April 30, 2024, Tuesday
२०८१ बैशाख १८
1:37:26 pm

ढुङ्गा देउता बनेपछि…

जुनू राना
२०८० भाद्र १६

4.5K


कविता

कालीगढका कलात्मकले हातले
कुँदिएर देवालयहरूमा
काठ देउता बन्न थालेपछि नै हो
मान्छे मान्छेलाई
अलग्याउन थालेको मान्छेको जमातबाट !

कुँदिएर कलात्मक ढुङ्गा
जब पुग्यो भव्य मन्दिरभित्र
र उभियो मन्दिरको बिचमा,
पोतियो धर्म नामको रङ
उसको शिरदेखि पाउसम्म
अनि देउता बन्यो– ढुङ्गा

Advertisement

खर्चिएर ठुलो रकम
जब घेरियो मन्दिरको प्रांगण
फेरियो मन्दिरको गजुर
हो, त्यसै दिनदेखि नै बनाइएको हो
मान्छेलाई अछुत
बनाइएको हो ढुङ्गालाई देउता !

निर्जीव पदार्थहरू देउता बन्न थालेदेखि
सिलाइन थालिए यहाँ मुटु–कलेजाहरू
निमोठ्न थालियो मानिसको पहिचान
पोल्न थालियो कोइलाखानीमा तिनको अस्तित्व
बर्जित गरिए तिनका शिरहरू समाजमा उभिन
निषेध गरियो तिनलाई जीवनको गीत गाउन !

जब चढ्यो शासकमा उन्माद
बर्साउन थालियो मानिसमा
अन्धाधुन्ध धर्मको सत्ता
विधिले हैन सनकले चल्न थाल्यो देश
हो, त्यसै बेलादेखि नै हो
मान्छेलाई मान्छेले नै हेप्न थालेको
मान्छेले मान्छेलाई नै तल देख्न थालेको
मान्छेले आफूलाई अभिजात ठान्न थालेको !

जबदेखि सुरू भयो मनुस्मृति–सासन
तब टुंडालमा खिपिएका नग्नतासँगै
वैधानिक बने विभेद र विषमता
चलाइयो अमूक विधि–विधान
तबदेखि नै कोरियो समाजमा विभेदीरेखा
हो, त्यसै बेलादेखि नै आफूले आफैँलाई
घोषणा गरेका हुन् ढुङ्गाहरूले देउता ।