कथा: चुम्लुङ
हलुलु हुई ……..पकन्दी !
रातमाटे चौतारोमा उभेर दारासिं पकन्दी खेलिरहेको छ । सुभे, लादिपा, लावाहाङ र मुलुकसिं आराम गरेर बसिरहेका छन् । रातमाटे उकालो छिचोल्न निक्कै गार्हो पर्छ । उनीहरू याङ्वरकमा लाग्ने निशान मेलामा हिडेका हुन् । निशान मेला गोर्खालीहरूले लिम्बुवानलाई लालमोहरसन्धीबाट गोर्खा राज्यमा गाभे पछि गोर्खाका राजाले लिम्बुवानका लिम्बुहरूलाई युद्धको सामग्री, नगरा, निशान दिएदेखि सालिन्दा दशैंमा लाग्ने गर्छ । नगरा, निशानसँगै लिम्बुवानमा दशैं भित्रिएको हो । त्यस भन्दा पहिले दशैं मनाउने चलन थिएन ।
आज बिहान नै देउमान सुभाको घरमा राँगाको मार हानेर उनीहरू निशान मेला हिडेका हुन् । सुभे देउमान सुभाको जेठो छोरा हुन् । देउमान सुभा पान्थर कै नामी सुभा हुन् । उनको बुबाले अमाल नै चलाएका थिए । सुभाको घरमा दशैंमा अनिवार्य मार हान्नु पर्छ नत्र सरकारले कारवाही गर्छ ।
‘हौ दारासिं फेरि एकखेप पकन्दी खेल हौ, यो अन्तिम चौतारो हो ।’ रुमालले पसिना पुछ्दै सुभेले भन्छ ।
दारासिं चौतारोको एक छेउमा उभेर पकन्दी खेल्छ ।
‘हलु ..लु ..लु ..लुई पकन्दी ’
लावाहाङ भित्तामा बस्दै दारासिंलाई भन्छ ‘हौ दारासिं पकन्दी त राम्रै खेल्यौ, भारापाको तिम्रो मेन्छ्याले पक्कै सुन्यो होला ! आज निशान हेर्न पनि पक्कै आउँछ । तिमीहरूको पाःलामले याङ्वरक हल्लिने भो ।’
दारासिं मुसुक्क हाँस्दै बोल्छ ‘मेरो चाहिँ होइन सुभे दाजुको चाहिँ चैन् हुने भो । तमरपार ठुली आउँछ होला । उनी नआए पनि याङरक सुभाको छोरी फुङ्लोती छदै छ ।’
सबै एकचोटि गलल हाँस्छन् । दारासिं मुसुक्क हाँस्दै बाटो लाग्छ ।
भारापा उकालो छिचोलेर आगेजोङ्ग भन्ज्याङ आउछ । आगेजोङ्गदेखि फक्ताङ्लु पर्वत शृङ्खला, ताप्लेजोङ, तेह्रथुम र पान्थर कैअधिकांस गाउँ मजाले दृश्यपान गर्न सकिन्छ । उक्त दृश्य हेरेर आँखा थाक्दैन । भारापा उकालोमा थाकेका शरीर पनि शितल हावा र सुन्दर दृश्यले आफै तङ्रीदै जान्छ । अहिले आगेजोङ पुगि सकेका छन् । लादिपा पात बजाउदै सुसेल्दै अघि हिडिरहेको छ । लादिपालेविरह नै चल्ने गरी पात बजाउन सिपालु छ । आगेजोङदेखि याङवरक पुग्न निक्कै समय लाग्छ ।
निशान मेला याङवरक क्षेत्रकै सबैभन्दा ठूलो मेला हो । त्यहाँ तमरपार आठराई, आमेनी, पान्थर लगायतका विभिन्न ठाउँबाट निशान हेर्न आउछन् । निशान हेर्न जानेहरू बाटोमा हुलका हुल छन् । कोही पक्कन्दी खेली रहेका छन् भने कोही पाःलाम गाउदै रमाईलो गरिरहेका छन् । याङ्वरक पुग्नु भन्दा पहिले कालोपानी भन्ज्याङ आउँछ । कालोपानी निक्कै रमणीय छ । जंगलको बीचमा दुबोको चौर छ । त्यहीँ पार्टी र चौतारोहरू बनाइएको छ । कालोपानीमा सुभाङका तरेमाहरू अघि पुगेका रहेछन्। सुभाङका तरेमाहरूसँग पुरानो चिनजान छ । तरेमाहरूसँग ढोगभेट गरे । यतिकैमा लावाहाङ मुस्कुराउदै बोल्छ ‘हौ सुभे आम्भु, एक चरण तरेमाहरूसँग धान नाचौं । च्याग्र च्या आरिन्ने !’
