काठमाण्डौं । पहाडी जिल्ला ओखलढुङ्गाको गाम्नाङटारमा जन्मेका रत्नबहादुर थापा विपन्नका लागि स्वास्थ्य नेपालका अध्यक्ष हुन् । उनी आजकल बिरामीको स्वास्थ्य उपचार र बिरामीहरूका लागि आवश्यक सहयोगको खोजीमा निक्कै व्यस्त हुन्छन् ।
कुनै पेशा व्यवसायमा भन्दा पनि उनी सामाजिक सेवाका काममा व्यस्त हुने गरेका छन् । थापा यतिखेर मुटुरोग र बालबालिकाहरूका स्वास्थ्य समस्यामा परेकाहरूलाई सहयोगमा जुट्ने गरेका छन् । उनका मोबाइलमा प्राय समस्यामा परेकाहरूले साथ सहयोगको याचना गरेकै फोनहरू आउने गर्छ ।
उनी र उनीसँग आवद्द संस्था विपन्नका लागि स्वास्थ्य नेपालले खासगरी मुटुरोग र बालकालिकासँगका समस्यालाई साथ सहयोग र समन्वय गरिदिने गरेका छन् ।
उनी र उनको संस्थाले मुटुरोग के हो ? किन र यस्ता समस्याबाट कसरी बँच्ने जस्ता उपायका बारेमा जनचेतना जागृत गर्ने काम गर्दै आएको छ । समस्यामा परेकाहरूलाई उपचारको प्रपञ्च मिलाउने काममा व्यस्त हुन्छन् रत्न । केही समय अघि मात्र झापाको खुदुनाबारीमा भएको मुटुरोग सम्बन्धी स्वास्थ्य शिविरमा स्वास्थ्य अभियन्ता थापा सम्मानित पनि भए ।
विशेषज्ञ डाक्टर सहितको टोलीले स्थानीय रेडक्रस खुदुनाबारी सँगको समन्वयमा शिविर चलाएका थिए । स्वास्थ्य क्षेत्रमा गरीब र विपन्नको लागि उपचारमा सहज पहुँच उपलब्ध हुनुपर्छ भन्ने मान्यता राख्ने थापा आर्थिक अभावकै कारण जो कोही उपचार अभावले अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने भावना राख्छन् र उनको वल बुद्धिले भ्याएसम्म त्यस क्षेत्रको काममा जुट्छन् पनि ।
विभिन्न संघसंस्था र निकायको समन्वयमा विशेषज्ञ डाक्टर सहितको हेल्थ क्याम्प राख्छन् र बिरामीहरूको पहिचान गरी सम्बन्धित निकायमा रेफर गर्छन् र पहुँच सृजना गर्छन् । उनले गर्ने यस्ता काममा स्थानीय निकाय प्रदेश सहित केन्द्र सरकारको पूर्ण साथ र सहयोग छ ।
थापा गरीब र विपन्नका लागि साक्षात् भगवान नै हुन् उनमा निस्वार्थ सेवा भाव छ रेडक्रस शाखा खुदुनाबारीका सभापति मुकुन्द भण्डारी भन्छन् ।
इलाम फाकाफोकथुम ४ की फुलमाया लिम्बुको मुटुको समस्यामा इलामका सांसद सुहाङ नेम्वाङ समेतको सहयोग जुटाएर थापाले गरेको सहयोगको गुन तिर्न नसक्ने बताउँछिन् उनकी अभिभावक दिप्सि लिम्बू ।
उनी थापालाई धन्यवाद बाहेक केही दिन नसकेको भन्दै आफूहरूको लागि उनी साक्षात् भगवान भएको बताउँछिन् । रङ्गेलीका विशाल पराजुलीहरू जुन प्रतिनिधि मूलक पात्र र घटना मात्र हुन् यिनीहरू सहित सर्यौको सङ्ख्याका समस्यामा परेकाहरुलाई स्वास्थ्यमा पहुँच सृजना गरिदिएका थापाप्रति बिरामी र तिनका आफन्तहरूले श्रद्धाभाव प्रकट गर्छन् ।
२०३० सालमा जन्मेर ६ वर्षको उमेरमा भारतको सिक्किममा हुर्केका बढेका थापा त्यहाँ रहँदा लखन्तरे बा ( खेमलाल पाण्डे ) बाट संस्कारसंस्कृति सामाजिक सेवा भाव र नैतिक शिक्षाको आचरण सिकेको बताउँछन् । बटोमा गरिब अपाङ्ग घाइतेलाई बाटो कटाउने दिनदु:खी र गरिबहरूलाई साथ सहयोग गर्ने कुरा सिकेको थापाको भनाई छ ।
‘संगत गुनाको फल’ भने जस्तै लखन्तरे बाको संगतले आफूले जीवनमा असल कर्म गर्ने शिक्षा सिकेको भन्दै थापा भन्छन्, ‘लखन्तरे बा आफ्ना यस क्षेत्रका गुरु हुन् । सरसफाई ,आत्मअनुसासन आचरण नैतिक शिक्षादेखि जीवन र जगतका थुप्रै व्यवहारीक कुराहरु आफूले लखन्तरे बाबाट सिकेँ।’
०६३ मा भारतको सिक्कमबाट नेपाल फर्केर अनवरत सामाजिक सेवामा समर्पित थापा दीनहिनका लागि त भगवान नै बनेका छन् । हुन पनि उनको सामाजिक सेवा प्रतिको लगाव देखेर नै नेपालका मुटु रोगका पिता डा. भगवान कोइराला ,मुटुरोग विशेषज्ञ अनिल भट्टराई, वरिष्ठ बालरोग विषेश डा मनिस कोइराला, जस्ता विशेषज्ञ डाक्टर र स्वास्थ्य संस्थाहरूको पनि साथ र सहयोग छ ।
