March 24, 2025, Monday
२०८१ चैत्र १२
1:37:26 pm

नेपालमा पुस्तक छाप्नु ‘इङलिस फिसिङ’ जस्तै भइरहेको छ- टंक वनेम

सीता तुम्खेवा
२०८० कार्तिक ४

3.8K

मैवाखोला –२ ताप्लेजुङका टंक वनेम अवकाशप्राप्त व्रिटिस सेनाका लाहुरे हुन् । कथा, कविता, संस्मरण, मुन्धुम, इतिहास तथा खोज–अनुसन्धानमा समय व्यतित गरिरहेका टंकले साँघुरी र बुडासुब्बा (कविता सङ्ग्रह, २०६३), पेन्जिरि पेन्मिक्हाः –कविता सङ्ग्रह, २०६३), सङ्गिनको मुच्र्छना (कविता सङ्ग्रह, २०६९), सिन्धोलुङ फागो वनेम वंशावली र मुन्धुम (इतिहास खोज–अनुसन्धान, सङ्कलन तथा लेखन, २०७०), श्लेष्मान्तकको साम्माङ (कथा सङ्ग्रह, २०७१) र सुदुर विस्मृतिका विम्बहरू (संस्मरणसङ्ग्रह, २०७९) प्रकाशन गरेका छन् । उनको पछिल्लो कृति सुदुर विस्मृतिका विम्बहरूमाथि केन्द्रीत रहेर नेपाल मामिलाका लागि गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

तपाईँको छैटौँ कृति ‘सुदूर विस्मृतिका बिम्बहरू’ संस्मरणसंग्रह हालसालै प्रकाशनमा आएको छ, यसबारे आफ्ना कुरा राखिदिनुहोस् न ?
–चिन्तक जे (जिद्दू) कृष्णमूर्ति (धारणा सम्बन्धीको विचार) का अनुसार “विचार स्मृतिबाट जन्मन्छ । त्यसैले त्यो विगतको वस्तु हो” । अर्थात् “जहाँ जन्म्यो, हुक्र्यो, मानिसको अनुरागपूर्ण अमीट पहिचान, प्रारम्भिक मनोरचनाको स्वरूप र उसको व्यक्तित्वको प्रारुप त्यहीँ बन्ने गर्दछ । पहिलोपटक उसले स्पर्श गरेको माटोे, चलेको र खेलेको ठाउँको दोहोरो नाता हुन्छ ।” मानिसको जीवन भन्नु नै त्यहीँ स्मृति–शृङ्खलाको अर्को नाम हो । अथवा विचार निर्माण श्रृति,अध्ययन,हेराइ र भोगाईबाट निर्मित हुने गर्दछ । “सुदूर विस्मृतिका बिम्बहरू” संस्मरणसंग्रहमा तिनै पूर्वस्मृतिको जराबाट उम्रिएका सम्झनाकाविरुवाहरू उमारेको छु ।

विशेष मजन्मे हुर्केको समाज, त्यहाँको जीवन शैलीले सिकाएको ज्ञान, मुन्धुम, संस्कारसंस्कृति, याक्थुङ भाषा, लिपि, इतिहास, नेपालको राजनीति, जातिय विभेद, वैद्धिक ज्ञान अर्थात् महाभारतको युद्ध कथा, जडीबुटी, चराचुरुङगी साथै प्रकृतिले सिकाएका ज्ञानहरू, परदेशको भोगाई अथवा वाल्यकालदेखि यहाँसम्म भोगेका ३९ वटा अविस्मरणिय घटनाहरू समेटेर संस्मरणसंग्रह तयार गरेको छु ।

Advertisement

तपाइँ भूतपूर्व बेलायती सेना (लाहुरे) हुनुहुन्छ, यस संग्रहमा पनि सुदूरपूर्वदेखि लाहुरसम्मको स्मृतिहरू समेटिएका छन् । ती स्मृतिहरू कसरी ‘विस्मृति’ भए ?
–सेवानिवृत जीवन बिताएको पनि करिव ३ दशक हुन लागेको छ । ३ दशकमा जीवनले भोगेका धेरै कुराहरू धमिलो हुँदै जाँदो रहेछ । यस अर्थले पनि लाहुरे जीवनमा भोगेका अविस्मरणिय स्मृतिहरू ‘विस्मृति’ नै भए कि भन्ने लाग्छ ।