सुभे हाँस्दै ‘हौ निशान नाचेको हेर्न ढिलो होला नि फेरि ?’
सुभाङका तरेमा फुङमाया झोङ्केर हाँस्दै बोल्छ ‘सुभा सोल्टी के डराउनु भएको हौ ? हामीसँग घोच्ने काँडा त छैन है ।’
सबैजना गलल हाँस्छन्।
बाटो भरी सुभाङका तरेमाहरूसँग ख्यालठट्टा गर्दै जाँदा थाहै नपाई कति छिटो वाङवरक पुगिसकेछन् । गज्जबले निशान नचाई रहेकाछन् । कोही बन्दुक पढ्काई रहेका छन् । कोही भाला, तरवार नचाई रहेका छन् । निशान नाच्ने ठाउँदेखि केही माथी उभेर सुभे, लादिपा रदारासिंले एकटकले निशान हेरिरहेका छन् । अलि परतिर सुभाङका तरेमाहरूसँग लावाहाङ र मुलुकसिं धान नाच्न सुरु गरेका छन् ।
दायाँ र बायाँतिर वर र पिपलको ठूलो रुख छ । फेद मै गारो लगाएर मजाको चौतारो बनाईएको छ । केही तलतिर खुला चौर छ । त्यहाँ भाले र पोथी निशान उफ्री–उफ्री नचाई रहेका छन् । चौरको पश्चिमतिर निक्कै ठूलो पोखरी छ । त्यस पोखरीलाई याङवरक भनिन्छ । आज निशान हेर्न आउने मान्छेको भिड एकदम व्यापक छ । चौरको छेउछाउमा होटल र किराना पसलहरू राखिएको छ ।
अलि परतिर केही छ्याङ बेच्ने लिम्बुनीहरू पनि बसेका रहेछन् । दारासिंले त्यता देखाउदै भन्छ–
‘हौ सुभे आम्भु ! लु भोक र तिर्खा लाग्यो एक बटुका चाहिँ खानु पर्ला हौ ?’
कम्मरको खुकुरी मिलाउदै, ‘हुन्छ ! ३/४ शेर बनाउन लगाउन त ।’
छ्याङ बेच्ने दिदीहरूसँग जिस्किदै सुभे, लादिपा र दारासिं जाँड खाई रहेका छन् । लावाहाङ र मुलुकसिं धान नाची रहेका छन् । अलिपरतिर चिटिकै परेका तीनचार जना युवतीहरू ग्रुपै बसिरहेका छन्। अचानक लादिपाको आँखा त्यतातिर पुग्छ । लादिपा आत्तिदै बोल्छ–
‘हौ आम्भु सुभे ! तमरपार ठुलीहरू जस्तो छन् ऊ त्यहाँ हेर्नु त ?’
हातले मुख पुछ्दै उतातिर फर्केर हेर्दै बोल्छ सुभे ‘हौ लु ह रछ । अब धान नाच्नु पर्छ ।’
खासमा सुभे तमरपार ठुलीसँग धान नाच्नकै लागि आज याङवरकसम्म आएको हो । उइले फेदेनमा भेट हुँदा तमरपार ठुलीसँग याङवरकमा भेट्ने भाका गरेका थिए । सायद त्यही भाका पूरा गर्न तमरपार ठुली पनि आएकी होलिन् । शिरमा साम्याङ फुङ, घाँटीमा कन्ठा, कानमा चेप्टे सुन र सेतो तिनखोले बर्की ओडेकी ठुली साच्चिकै राम्री देखिन्थ्यो । सायद त्यहाँ तमरपार ठुलीलाई हेरेर मक्ख नपर्ने कोही छैनन् होला !
