March 12, 2025, Wednesday
२०८१ फाल्गुन २८
1:37:26 pm

कविता: सीताहरू

जुनु राना
२०८० असार ९

10.7K

आज पनि पूज्य छिन्- ‘शास्त्रकी सीता’
तर तिरस्कृत छन्- ‘राज्यका सीताहरू’

चिन्ता उत्तिकै छ, शास्त्रकी सीताको
बन्द गरिन्छन् सिनेमा हलहरू
बन्छ, राष्ट्रीय बहस
तर, मुक छ्न् दुनियाँ
राज्यका सीताहरूका निमित्त ।

राज्यमा सीताहरू
कति अनागरिक छन्
कति एकल आमा
कति अन्तरजाती
कति अधिकारविहीन छन्
प्रताडित छन्
अस्वतन्त्र छन्
अभिशप्त छन्
र, अस्वच्छन्द छन् ।

Advertisement

शास्त्रमा, पति मर्यादाको नाममा
सीता हरण भइन्
आज, प्रेम र आशक्तीको नाममा
सीताहरुको अपहरण हुन्छ ।

रावणको आशक्ति
सीताको अपहरण
लोक निन्दा र अग्नि परीक्षा
प्रकारान्तरले आज पनि
विद्यमान छ ।

लुटिएर पनि ओठमा हासो छर्न बाध्य छन् सीताहरू
मानसिक रुपमा सति जान बाध्य बन्छन् सीताहरू
युग बदलिन्छ
सीताहरुको परीक्षा बदलिदैन
आज पनि सीताहरु जिउँदै जल्छन्
टोल-टोलमा जल्छन्
रातको कालो प्रहरमा चल्छन् ।

तर, शास्त्रकी सीता जस्तै
पुज्य छैनन्
तिरस्कृत छन् राज्यका सीताहरू।