April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

के सर्जकले बाँच्नु पर्दैन ?

आचार्य प्रभा
२०८० भाद्र २

2.2K

लघुकथा

एक पाठकले नीरालाई म्यासेन्जरमा प्रश्न गर्यो– दिदी आजकल तँपाईका रचनाहरू फलानो पत्रिकामा आउँनै छाड्यो नि ! किन होला ?’

नीराले जवाफमा भनी– ‘आउँछ होला नि ! धेरैका रचनाहरू भएकोले लाईनमा बसेको होला । पठाउँन त पठाई रहेकी छु ।
उनले यस्ता धेरै पाठकहरूको प्रश्नको सामना गरिरहेकी थिई । कारण प्रत्येक हप्ता उसका विभिन्न विधाका रचनाहरू प्रकाशित हुने गर्दथे । पाठकहरू पनि धेरै थिए ।

Advertisement

रचना पठाएको लामो समयसम्म पनि पत्रिकामा नछापिए पछि एकदिन ऊ आफैले सम्पादकलाई म्यासेज गरी । तर खस्रो जवाफ आयो– ‘तँपाई हाम्रो पत्रिकाको आजीवन सदस्य नबन्ने भन्ने सुनियो । के साहित्य, बिना सहयोग त्यसै बाँच्छ ?’ सम्पादकको कुराले ऊ अवाक बनी । उसले सम्झी– ‘आखिर आफूले लाखौँ रुपियाँ खर्च गरेर निकालेको पुस्तकको प्रकाशकको नाम पनि उही पत्रिकाको राखेर, पचासौं हजार खर्च दिएर बिमोचन पनि उही पत्रिकाको ब्यानर राखेर गरेको । त्यति मात्र होईन दुईसय पचासप्रति पुस्तक पनि उसैको जिम्मा लगाएको । यो कस्तो किसिमको प्रश्न हो ? साहित्य, बिनासहयोग बाँच्दैन भने सर्जकले पनि त बाँच्नु पर्ला नि ! सर्जकले उल्टै सृजना पनि दिनु, आफूले खर्च गरेको आफ्नो सम्पति पनि जिम्मा लाउँनु । अब अरु के सहयोग गर्नु ?’ नीराले धेरै कुरा सोंची ।

हो, समय उल्टो छ । जुन क्षेत्रका लागि लागि पर्‍यो, उही क्षेत्रकाबाट पीडा र अपहेलना सहनु पर्छ । साहित्यकै संरक्षकहरूले सर्जकहरूको पीडा, सृजनाको महत्व नबुझेपछी अरु कस्ले बुझ्ला ? खोइ त ! सर्जकको महत्व ? के साहित्यमा पैसा असुलेर मात्र लेखनको अर्थ रहन्छ ? यस्तै सोंच्दै उसले लेख्न सुरु गरेको लघुकथा ‘साहित्य भावनाको पर्याय’लाई अधकल्चोमै छाडेर अब साहित्यमा नअल्मलिने निधो गरी ।

साहित्यकार आचार्य प्रभा हाल अमेरिकामा रहँदै आएकी छन् । प्रभाका परदेशबाट (कवितासंग्रह–२०६२), असह्य चित्कार (गजलसंग्रह–२०६९), मायाको नाकाबन्दी (गीतसंग्रह–२०७६) र विधुर पुरुष लघुकथासंग्रह प्रकाशित छन् ।