खाजा खाईसके पछि सुभे, लादिपा र दारासिं तमरपार ठुलीहरू भएको तिर जान्छन् । मुस्कुराउदै सबैले भुँई सोरी सेवारो गर्छन् । निक्कै लामो समय पछि भेट भएकोले आज गज्जबले धान नाच्ने सबैको योजना छ ।
लादिपा ईत्रिदै बोल्छ, ‘हौ सुभे आम्भु ! लु आज त पाःलाममा जितेर नेद्रे लानु पर्छ है ।’
सुभे मुसुक्क हाँस्छ । त्यतिकैमा तमरपार ठुली मुस्कुराउदै ‘लु त, हिम्मत छ भने पाःलाममा जितेर लानुहोस्, फेरि हामीले जित्यौं भने घरज्वाइँ लान्छौं नि !’
सबै गलल हास्छन् ।
सबैजना हात समाएर धान नाच्न थाल्छन् । तमरपार ठुली मान्छे राम्री मात्र होइन पाःलाम गाउँदा स्वर पनि उतिकै मीठो छ । उनको स्वरमा मान्छेहरू मोहित हुन्छन् । मीठो स्वर तानेर तम्मरपार ठुली पाःलाम गाउन थाल्छ –
सेन्छ्रेङ्ला ला ओ चादुम्मेले
निसानै तेम्धा आ दुम्मेले –
ए.. हा.. ए..हा..हा
(मंसिरै महिना धान पाक्दा,
निसानै मेला भेट हुँदा)
स्वरमा स्वर मिलाएर सबैले पाःलाम गाउँछन्। मायावि शब्दले सिंगारिएको मिठासपूर्ण पाःलामले निशान मेला नै प्रेमिल बनाईदिएको जस्तो आभाष हुन्छ ।
अचानक मेलाको पल्लो छेउमा हातको औंला सुई.. बजाएर नाङ्गो खुकुरी नचाउदै तिनचारजना सुभेहरू धान नाँच्दै गरेको तिर दगुरेर आए । तिनीहरू याङवरकका सुभा अटलसिंका छोरा मिराकहाङहरू रहेछन्। सुभेले चिनिहाल्यो ।
मिराकहाङले पनि तम्मरपार ठुलीलाई खुबै मन पराउँछ । ठुली कसैसँग धान नाचेको वा बोलेको देख्यो कि फौदारी गरिहाल्थ्यो ।
हेर्दाहेर्दै मिराकहाङ्ले सुभेलाई दाहिने घाँटीमा खुकुरी हान्यो । सुभे पनि मान्छे छिटो नै हो । एकहातले खुकुरी छेकेर अर्को हातले एकबक्सिङ हान्यो । मिराकहाङ भुँई मै बजारियो । दारासिंले एक्लै चार/पाँच जनालाई पछार्यो ।
लावाहाङ र मुलुकसिं पनि आत्तिदै आईपुगे । तमरपार ठुलीहरू सुरक्षित ठाउँमा भागिहाले । मेलामा एक्कै छिनमा पान्थरका सुभे र याङवरकका मिराकहाङको फौदारी पर्यो भन्ने हल्ला फैलियो ।
याङवरकेहरू एकजुट हुन थाले पछि सुभेहरूको केही नचल्ने भयो । उनीहरू थोरै मात्र थिए । त्यसैले बाटो तताउने तिर लागे । सुभेले काटिएको पाखुरा एक हातले समाउदै दारासिंलाई बोलाउछ – ‘दारासिं अरु कता गए ? लु अब भागौं । हामी थोरै मात्र छौं । केहि गर्न सक्दैनौं ।’
याङरकेहरूले यक्वा डाँडासम्म खेदाए । यक्वा डाँडा पान्थर थुम र याङरक थुमको सिमाना पर्छ । यक्वा डाँडा कटेपछि मात्र सुभेहरूको बल्ल सास आयो ।
राती अबेर मात्र आएकाले सबैजना सुभे कै घरमा सुते । बिहान अलि अबेर उठेर सबैजना चिया खान बसे । सुभेको दाहिने पाखुरामा काम्ब्रो बाँधिएको थिए । रगतको टाटो पनि बसेको थियो । निक्कै सुन्निएको थियो ।
देउमान सुभा तङ्बा तान्दै खाट माथी बसिरहेको छ । कोक्माहिम बैदार पनि बिहानै सुभालाई भेट्न आएर गफ गरेर बसिरहेका छन् । देउमान सुभा सुभेको काटिएको हात हेर्दै ठूलो स्वरमा बोल्छ–
‘ए ! सुभे तेरो हात के भएर बाँधेको ? याङवरकेहरूले काट्यो कि के भो ?’
