै बराबर थियो । एउटा कोठाबाट हाम्रो लगेजहरू झिक्यौं र हाम्रो गन्तव्यतिर लाग्यौ तर चेकिङ सुरु भएको थिएन । हामी अघिल्लो दिनको कुराले झस्केको थियौं र चाँडो पुगेछौ । बल्लबल्ल सेक्युरिटी चेक सुरु भयो । हाम्रो पालो आयो । सेक्युरिटी चेक टाइट थियो, सबै कपडा र जुत्ता खोल्न लगायो ।

बैंककको एयरपोर्ट निकै ठुलो थियो । संसारको विभिन्न शहरहरूमा त्यहीबाट जहाजहरू उड्थ्यो । सेक्युरिटी चेकपश्चात ढोकाबाट छिर्नेबित्तिकै सिधै जहाजको सिटमा पुगियो । अचम्म लाग्यो । जहाजमा ४००–४५० मान्छे अटाउने रहेछन् । सबै यात्रुहरू एकएक वटा ओड्ने बर्को र हेडफोन दिएको थियो र प्रत्येक सिटको पछाडीपट्टी टिभीको स्क्रिन जोडेको थियो । आफ्नो इच्छाअनुसार गीत र टेलिभिजन हेर्न सकिनेरहेछ । सबैले देखिने गरी बिच-बिचमा ठूलो टेलिभिजन राखेको थियो । हामी चढेको जहाज कता जाँदैछ ? कहाँ पुग्यो ? र कति उचाईमा छ ? सबै देखाउँथ्यो ।

एयरहोस्टेजले बेलुकाको खाना ल्याइन् । हवाइजहाजको खाना त सबैथोक नौलो-नौलो थियो, त्यस्तो खाना देखेको थिइनँ । त्यसमध्ये एउटा चाहीँ याद छ, त्यो दुध अलि-अलि पसेको मकैको खोया थियो । त्यो नै सबभन्दा मिठो थियो । आजभोली त्यसैलाई बेबि कर्न भन्दा रहेछन् ।

हाम्रो रात जहाजमै बितेको थियो । बिहान भएपछि एयर होस्टेजहरू भिजाएको रुमाल बोकेर आए । म त के गर्नु, के गर्नु भइरहेको थिएँ । छेउकै मानिसले अनुहार पुछन थाल्यो र थाहा भयो भिजेको रुमालले अनुहार पुछ्नु पर्ने रहेछ । हाम्रो हवाइ यात्रा बैंककबाट झण्डै १२ घण्टा लामो इजरायलको राजधानी तेलअभिवसम्म थियो । हामीलाई तेलअभिवमा बिहानको १० बजेतिर पुर्‍यायो ।

तेलअभिवको एयरपोर्ट पनि नेपालको भन्दा खासै फरक थिएन । भर्याङ्गबाटै भुईमा ओर्लिएका थियौं । तेलअभिव एयरपोर्टबाट ट्रेनिङ हुने स्थान हिब्रु युनिभर्सिटीको रिहोभोट सिटी कलेजसम्म एयरपोर्टको ट्याक्सीबाट गयौं । हामी चढेको ट्याक्सीमा म्यान्मारबाट आउनु भएको सहभागी एक जना महिला पनि हुनुहुन्थ्यो । कार्यक्रम सुरु भइसकेको थियो, हामी एकदिन ढिलो भइसकेका थिायौं । हामी त्यही मिसियौं ।

त्यसदिनको कार्यक्रम सकिएपछि हाम्रो बस्नेको बन्दोबस्त भयो । त्यस कार्यक्रममा नेपाल, भारत, म्यानमार, फिलिपिन्स, थाइल्याण्ड, चेक, स्लोभाकिया, रोमानिया, रुस, टर्की, अफ्रिकन राष्ट्रहरू नाइजेरिया, इथियोपिया, घाना, केन्या, मोन्टेनेग्रो र कोस्टारिकाका थिए । नाम याद नभएको अरु राष्ट्रबाट पनि सहभागी थिए होलान् । पोर्तुगिज भाषा मात्रै बोल्ने र बुझ्नेहरूको अर्को कोठामा कक्षा सञ्चालन थियो । विशेषगरी त्यहाँ दक्षिण अमेरिकाको मानिसहरू थिए ग्वाटेमाला, होण्डुरस, पानामा, बोलिभिया, अर्जेन्टिना, मेक्सिको, पाराग्वे, चिली, पेरु र इक्वेडर आदीका मानिस थिए ।

