April 30, 2024, Tuesday
२०८१ बैशाख १९
1:37:26 pm

जात्राको रौनक

बि.बि. याक्खा
२०८० भाद्र १६

2.4K

संस्मरण

जात्रा धेरै जसो श्रवण महिनाको समाप्तिसँगै भाद्र महिनाको पहिलो या दोस्रो हप्तातिर पर्ने गर्दछ। म गाइजात्रा वा हिले जात्राको कुरा गर्दैछु। मेरो घर पूर्वी नेपालको सुन्दर जिल्ला संखुवासभा हो । जहाँको माटोमा हुर्की बढी गर्दै बाल्यकाल र अल्लारे योवनकाल छिचोल्दै यहाँसम्म आइपुगेको छु ।

संखुवासभा प्राकृतिक हिसाबले पनि साच्चिकै सुन्दर छ । ती सुन्दरतालाई म शब्दहरुमा बयान गर्न पक्कै असमर्थ हुन्छु । र, यो जटिल कार्य पनि हो । विश्वको होचो उपत्यका अरुण उपत्यका, मकालु हिमाल, बरुण राष्ट्रिय निकुञ्ज, गुफा पोखरी, सभा पोखरी, मनकामना, गुप्तेश्वर गुफा (मादेव थान), वालेश्र्वर साथै अन्य विभिन्न रमणीय स्थलहरू यहाँ छन् ।

प्राकृतिक, धार्मिक साथसाथै सास्कृतिक हिसाबले सुसम्पन्न जिल्ला हो संखुवासभा । यहाँ जिल्लाको दुईवटा ठूला नगरपालिकाहरु छन् । ति नगरपालिकाहरुमा सभाखोला वारी चैनपुर नगरपालिका र सभाखोलापारी खाँदबारी नगरपालिका भनेर नामकरण गरिएको छ । त्यसो त अहिले अन्य नगरपालिकाहरु पनि साविक गाविसहरुको संरचना हटाई नयाँ नामकरणसहित अहिले नगरपालिका घोषणा गरिसकेको अवस्थामा रहेको छ ।

Advertisement

चैनपुर बजार संखुवसभाको पुरानो सदरमुकाम र नयाँ सदरमुकाम खाँदबारी नगरपालिकामा पहिलादेखि नै व्यापार व्यवसायमा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको नेवारी समुदायको नै बसोबासको हिसाबले बहुदलीयतासहित बर्चस्व रहेको छ । यसो मैले भनिरहदाँ सायद कसैलाई आपत्ति नहोला कि ? नेवारी समुदाय व्यपारमा मात्र होईन शिल्पकला र साथै साकृतिक हिसाबले पनि अघि पक्कै आफुहरुलाई अलग्गै साथै सुसम्पन्न छौं भनेर देखाउन पनि सक्षम रहिआएको नै छन् । त्यो हो नेवारी समुदायले देखाउने धार्मिक आस्था र विश्वाससहित देखाइने जात्रा, पूर्व र मेलाहरु त्यसैमध्येको म एक पर्व गाईजात्राको बारेमा आफ्नो कुरा गर्नु गइरहेको छु ।

उतिबेला म बालकै थिएँ । लाखे नाच बेला बखत गाउँतिर वा ठूलो मानिसहरूसँग बजारमा पुग्दा देख्ने गर्थे । यति लामा–लामा चौरीको पुच्छरको रौंका लामा–लामा कपाल अनि डरलाग्दो दाह्रा निस्किएको र उस्तै भयानक आँखा र झाक्रीको जस्तो जामा अनि कम्मरमा बाँधेको ठूलाठूला घुँगुरा अनि ढोल्की र झ्याम्टाको तालमा नाचेको देख्दा त सातोपुत्लो नै उड्ने गर्दथ्यो ।