सुभे नबोली चिया खाँदै बसिरहन्छ । फेरि सुभा झंक्केर बोल्छ –
‘किन बोल्दैनस ह ? ए ! दारासिं सुभेको हात के भो ?’
दारासिं डराउदै बोल्छ – ‘हिजो निशानमा याङवरकका सुभा अटलसिंका छोरासँग झगडा भयो थेत्थे। त्यतिवेला काटिएको हो ।’
झारमान अझ रिसाउदै ठूलो स्वरमा बोल्छ, ‘तिमीहरू जता जान्छौ त्यतै फौदारी गर्छौ । कुन दिन ख्यालख्यालमा ज्यान जान्छ ।’ सुभेको छेउमा गएर काटिएको घाउ हेर्दै, ‘लौ ठूलो काटिएछ । हौ बैदारे बैदाङ्गीलाई बोलाएर ल्याऊ । औषधि गर्न लगाउनु पर्छ ।’
बैदारले बैदाङ्गी थेत्थेलाई ल्याएपछि घाउमा औषधि लगाई दिन्छ । निक्कै ठूलो काटिएको रहेछ । देउमान सुभा तङ्बा तान्दै बोल्छ, ‘मैले अस्ति नै भनेको हो, याङवरकेहरूसँग पुराने ईबि छ । त्यता नजाऊ भनेर ! अब खुनी भयो । तर म त्यो अटलसिंको छोरालाई त्यसै छोड्दिनँ । आमेनीमा लगेर तुरुङमा हाल्छु । हौ बैदार भोलि बिहान तिमी याङवरक जाऊँ । अटलसिंलाई वारेकपुङमा बोलाएर चुम्लुङ गर्नुपर्छ । जादा येक्तेनको काल्वा सुभालाई पनि चुम्लुङमा बोलाई राख्नु ।’
बैदार कोटको कलम मिलाउदै, ‘हुन्छ आम्भु म भोलि बिहानै जान्छु ।’
बैदार गाउँकै लेखान्दास हुन् । गाउँमा प्रायः उनले लेखेको काजपत्र मात्र छन् । देउमान आगे सुभाको सबै कागजपत्र लेख्ने काम बैदारले नै गर्छ ।
बैदारले चुम्लुङ बस्ने मिति निश्चित गरेर आएर सरासर सुभाको घरमा खबर पुर्याउँछ । सुभा देउमान तङ्बा तान्दै बसिरहेको छ ।
‘सेवारो आम्भै !’
बैदारले सुभालाई नमस्ते गर्छ ।
सुभा दार्ही मुसार्दै– लु पुगेर आएछ बैदार, लु के खबर ल्यायौ ? यता बसेर भन ।’
बैदार खटियामा बस्दै सुस्केरा तानेर बोल्छ, ‘अटलसिं सुभाले त आमेनिमा लगेर तुरुङमा लगाउने कुरा गर्दैछ । उस्को छोराको पनि दुईवटा दाँत झरेछ । तरसाङ एकचोटी चुम्लुङ बस्ने कुरामा सहमत भएको छ । अर्को यो सन्छरवार वारेकपुङमा जानू पर्ने भो आम्भु । तुम्याहाङको रुपमा काल्वा सुभालाई पनि भनेको छु ।’
देउमान सुभा जंगिदै, ‘आरेत ! म पनि अमाली चलाउने आगे सुभा हुँ । त्यसले आमेनीमा लगेर तुरुङमा हाल्ने धम्की दिएछ ? आमेनीको डिट्टा विचारी मेरो मीत ह । त्यो अटलसिं भन्दा पहिले म तिनीहरूलाई तुरुङमा बाँधेर देखाइ दिन्छु, स्याठा !’