हामीलाई रेसफिल्ड बिल्डिङमा राखेको थियो । एकजनालाई एउटा बेडरुम ट्वाइलेटसहितको र दुईजनालाई कमन किचेन रुम दिएको थियो । बिहानको खाजामा दुध, पाउरोटी र अण्डा हुन्थ्यो । बिहानको खाजा खाएपछि ८ः०० बज्नसाथ क्लस सुरु हुन्थ्यो र दिनको १ बजेतिर क्याफ्टेरिया मा खाना हुन्थ्यो । लन्च र डिनरको लागि कुपन दिएको हुन्थ्यो । त्यो कुपन बाहिर साटेर अरु चिज पनि लिन मिल्थ्यो । कहिलेकाहीँ गंगा सर र मैले एक जनाको कुपनले डिनर मागेर बाँडेर खाने र अर्को कुपनले इजरायली बियर खाने गरेको थियौं । हामीलाई रेसफिल्ड बिल्डिङको भुई तलाको कोठामा राखेको थियो भुई तलाकै अरु कोठामा भारतका साथीहरू बस्थे ।

भारतका साथीहरू एकजनाको नाम मुरली थियो । अर्कोको नाम बिर्से तर दक्षिण भारत तामिलनाडुको थियो । त्यहाँको एग्रिकल्चर युनिभर्सिटीका प्रोफेसर हुनुहुन्थ्यो । हामी अंग्रेजी बोल्ने र पोर्तुगिज भाषीको जमघट हरेक शनिवार बेलुका सप्ताहान्तमा हामी बसेकै बिल्डिङको हाम्रै फ्लोरमा हप्ताको एकपल्ट हुन्थ्यो । भेनेजुएला र चेकोस्लोभाकियाका सहभागीहरू डान्समा माहिर थिए । उक्त दिन १, २ बजेमात्र सुताई हुन्थ्यो ।

रेहोभोटमा हामीले ट्रेनिङ गर्दैगर्दा मोवाइल र पेनड्राइवको चलन भर्खर सुरु हुँदै थियो । इजरायली विद्यार्थीहरू मोबाइलमा बोल्दै हिँड्दा हामीलाई बौलाहा जस्तो लाग्थ्यो तर आजभोलि नेपालमै त्यस्तै मात्र देखिन्छ । पेनड्राइभ कम्प्युटरमा जोड्दा अचम्म लाग्थ्यो के त्यस्तो चिज लाग्थ्यो आजभोलि त सबैको हातहातमा छ । मैले पहिलोपटक पेनड्राइभ त्यही देखेको र हङकङबाट २ जिबिको ३ वटा किनेर घर ल्याएर साथीहरूलाई बाडेको थिएँ । त्यो २ जिबिको पेन ड्राईभ मैले ३, ४ वर्ष चलाएको थिएँ ।