उहाँहरूकै साथ र सहयोगमा यत्रो उपचारको प्रपञ्च मिलाउने कामका अलावा नेपालमा नसर्ने रोगबारे जनचेतना जगाउनेदेखि खानपिन र आचरणमा शुद्धताको बारेमा सचेतना जागृत गर्ने काम उनीहरूको छ । भर्खरै मात्र संस्थाले कोशी प्रदेशको सङ्खुवासभाको किमाथाङ्काको भोटखोलामा विशेषज्ञ डाक्टर सहितको स्वास्थ्य सेवा सञ्चालन गरेको थियो ।
स्वास्थ्य सेवामा एक हजार २ सय ४८ बालकबालिकाको स्वास्थ्य अवस्था चेकजाँच गरिएकोमा ३६ जना बालकालिका रोगी भेटिएको र मुटुरोगका बालकालिका समेत भेटिएको उनी बताउँछन् । दूर दराजमा यस्ता समस्या भएका थुप्रै मानिसहरू भएको अनुमान सोझै गर्न सकिने थापा भन्छन् ।
विश्वमा जस्तै नेपालमा पनि नसर्ने रोगका विरामीहरु दिन प्रतिदिन बढ्दो क्रममा रहेको भन्दै खानपिन रहनसहन आहारविहार जीवनशैलीमा परिवर्तन गर्नुपर्ने उनको भनाई छ ।
आफैँले उत्पादन गरेको घिउ खाने ठाउँमा आयातित तेल र अखाद्य खानपिन बढेको कारण पनि स्वास्थ्य समस्या बढेको उनको भनाई छ ।
भरखरै मात्र सामाजिक सञ्जालमा ताप्लेजुङ फूलबारीका २ दिदीबहिनीहरू बेबारिसे अवस्थामा छन् भन्ने थाहा पाएपछि उद्धार गरी उपचार र अन्य आवश्यक सहयोग गरेको उनको भनाई छ ।
‘आफूले गरेको सानो काम र सहयोग राज्यको लागि त केही होइन तर, एउटा व्यक्तिको लागि सबैथोक हुँदो रहेछ’, थापा भन्छन्, धनीले त ठूला सेवा लिन सकिहाल्छन् तर गरीब र विपन्न अनि दुर दराजका पहुँच नभएकाहरूलाई सहयोग गर्नु मेरो दायित्व र कर्तव्य हो ।’ उनी आफ्नो सम्पूर्ण जीवन यसै काममा समर्पण गर्ने बताउँछन् । ‘दिनहीन र विपन्नको लागि सेवा र सहयोग गर्ने हो सबै काम आफैले मात्र गर्न सकिन्नँ । राज्य, सङ्घसंस्था र सहयोगी निकायहरूको खोजी गर्ने हो ।उनीहरूको पुलको काम गर्ने हो’, उनी थप बताउछन् ।
देशका सबै प्रदेशका धेरैजसो जिल्लामा पुगेर सेवा प्रदान गरेका थापा मधेश प्रदेश देशको स्वास्थ्य क्षेत्रको हिसाबले सबै भन्दा पछाडि भएको ठान्छन् । सामाजिक सेवा भावको प्रशंसा गर्दै संविधान दिवसको अवसरमा नेपाल सरकारले २०७७ सालमा ‘समाजसेवा रत्न पदक’ समेत दियो थापालाई । तर उक्त पदक लिन आफू त्यस समारोहमा सहभागी नभएर बिरामीको सेवामा उपत्यका बाहिर भएको वास्तविकता सुनाउँछन् । त्यसवेला आफूले पदक लिन भन्दा बिरामीको सेवामा महत्व दिएको उनी भन्छन् ।
यसका अलावा उनलाई थुप्रै संघसंस्था र निकायले सम्मान प्रशंसा र कदर गरेका छन् । यस्ता प्रशंसा भन्दा सेवा भावमै रमाउन पाउँदा आफूलाई खुशी लाग्ने थापाको भनाई छ । निकट भविष्यमै ताप्लेजुङ, ओखलढुँगा, प्युठान लगायतका जिल्लाहरूमा मुटुरोगसँग सम्बन्धित विशेषज्ञ स्वास्थ्य शिविरको आयोजना गर्ने तयारीमा रहेको भन्दै थापा भन्छन्, ‘यस्स कार्यमा संस्थाका उपाध्यक्ष कोपिला श्रेष्ठ, महासचिव प्रताप शाही, सचिव टेकबहादुर बस्नेत, बुध्दि खनाल, लिला आचार्य जीवन लिङथेप, डा.अरुण शाही सहितका थुप्रै व्यक्तिहरू सहित थुप्रै सहयोगी, स्वयंसेवक र विशेषज्ञ डाक्टर र स्वास्थ्य विशेषज्ञहरूको साथ सहयोग र समर्थन रहेको छ ।’
‘असल नियतले चिताएको काममा थुप्रै ठाउँबाट सहयोग जुट्छ नेपालीहरू नै वास्तवमा ठूलो मनका धनी छन् । देश विदेशमा रहेका सहयोगी मनहरूको मनलाई संगालेर काम गर्ने अवसर मिलेकै छ । म उनीहरुलाई बढी धन्यवाद दिन चाहान्छु । वास्तवमा आफूले त ति र यी मनहरूको संयोजन मात्र गरीदिएको हो’, थापा भन्छन् ।