बैदारे एक सर्को तङ्बा तानेर बिस्तारै बोल्छ, ‘आल्ल ! ज्या भए पनि आउदो सन्छरबार वारेक्पुङमा चुम्लुङ बसौं । त्यसपछि जे गर्नुपर्छ गरौंला ।’
देउमान सुभाको घर खेतको बीचमा छ । कात्तिक लागेकोले खेतमा रहरै लाग्दो धान झुल्न थालेको छ । अब मंसिर पहिलो हप्तादेखि अन्तिम हप्तासम्म धान थन्क्याउने काम हुन्छ । ती आँखाले नभ्याउने विशाल खेत आधा देउमान कै पर्छ । देउमान सुभा मात्र नभएर अमाली पनि हुन् । त्यसैले पान्थरको आधा जति गाउँका मान्छेहरूको मुद्दा मामिलाको चुम्लुङ प्राय सुभा कै घरमा हुन्छ । सुभा देउमानको घरमा अपराधी र फटाई गर्नेहरूलाई सजायस्वरुप तुरुङमा हाल्ने व्यावस्था पनि छ ।
हिउँद लागेपछि धान थन्काउदै याक्थुङ युवा युवतीहरूले गाएको सुधुर मायावी पाःलामले साच्चै रमाइलो हुन्छ । दिउँसो भर काम गरेर रात परेपछि साईनो नलाग्ने याक्थुङ युवायुवतीहरू भेला भएर धान नाच्ने गर्छन् । धान नाच्दा पाःलाम मार्फत माया गाँसेर कतिपयको बिहेसमेत हुन्छ ।
आज सन्छरवार वारेकपुङमा पान्थरे र याङवरक्के सुभाहरूको चुम्लुङ हुनेछ । कुरा नमिलेमा घमासान फौदारी समेत हुन सक्छ । त्यसैले यता पान्थर याङ्नामबाट आफुलाई चाहिने हात हतियारसहित सुभा देउमान बिहान सबेरै ठुलै ग्याङ लिएर बाटो लागेका छन् । बाटोमा आवश्यक खाजासमेत बोकेका छन् ।
चुम्लुङमा तुम्याहाङको रुपमा येक्तेनका काल्वा सुभा पनि आउनेछ । उता याङवरकबाट पनि अटलसिंले ठुलै ग्याङ लिएर आउदैछ । अटलसिं पनि याङवरकका नाम चलेका अमाली सुभा हुन् ।
वारेकपुङमा याङवरकबाट अटलसिं सुभा र येक्तेनबाट काल्वा सुभा अघि नै पुगेका रहेछन् । याङनामबाट देउमान सुभाहरू बल्ल पुगे । सबैले सेवाढोग गरे । लिम्बुहरू जति नै काटाकाट गरे पनि यसरी भेट हुदा मनमा ईख नराखी सेवाढोग गर्छन् । वारेकपुङ भन्ज्याङ निक्कै रमणीय छ । त्यहाँबाट याङवरकका अधिकांश भू–भाग, पान्थर र सुक्खिमको सिमाना फालेलुङ समेत मजाले देख्न सकिन्छ । भन्ज्याङ मै चारकुना मिलेको चौतारो छ । छेउमा मौलो पनि रोपिएको छ । चौतारोको वल्लो किनारमा पान्थरका देउमान सुभाहरू बसे, पल्लो किनार मायाङवरकका र बीचमा आजको चुम्लुङको तुम्याहाङको भूमिका निभाउने काल्वा सुभाहरू बसे ।
डरै लाग्नेगरी सबैले सिरुपाते कुखुरी भिरेका छन् । आज कुरा नमिलेमा जे पनि हुन सक्छ । तर, तुम्याहाङ काल्वा सुभाले केही हुन दिन छैन । किनभने लिम्बू समुदायमा तुम्याहाङको भूमिका अत्यन्तै महत्त्वपूर्ण हुन्छ । तुम्याहाङले भनेको कुरा सबैले मान्नै पर्ने हुन्छ ।
काल्वा सुभाले कुरा शुरु गर्छ । दार्ही मुसार्दै– चैन्जो ! खास के निहुँमा फौदारी परेछ ?’
काल्वा सुभाको कुरा सक्न नपाउदै याङवरकका सुभा अटलसिं पाखुर सुर्केर बोल्छ – ‘पान्थर थुम याङनामका देउमानको छोराले याङवरक आएर मेरो छोराको दुईवटा दाँत झारेर खुनी बनाएको छ । आज यसको उचित न्याय निसाफ भएन भने म आमेनिमा गएर उजुरी दिन्छु !’
देउमान सुभा जुरुक्क उठेर भन्या– ‘ए च्याठा ! तेरो छोरा मात्र खुनी भएको छ ? मेरो छोराको पाखुरामा ८ ईन्च भासिने गरी तेरो छोराले काटेको छ । अमेनीको डिट्टा विचारी मेरो मीत ह । कसरी उजुरी दिन्छस् ? म पनि हेरौंला ! बाबू छोरालाई तुरुङमा हाल्छु च्याठा !’