ट्रेनिङमा सहभागी सबैलाई इजरायलको मुख्यमुख्य पर्यटकीय शहर र स्थलहरू आयोजकले दृष्यलोकन गराउने भएपछि बिहानै तयार भयौँ । बिहानको नास्ता कोठामै खायौँ, कति त बोक्यौ र सबैले खाएको बेला गंगा सर र मैले पनि खायौँ । हाम्रो गाडी हामी बसेको ठाउँबाट पूर्व जेरुसेलमतिर लागेको जस्तो लाग्छ । मेरो बिचारमा इजरायलको पुर्वी भाग मरुभूमि नै मरुभूमि छ उत्तर र पश्चिम मात्र खेतीयोग्य जमीन छ । जेरुसेलम पुग्नअघि जैतुनको जंगल र सानासाना पहाडहरूमा लगिएको थियो । त्यसमध्ये १५० वर्ष पुरानो जैतुनको बोट टुरिस्ट गाइडले देखायो । त्यस बुढो रुख वरिपरि घुमीघुमी हेर्यौं र फोटो खिच्यौं त्यहाँ त सानासाना थुम्कोलाई पनि माउण्टेन र सानासाना खोला खोल्साहरूलाई रिभर भन्दा रहेछन् । त्यहाँको माउण्टेनबाट एकपल्ट जेरुसेलम शहर हेरेपछि जेरुसेलम शहर घुम्न गइयो ।

जेरुसेलम शहर पुग्न अगाडी रोमानियाबाट सहभागी एक महिलालाई लुट्न खोजियो र उनाको इजरायली ५० को नोट लुटेरासँगको तानातानमा च्यातिएको थियो । हाम्रो गाइड र शिक्षक भन्दैथिए –“त्यो चोर वा लुटेरा प्यालेष्टाइनी हो । इजरायलीले त्यसो गर्दैन ।”

हाम्रो यात्रा जेरुसेलमतिर अगाडी बढ्यो । जेरुसेलम शहर थुम्कोको चुचुरोमा रहेछ थुम्को भएकाले भुवनोट अलि ओरालो करालो नै थियो । त्यसकारण बाटामा घरहरू भुवनोट अनुसार तला तला बनाएको थियो । हाम्रो गाइड र शिक्षक भन्दै थिए –“यो प्रविधि इजरायलबाट सुरू भएको हो ।”

तर मैले पाल्पा तानसेन र दार्जिलिङमा देखिसकेको थिएँ । जेरुसेलमलाई गेट एण्ड क्वाटरमा बाँडेको रहेछ । हामीलाई वेष्टर्न वालमा लगिएको थियो । त्यो जेविस एरिया रहेछ । त्यहाँ जेविसको टोपी लगाएर वालमा टाउको लगाएर प्रार्थना गरेको थियौं । प्रार्थना सकेपछी जेरुसेलमको अरु मन्दिरहरू भ्रमण गरेको थियौं ।

इस्लाम क्वाटरमा एकजना इस्लामिक महिलाले हामीलाई कुट्न खोजेको थियो । जेरुसेलमको मुख्य स्थलमा जिसस क्राइस्टको पनि टम्ब, मुर्ति र मन्दिर रसियाले बनाएको थियो । त्यहाँ अरबीहरूको गोल्डेन टेम्पल पनि थियो तर त्यहा प्रवेश गर्नलाई पैसा लिदो रहेछ र हामीलाई लगेन ।

जेरुसेलम घुमेपछि जेविसहरूको धार्मिक स्थल मसादा गएको थियौं । मसादामा राजा हेराडको पुरानो सयन कक्ष, स्नान कक्ष, पानी जम्मा गर्ने स्थान र बस्ने कोठाको अवलोकन गरेका थियौं, पछि जेविस र रोमनको लडाई भएपछि मसादा किल्ला भग्नावशेषमा परिणत भएको थियो । हामीले त्यही भग्नावशेषको अवलोकन गरेका थियौं । मसादा इजरायलको पर्यटकीय स्थल रहेछ मरुभूमि बिचमा अवस्थित पहाडको थुम्कोमा राजा हेराडले किल्ला बनाएर बसेका रहेछन् । त्यहाँबाट डेथ सीसम्म जाने केबल कारको बाटो पनि थियो । मसादाको अवलोकन भ्रमण गरे पछी हामी डेथ सीतर लाग्यौ ।