बड्दो उमेरसँगै लाखेसँगको डर हरायो । पूर्वको सुन्दर नगरी चैनपुर बजारमा पनि हरेक बर्ष गाईजात्रा निकाल्ने भएको हुँदा हिड्न र जान सक्ने उमेर भए छि म पनि जान थालेँ । उतिबेला गाउँ र घरमा हरेक समुदाय र जातिका मानिसहरुको मुख्य पेशाको रूपमा कृषि र पशुपालन हुने गर्दथ्यो । त्यसैले हरेक मानिसको आम्दानीको मुख्य स्रोत नै कृषि थियो । यसैकारण पनि खेतीपाती घाँस दाउरा नगरिकन कसैलाई पनि बिल्कुलै सुख थिएन । हामी उस्तै दामलकोहरु जात्रा जानुलाई त्यो बस्तु गोठालोमा होस् वा अर्मपर्ममा सल्लाह गर्ने गर्थथ्यौं । उक्त जात्रा जानेदिनमा गाउँका ठुला मानिस युवायुवतीहरु हुल बाँधेरै जात्राको रमाइलो हेर्न जाने गर्दथ्यौं । अहिले जस्तो घर–घरमा हाम्रोतिर मोटरबाटो, बिजुली बत्ती पुगिसकेको थिएन । हामी गिरे चौताराको ओरालो झरेर हिउँखोलाको काठेपुल (अहिले बेली बृज बनेको छ) तरेर भञ्ज्याङ् खर्कको नाक ठोक्किने उकालो हिडेर चैनपुर जात्रा हेर्न पुग्थ्यौं ।

त्यो बेलामा चैनपुर बजारमा बास पाउन सार्है मुस्किल हुन्थ्यो । सबै होटलहरुमा जिल्लाभरको साथै आसपासको जिल्लाहरु तेह्रथुम, ताप्लेजुङ, भोजपुर धनकुटा लागयत अन्यबाट आउनेहरुको चाप हुन्थ्यो । बाँकी घरहरु सबै नै प्याक भएको अवस्थामा हुने गर्दथ्यो । कोही चिनेजानेको र आफन्त नेवारहरुको घरमा मुस्किलले वासको बन्दोबस्त हुन्थ्यो । नत्र कतिपय अवस्थामा भने रातभर जागा नै बस्नुपर्ने ।

जात्रामा उमेर पुगेको युवायुवतीहरु विशेष त किराँत समुदायकाबिच चिनजान र यसपछि दुबै पक्षको बाबुमाईतीको अघि धान नाच्ने क्रम पनि चल्ने गर्दथ्यो । पुरानो चिनजानका भए झनै राम्रो, धेरै समयपछिको भेटघाटको रमाइलो कुराकानी र भलाकुसरीको मज्जा नै बेग्लै ।

गाईजात्रामा स्थानीय नेवारी समुदायको सदस्य मृतकको घरबाट उसैको नाममा निकालिने गाईको आकृतिसहितको विभिन्न झाँकीहरु साच्चिकै हेर्न लायक हुन्थ्यो । अनि स्थानीय कलाकारहरुले साँस्कृतिक आधारमा देखाउने विशेष टोलीसहितको भजनले आहा ! मनै पबित्र बनाउने गर्दथ्यो ।

हामी युवाहरु भने ‘हरि होटल’ लगायत अन्य होटलहरुमा खाजा नास्ता गरिसकेपछि टुडिखेलको नजिकै रहेको दाह्र्रे गौडाको घुमाउने चौतारीको सितल हावामा कावा खाँदै जवानीको फुर्ति लगाउदै खुब गफ चुटेर मज्जा लिने लिने गथ्र्यौं। अब तिनै समयहरु फर्केर त आउदैनन्, तर संखुवासभाको सौन्दर्यतामा भने झनै निखार आउँदै गएको छ। तिनै चौतारीहरुमा बसेर सोल्टिनीहरुको सम्झनामा डुबुल्कि मार्न सकिन्छ ।