काल्वा सुभा जङ्गिदै, ‘तिमीहरू आफै मात्र फौदारी गर्ने हो भने हामीलाई किन बोलाएको ह ? चैन्जो ! होइन भने चुप लागेर बस । चैन्जो दुबैजना खुनी भएछन् । एसरी फौदारी गर्नु आफैमा सही होइन । त्यसैले आज यहाँ दुबो र ढुङ्गा छुएर याङवरक्के र पान्थरेहरूको ईबि सधैंका लागि बन्द गर्नु पर्छ ।’
काल्वा सुभाको कुरा सुनेपछि सबैजना एकछिन् चुपचाप बस्छन् । मौनतालाई तोड्दै अटलसिंले काल्वा सुभाको कुरालाई स्विकार गर्दै’, ‘तुम्याहाङको रुपमा आज आदाङ्बा छौ । आदाङ्बाको जो कुरा छ, त्यो मानौंला, बुझौंला ।’
पान्थरका सुभा देउमानले पनि काल्वा सुभाको कुरालाई नै स्वीकार गर्छ । सधैं मेला बजारमा फौदारी गर्ने पान्थरका सुभे र याङवरकका मिराकहाङलाई आज तुम्याङहरूले मुन्धुमले कहिले झगडा नगर्ने वाचा गराउनेछन् । त्यसका लागि पान्थरका तर्फबाट एक पङ रक्सी, एउटा भाले र याङवरकका तर्फबाट पनि एक पङ रक्सी, एउटा भालेको व्यवस्था गरियो । रक्सी र भाले राखेर दुबै पक्ष अब उप्रान्त कहिले झगडा नगर्ने बाचासहित सेवा ढोग गरे । त्योसँगै सुभे र मिराकहाङ जतिकै अग्लो दुईवटा ढुङ्गा पनि गाडे । त्यो ढुङ्गा र दुबो छुवाएर तुम्याहाङ काल्वा सुभाले के–के मुन्धुम वाचन गरेर आईन्दा कहिले फौदारी नगर्ने वाचा गराए । त्यस दिनदेखि पान्थरका सुभे र याङवरकका मिराकहाङको फौदारी सधैंका लागि अन्त्य भयो ।
साँझ पर्नै लागेको छ । आजको चुम्लुङ पनि करिब सकियो । देउमानले दार्ही मुसार्दै, ‘हौ आल्ल ज्यासाङ यो मेरो छोरा सार्है अल्लारे बनेर हिँड्यो । लौर जा भन्दा पनि मान्दैन । याङवरकतिर एकजना बुहारी हेरिदिनु पर्यो अटलसिं आदाङ्बे !’
अटलसिं सुभा जुरुक्क उठेर, ‘आरे हौ आदाङ्बा ! पहिले ज्या भो सक्यो । अब हामी सम्दी–सम्दी बनौं । मेरो कान्छी छोरी फुङ्लोती आदाङ्बालाई बुहारी दिन्छु ।’
सुभे लजाएर भुईँतिर हेर्छ । हुन त सुभेले पनि फुङलोतीलाई मन पराएकै हो । फेदेन मेलामा एकरात उज्यालो हुनेगरी धान नाचेको याद सुभेको मनमा त्यतिकै छ । तर, उस्को दाजु मिराकहाङसँग खेजेक परेपछि अलि सम्बन्ध दुर भएको मात्र हो ।
अटलसिंले आफ्नो छोरी बुहारीको लागि दिने भएपछि देउमान पनि खुशी भए । बिहेको कुरा छिनाउन साँझतिर सबैजना याङवरक अटलसिं सुभाको घरतिर लागे । आज सुभेको विहेका लागि फुङ्लोतिलाई राजी गराएर सुर्के पुङ लगाई राख्नेछन् ।
साहित्यकार केरुङ हाङ्सेम हाल कोरियामा रहँदै आएका छन् । उनको सम्पादनमा पहिचान (जर्नल,२०७६) र विमर्श (जर्नल, २०७०) प्रकाशित भएका छन् । उनी कथा, कविता, निबन्ध लगायत साहित्यको सबै विधामा कलम चलाउँछन् ।