मृत सागर विश्वको पर्यटकीय स्थलमध्ये एक हो । यो मृत सागर समुन्द्र सतहभन्दा ४३० मिटर मुनी छ । हात्तीसार क्याम्पसको प्रवेश गेट त ४५० मिटर मात्र समुन्द्र सतहभन्दा माथी छ । यसमा कुनै सजिव वस्तु नपाइने भएकोले यसलाई मृत सागर भनेको रहेछ । यहाँको पानीमा महासागरको पानी भन्दा ९.६ गुणा बढी नुनको मात्रा छ । त्यसकारण यहाँको पानीमा पौडी खेल्दा आफै तैरिन्छ । कारण हाम्रो घनत्वभन्दा पानी को घनत्व बढि भएर हो ।

मृतसागरमा यत्रतत्र जहाँ त्यहीँ नुनका थुप्राहरू थिए । हामीलाई यहाँको सौन्दर्य प्रशोधन सम्बन्धी फिल्म देखाएको थियो । त्यहाँको शौन्दर्यप्रशोधनमा बढि मिनरलहरू हुन्छन् रे । हाम्रो समुहको २, ४ जना त कपडा खोलेर पौडी खेल्न मृतसागरमा पसे र सफा पानीले पखालेका थिए ।

त्यहाँ सफा पानीको धारा थियो । मृतसागरको पूर्वमा जोर्डन र पश्चिममा इजरायल र प्यालेस्टाइन पर्छ । यसको पानी को मुख्य श्रोत जोर्डन नदि हो तर यहाँबाट पानी कतै बाहिर नगएकोले यहाको पानीमा मिनरल्सको मात्रा बढि भएको हो । यो हाम्रो औपचारीक भ्रमण थियो मतलब भ्रमणको सम्पुर्ण खर्च आयोजक कै थियो । बेलुका रेहोभोटको रेसफिल्ड बिल्डिङ नै फर्किएका थियौं ।

इजरायल पूर्वकोको यात्रा तय त भयो तर खर्च थिएन त्यसकारण हामी ट्रेनिङमा सहभागी सबैसँग दामासाही रुपमा पैसा उठाएको थियो ।

हाम्रो यात्रा इजरायलको उत्तरी भागमा थियो । मेरो बिचारमा इजरायलको मध्य र उत्तरी भाग खेतीयोग्य जमीनले भरिपूर्ण छ । त्यहाँका जमिनहरू बाटाका छेउछाउ गहुँ उमारेर लहलह पारेको थियो । झण्डै २० वर्ष अगाडीको कुरा हो, सबै त थाहा भएन तर नाजरेथ, सी अफ ग्यालीली, क्रिचियनहरूले बेप्टाइज गर्ने दह, गोलानहाइट, गोलानहाइटको सैनिक भवन थाहा छ ।

रेहोभोटबाट बिभिन्न चर्चहरू र विशाल गहुँ खेती हुँदै नाजरेथ पुगेको थियौं । नाजरेथ पहाडको छेउको सानो बजार रहेछ । त्यहा जिसस क्राइस्टको आमा मेरी जन्मिएको सहर भनेर लोकप्रिय रहेछ । त्यहाँ आमा र बच्चा बिचमा हुने सुमधुर सम्बन्ध विभिन्न देशहरूमा कसरी गरिन्छ त्यो देखाएको थियो । त्यसबेला हाम्रो देशको फोटो खोजेको थिएँ । मेरीको मुर्ती र चर्चहरू पटकपटक बनाएको रहेछ सबैको अवलोकन हेरेको थियौं । त्यहाँबाट बेप्टाइज गर्ने दह पुगेको थियौं त्यहाँ हिउँदको चिसो पानी भए पनि भारतको मुरलीले कपडा खोलेर बेप्टाइज गरेको थियो ।

बेप्टाइजको पानी पवित्र हुन्छ भनेर ५०० एमएलजति २/५० मा बेचिन्थ्यो । त्यो हामीले पनि किनेका थियौं । त्यहाँबाट जोर्डन नदितिर गएका थियौँ । त्यहाँको नदी त यहाँको खोल्सा वा कुलोजस्तो थियो । सायद हिउँदको समय भएर हो की । जोर्डन नदि सी अफ ग्यालीलीमा पस्दो रहेछ । उक्त नदि निक्कै ठुलो फ्रेस वाटरको ताल हो । यो पानी मृतसागरमा मिसिन्छ । सी अफ ग्यालीली वरिपरि खेतीयोग्य जमिन थियो र गहुँको प्रसस्तै खेती गरेको थियो । त्यो ताल निकै ठुलो थियो र त्यसको वरिपरि अवलोकन गरेको थियौं ।

