March 12, 2025, Wednesday
२०८१ फाल्गुन २८
1:37:26 pm

पहिलोपटकको लकडाउनमा म झण्डै डिप्रेशनमा पुगिसकेको थिएँ : जेपी नेम्बाङ

9.6K

गायक तथा संगीतकार जेपी नेम्बाङ बुबा स्वः खेलमान नेम्बाङ र आमा मनमाया लावती नेम्बाङबाट फाल्गुनन्द गाउपालिका– ५ साविक फाक्तेपमा जन्मिएका हुन् । उनी अहिले २९ वर्षका भए । ‘हे महागुरु’ बोलको गीतबाट गायन यात्रा सुरु गरेका उनले १०० वटा भन्दा धेरै गीतहरू गाइसकेका छन् । उनको ‘मेरिङ’ र ‘रङ’ गरी २ वटा सोलो एल्बम छन् । त्यसैगरी ३०/४० वटा गीतमा संगीत भरेका छन् । नेपाली कथानक चलचित्र ‘तारेभीर’ र एउटा लिम्बु चलचित्रमा पनि संगीत भरेका छन् । लिम्बु भाषाको गीत ‘मुयेङ्सा एरेना’, ‘किराँती आनि’ ‘सिरापथाङ’ र नेपाली भाषाको गीत ‘याक चौरी चर्ने’ उनका चर्चित गीतहरू हुन् । उनले ‘छत्र स्मृती दिवस सम्मान’ सँगै ८ भन्दा वढी सम्मान प्राप्त गरेका छन् । ‘Best Singer Thailand 2018’, ‘Amin National Music Award Best Singer 2020 3′, Amin national Award Best Compose Award 2020’ , ‘Nepal Music Fashion Award Best singer 2021’ लगायतको अवार्ड प्राप्त गरिसकेका उनले २ पटक हङ्कङ, सिङगापुर, मलेसिया, थाईल्यान्ड, ईजरायल, द. कोरिया, भारतको सुखिममा सांगीतिक भ्रमण गरिसेका छन् ।
जेपीले एकपटक कोभिडलाई जितिसकेका छन् । कोभिड–१९ बारे उनको अनुभव यहाँ प्रस्तुत गरिएको छ ।

***

सुरुमा त कोरोना के हो मलाई थाहा थिएन । चिनमा कोरोना भाइरस देखा पर्‍यो रे ! विदेशतिर कोरोना आयो रे ! यति विरामी छन् रे ! यति मान्छे मर्‍यो रे ! भन्ने समाचार सुन्दा कस्तो भाइरस होला ? भनेर अचम्म लाग्थ्यो । अहिलेसम्म भाइरसको उपचार छैन, औषधी पाइदैन भनेको सुन्दा मनमा डर उत्पन्न हुन्थ्यो ।

Advertisement

जब नेपालमा कोरोना भित्रिएर व्यापक रुपमा फैलदै गयो । सुरु–सुरमा मनमा डर उब्ज्यो । यसको औषधी छैन भन्ने वित्तिकै मनमा डर पैदा हुनु स्वभाविकै पनि हो । मनमा खाली कसरी बाँच्ने भन्ने प्रश्न मात्रै थियो । सरकारले लकडाउनको घोषणा गर्‍यो ।

लकडाउन मेरो जीवनको पहिलो अनुभव थियो । भित्रै बस्नुपर्ने, आफन्त भेट्न नपाइने । अत्यन्तै अफ्ठ्यारो अवस्था सिर्जना भयो । पहिलोपटकको लकडाउनमा म झण्डै डिप्रेशनमा पुगिसकेको थिएँ । मलाई लाग्छ लकडाउनको बेला धेरै युवायुवतीहरू लकडाउनको शिकार भए होलान् ।

हामी कलाकारहरू कार्यक्रमका लागि देशविदेश गैरहनुपथ्र्यो । लकडाउन भएपछि स्वदेश तथा विदेशका सबै कार्यक्रमहरू बन्द भए । तर आफू बाँचे कार्यक्रमहरू भविश्यमा पनि हुन्छन् भन्ने सोचले मनलाई सान्तवना दिन थालेँ । लकडाउन अवधिभरी लकडाउनको पालना राम्रोसँग गरेँ । सुरक्षाका सबै विधिहरू अपनाएँ । विस्तारै लकडाउन खुकुलो हुँदै गयो । कोरोनालाई मान्छेहरूले हल्लाको रुपमा लिन थाले । मलाई पनि केहि हैन जस्तो लाग्न थाल्यो । यो केहि हैन, रुघाखोकी जस्तै हो भन्न थाले मान्छेहरू । मलाई पनि त्यपस्तै होला भन्ने लाग्न थाल्यो । फेरी कार्यक्रमहरू हुन थाले, जमघट हुन थाल्यो । म पनि कार्यक्रमतिर सहभागी बन्न थालेँ । साथिभाइसँग भेटघाट गर्न थालेँ । हिँड्न, डुल्न थालेँ ।

करिब २ महिना अघि ललितपुरमा एउटा म्युजिक भिडियो विमोचन कार्यक्रम थियो । कार्यक्रम भन्ने वित्तिकै स्वभावैले धेरैजनाको जमघट हुन्छ । त्यस कार्यक्रममा धेरैजनाको उपस्थिति थियो । त्यहि कार्यक्रममा भेट भएकोमध्ये एकजना दिदि त्यहिदिनदेखि विरामी पर्नुभयो । पिसिआर टेस्ट गर्दा वहाँको कोभिड–१९ पोजेटिभ आयो । त्यसको ठीक ३ दिनपछि मलाई पनि कोभिड सुरु भयो । त्यसदिन वहाँ दिदि र म सँगै बसेर कुराकानी गर्ने खाने कुराहरू खाने गरेका थियौं ।

