अटिजम एक प्रकारको ‘न्युरो डेभलपमेन्ट डिसअर्डर’ हो। यसमा बालबालिकाहरु सामान्य बालबालिकासरह गतिबिधि देखाउन असक्षम हुन्छन् भने केही अस्वभाविक गतिविधि देखाउने गर्छन्। यसमा बच्चाको उमेरअनुसार हुनुपर्ने व्यावहारिक विकास, सामाजिक विकास अनि एकअर्कामा सञ्चार गर्ने क्षमताको विकास भएको पाइँदैन।
अटिजमका लक्षण
बालबालिका दुईदेखि तीन वर्षको हुँदा अटिजमका लक्षण तथा चिह्न निगरानी गरिनुपर्छ। सामान्यत: अटिजममा निम्नानुसारका लक्षण चिह्न तथा संकेत देखापर्छन्:
– साथीभाइलाई धकेल्ने, कुटपिट गर्ने
– सिधा आँखा जुधाएर गफ गर्न नसक्ने
– रोइरहने
– एउटै खेलौनासँग धेरैबेरसम्म खेलिरहने
– कुनै क्रियाकलाप गर्दा एकोहोरिने
– आफूलाई चोटपटक लागेको थाहा नपाउने
– पढाइलेखाइमा ध्यान केन्द्रित नहुने
– अरुलाई हानि पुर्याउने गतिविधि गर्ने
– बोलेर आफ्ना कुराहरु व्यक्त गर्न नसक्ने
– मनमा लागेको कुरा भन्न नसक्ने
– साथीभाइसँग दोहोरो सञ्चार गर्न नसक्ने
अटिजमको प्रतिशत कसरी कम गर्ने.?
अटिजम यही कारणले हुन्छ भन्ने यकिन तथ्य विज्ञहरुसँगै नै नरहे पनि जेनेटिकलाई प्रमुख कारण मान्नेहरु बहुमतमा छन्। यसको कुनै उपचारभन्दा पनि नानीहरू दुई वर्ष हुँदा अथवा उसमा शारीरिक क्रियाकलाप र सञ्चारका बारेमा अवलोकन र निदान नै यो समस्याको रोकथाम हो।
साथै समयमा नै गरिने मनोवैज्ञानिक परामर्श, सामजिक परामर्श, बोलीमा समस्या भएकाहरुलाई स्पिच थेरापी, कम्युनिकेसन यसको प्रतिशत कम गर्ने उत्तम उपाय हुन्। विशेषगरी दुई वर्षसम्मको हुँदा बच्चाको निम्न कुरामा विकास भएको छैन भने ख्याल गर्नुपर्छ:
– १८ महिनपछि पनि हिंड्न सक्दैन भने,
– दैनिक प्रयोग गर्ने सामान चलाउन सक्दैन भने,
– १८ महिना हुँदा पनि कम्तीमा ६ शब्द प्रयोग गर्न सक्दैन भने,
– २४ महिनाको हुँदा २ शब्द जोडेर हरफ बनाउन सक्दैन भने,
– बोली वा ठूलोले गर्ने कार्य नक्कल गर्दैन भने,
– सरल कुरा गर भन्दा पनि बुझ्दैन/गर्दैन भने,
– पहिला सिकेको कुरा बिर्सिंदै जान्छ भने,
तीन वर्षको हुँदा
– आफ्नो परिवारभन्दा बाहिरको मान्छेसँग घुलमिल गर्दैन भने,
– अरु बच्चाहरुसँग खेल्दैन भने,
– अरुसँग आँखा जुधाउन सक्दैन भने,
– बल फ्याँक्न सक्दैन वा उफ्रिन सक्दैन भने,
– २ खुट्टाले १-१ गरी सिंढी चढ्न सक्दैन भने,
– लेख्न सक्दैन भने,
– बोल्दा १ हरफमा ३ वटाभन्दा बढी शब्द प्रयोग गर्न सक्दैन भने,
– हरफ पूरा गर्न सक्दैन, बीचमा अड्किन्छ भने,
– बोली प्रस्ट छैन भने, बाहिरको मान्छेले बोली बुझ्दैनन भने,
– दिनहुँ गरिने सामान्य कार्य आफैं गर्न सक्दैन जस्तै: लुगा लगाउने, सुत्न जाने
– पहिले सिकेको कला बिर्सिंदै गयो भने।