सी अफ ग्यालीलीबाट हामीहरू गोलानहाइटतिर लागेको थियौं नढाँटी भन्ने हो भने त्यो क्षेत्रमा निकै डर लागेको थियो किनकी इजरायल र जोर्डनको युद्ध चलिरहेको थियो र जोर्डनले कब्जा गरेको त्यो भुभाग इजरायलले भर्खरै लिएको थियो । बेलुकी पख आफ्नो बासस्थान रेहोभोटको रेसफिल्ड बिल्डिङ फर्केका थियौं ।

एकदिन बिदाको बेला इजरायलको ठुलो शहर तेलअभिव डा. गंगा सरसँग घुम्न जाने निधो गरियो, गइयो पनि । यो शहर मेडिटेरियन सि को किनारमा अवस्थीत छ । तेलअभिव शहर हामी बसेको शहरबाट झण्डै २५–३० किलोमिटर मात्र छ आधा घण्टाको यात्रापछि तेलअभिव शहर पुग्छौ । तेलअभिव शहरको सबै भाग अवलोकन गर्यौ । नेपालको बजारभन्दा खासै फरक थिएन त्यहाँ पनि समानहरू भुईंमा फिजाएर बेचेको थियो । कुनै ठाउँ बाटो चौडा थियो कुनै ठाउँ भिडभाड थियो ।

तेलअभिव शहरमा बिर्सन नसकिने क्षण चाहीँ त्यसबेला रिल बिनाको फोटो बनाउने चलन भरखर भर्खरै चलेको थियो । त्यसकारण डा. गंगा सरले एउटा क्यमरा किन्नुभयो । त्यसको दाम दुई हजार त्यहाँको पैसा र कर चाहीँ पछि वहाँको बैंक एकाउन्टमा पठाउने भनेर बैंक एकाउटन्ट लियो ।

“२,४ महिनामा जम्मा गरिदिएको थियो ।” गंगासरले सुनाउनुभयो । दुई महिनासम्म रेहोाभोट सिटीमा बसियो त्यहाँको मुख्य बजार र शहरहरू घुमियो । तर त्यहाँको बेलुका भएपछि पसल र समानहरू सफा गरेर मिलाएर राख्थ्यो भोलीपल्ट बिहान मात्र पसल खोलेर आनन्दसँग चलाउने तरिका चाहीँ मलाई मन परेन ।

दुई महिना बितेपछि हाम्रो ट्रेनिङ सकियो र हामीलाई इजरायलको शिक्षा विभागबाट बिदाई गरियो । हाम्रो फर्कने टिकट इजरायलबाट थाइ एयरवेजद्वारा बैंककसम्म र बैंककबाट नेपाल एयरलाइन्समार्फत काठमाडौंसम्म थियो । बैकक इमिग्रेसनमा १०/१२ घण्टाको कनेक्टिङ फ्लाइट थियो । त्यसकारण बैककको इमिग्रेसमामा गंगा सर र मैले रात बिताएका थियौं ।

म इजरायल हुँदै हङकङको भिसा र टिकट खोजिरहेको थिएँ । भाइलाई हङकङमा सम्पर्क गरिरहेंको थिएँ । भाइले हङकङबाट कुरियर गरेर हङकङको भिसा त पठाइदियो । हङकङ जानलाई टिकट चाहियो टिकट एयरपोर्ट भित्रै किन्न पर्यो भने महङ्गो पर्दौ रहेछ, तर महङ्गै भए पनि दुई तर्फीको किनेर हङकङ बैंककबाट हङकङ गइयो । हङकङको बसाई र घुमाईको बारेमा अर्को लेखमा लेखौला ।