मलाई दोस्रो चरणको लकडाउनपछि मात्रै कोभिडले भेटेको हुँदा कोभिड लागेपछि अपनाउने उपचार विधिहरूबारे केहि मात्रामा जानकारी थियो । घरेलु उपचार विधिबारे पनि केहि जानकारी थियो । झोलिलो खानेकुराहरू बेस्सरी खाएँ । तातोपानी, अदुवापानीहरू खाँदै कोठामै बसेँ । आराम गरेँ । कोभिडले आक्रमण गरेको २÷३ दिन पछि मलाई एकदमै गाह्रो भयो । त्यसपछि डाक्टरलाई घरमै बोलाएर उपचार गराएँ । त्यसबीचमा हेल्थसेन्टरबाट पनि बारम्बार फोन गरेर नआत्तिनु भन्ने सुझावहरू दिनुहुन्थ्यो । यस्ता–यस्ता खानेकुराहरू खानोस् भनेर सुझाव दिनुहुन्थ्यो । आफन्त, साथिभाईहरूले फोन गरिरहनुहुन्थयो । म्यासेज गरिरहनुहुन्थ्यो । कोरोना लाग्दैमा मरिदैन भनेर सबैले हौसला, सल्लाह, सुझाव दिनुहुन्थ्यो । मैले पनि वहाँहरूको सुझावलाई आत्मासाथ गर्दै मलाई कन्ट्रोल गरेँ । हामी स्वतन्त्र रुपम काम गरेर हिँडिरेको मान्छे, विरामी भएर एकठाउँमा लडिरहँदाको पीडा, आफू बसेको कोठामा कोहि नछिर्ने र एक्लै बस्नुपर्दाको पीडा मेरो लागि अत्यन्तै दुःखद थियो । लगभग ५/६ दिन अत्यन्तै धेरै ज्वरो आउने र घाँटी दुख्ने भइरह्यो । नायिका उपासना नेम्बाङले मह ल्याइदिनुभएको थियो । मह र पानी खान सुरु गरेको ३ दिन पछि मेरो घाँटी ठिक हुन सुरु भयो । त्यसपछि अलिक सन्चो भयो । त्यसपछि कोभिडलाई जित्ने साहस बड्दै गयो । कमजोर भएको कारण डाक्टर कोठामै बोलाएर स्लाइनपानी चडाइरहेँ । उपचार गराएँ । जे होस् जीवन खतरामा परेन । एक्लो अनुभव हुन्थ्यो, तर मनमा यति चाँडै त मरिदैन भन्ने आँट थियो । अन्ततः लगभग १४ दिनपछि मैले कोरोनालाई जितेँ । म ठीक भएँ । म अस्पताल जानु परेन ।

यसबीचमा मलाई अहोरात्र खटेर सहयोग गर्नुहुने रत्नज्वती होटलकी संचालिका जो साइनोमा मेरो माइजु पर्नुहुन्छ वहाँलाई धन्यवाद दिनैपर्ने हुन्छ । काठमाडौमा भाडाको कोठा एक्लै बसिरहेको मलाई तातो पानी तताएर दिने मान्छेसम्म थिएनन् । एक्लै बसिरहेके मलाई धेरै अफ्ठ्यारो र गाह्रो भएको थियो । म ठीक हुनुमा वहाँको साह्रै ठूलो सहयोग छ । दबाई ल्याइदिने, डाक्टर बोलाईदिनेदेखि लिएर खाना, खाजा, तातोपानी सबै वहाँले ल्यादिने गर्नुभयो । वहाँकै केयरिङका कारण मलाई निमोनिया हुन पाएन र अलिक चाडो ठीक भएँ ।

अहिले म पूर्ण रुपमा ठीक छु । मभित्र कोरोना भाइरस छैन । तर अझैंपनि अस्वस्थजस्तो अनुभुत हुन्छ । कमजोर महसुस हुन्छ । पूर्ण रुपमा तागत आइसकेको छैन ।

अन्त्यमा धेरै नेपाली दाजुभाई दिदिबहिनीहरूले कोभिडलाई हल्लाको रुपमा लिनुहुन्छ । मलाई पनि सुरुसुरुमा कोरोना खास केहि हैन, रुघाखोकी हो, हामीजस्तो युवालाई कोराना लाग्दैन भनेर म आफै पनि हिँडेको थिएँ । तर कोभिड त्यस्तो हल्ला गरेजस्तो कमजोर भाइरस हैन रैछ । यसले भेटिसकेपछि यति गाह्रो र यति कमजोर बनाउछ कि त्यो कल्पनासम्म गर्न सकिदैन । त्यसैले कोरोना हल्ला मात्रै हैन । यसबाट जोगिनुपर्छ । यसको असर, दुखाइ, पीडा कोभिडको आक्रमणमा परिसकेकोलाई मात्रै थाहा हुन्छ । आफूलाई नलागुन्जेलसम्म हल्लाको रुपमा मात्रै लिइने गरिन्छ । त्यसो नगरौं । यस भाइरसबाट सबैजना बचौं । सबैजना सुरक्षीत रहौं । यसलाई हेलचेक्राइँ नगर्नोस् भन्ने सबैलाई मेरो अनुरोध छ । कोरोनाको भ्याक्सिन सबैजनाले लगाउनुहोला । मैले त लगाएको थिइन त्यसैले गाह्रो बनायो ।

प्रस्तुति, सीता तुम्खेवा