पहिलो सपना लाहुरे बन्ने थियो कि साहित्यकार ?
–यसै संस्मरणसंग्रहको एकशिर्षक ‘बाबुको आँखा र माख्रिङचोक् फूल’ भन्ने संस्मरणमा उल्लेख गरेको छु ।
सिक्किमको सुन्तला व्यापार गर्न जाँदा सिक्किम र दार्जिलिङतिरबाट माइला दाइले अनेक प्रकारका पुस्तक तथा चिटिक्क परेका प्रेमलहरी र आनन्द लहरी नामका पुस्तकहरू ल्याउनुभएको थियो । भेडा गोठालो गर्न जाँदा ती पुस्तकहरू मेरो लागि एकान्तका साथी बन्थे । ती पुस्तकहरू पढ्दा माया पिरती, मिलन, विछोड र रोमान्टिक शब्दहरूको रमाइलो मेलामा रमाइरहे झैँ लाग्थ्यो । सोल्टिनीहरूलाई चिठ्ठी लेख्ने रहर गर्दा गर्दै प्रेमलहरी, आनन्द लहरी, मुना मदन, मधुमालतीको कथा साथै अन्य पुस्तकहरू पढ्ने बानी बसेको थियो ।

गोठालो ज्यानले ज्यान घाँसै काट्यो खोलीको कायाँजाल
नमरी बाँचे कालले साँचे छुट्दैन मायाजाल ।
आज र मैले जालै र हानेँ घुमाउने धागीमा
खुकुरी भिर्छु जे परे तिर्छु प्यारीको लागिमा

जस्ता हरफहरूले मनभित्रभित्रै कानेखुशी गरे झैँ लाग्थ्यो । महत्व बुझेर वा नबुझेर साहित्यिक पुस्तकहरू पढ्ने बानी बस्दै गएपछि डायमनशम्शेर राणाको ‘सेतो बाघ’, बि.बि.एच.तामाङको उपन्यास ‘चुँडिएका कतिपय धागाहरू’ र अच्छा राई ‘रसिक’ को ‘लगन’ (उपन्यास) पनि खुब मेहनत लगाएर पढेको थिएँ । मा.वि. स्कुल पढ्न थालेपछि प्रकाश ‘कोविद’ का रुमानी साथै सामाजिक उपन्यासहरू (नोयो, देवता, अर्को जन्म,अनुराधा,हार–जित,टिस्टा–रंगीत आदि)पढ्न थालियो । ती उपन्यासहरूले द्रवित मात्र बनाउँदैन्थ्यो,कल्पनाको बाइपङखी घोडामा चडाएर पहाडले छेकिएको आकाशपारि पुर्‍याई दिने गर्दथ्यो ।
यी माथिका भोगाईर पढ्ने रहरहरूको अतित दोहोर्‍याउँदा वाल्यकालदेखि नै साहित्यमा मेरो रुचि थिएछ । तर ३ जना दाईहरू (जेठा,साइँला र काइँला) लाहुरे भईसक्नु भएको थियो । मतलव घरमा लाहुरे माहोल बाक्लिएको थियो । शायद तिनै परिस्थितिले गर्दा भविश्यमा देखिने सपना बीचैमा आधा चन्द्रमा बन्न पुग्यो । अथवा दाजुहरूको पदचाप पछ्याउँदै लाहुरे बन्न पुगेँ । तर त्यो बाँडिएको अर्धचन्द्रकारवाले सपना पूर्णिमाको जून बन्न सके जस्तो लाग्दैन।सम्भवतः लाहुरे नभएको भए आकाश सुहाउने जून बन्ने थियो कि ?

‘रिक्रुट जीवन’ बारे अनुभूति साझा गर्नुहोस् न ?
–इतिहासका पानाहरूमा पढेका वा सुनेका दन्त्यकथा झैँ लाग्ने बन्दुके जीवनशैली आफैँले पनि भोगिन्छ होला जस्तो लागेको थिएन । तर नियतिले त्यहीँ युद्ध मैदानमा ल्याएर छाडीदिएको थियो । सन् १९८२ सालको फाल्गुण महिना एउटा घुर्मैलो दिनमा हङकङस्थित काइटक एयरपोर्टबाट सेतो बस चढेर सेकोङको ट्रेनिङ क्याम्पमा आइपुगेको थिएँ । वनमा उडिहिँड्ने पुतली जस्तो स्वतन्त्र जीवनशैलीले पल्टने जीवनको शुरुवाति दिन शुरु गर्ननिकै गाह्रो भएको थियो ।

पल्टने काइदाले हिँड्डुल गर्नुपर्ने, बोल्नु पर्ने, खाने पिउने सुत्ने हरेक कुरा तोकेको समयमा गर्नु पर्दथ्यो । गुरुजीहरूको शासन, सिकाएको विषयमा भाका टिपेन भने पाइने सजाय, भौतिक तथा मानशिक दबावसहेर ‘रिक्रुट जीवन’बाट पार पाउन धैर्यता चाहिने । ज्यादै तीतो जुकाको औषधी खाएपछि खाना नरुच्दा र घरको सम्झनाले टाउकोको बोझ धार्नी झुन्डिएको तुलो झैँ लड्किदा किन लाहुरे भएछु झैँ लाग्थ्यो । अर्कोतिर पिटी, कवाज,पौडी र हतियार सम्बन्धी तालिमहरू भने एकपछि अर्को थपिन्दै जान्थ्यो ।

साहित्यमा रुचि भएर होकि ? नेमलेसहिलको टुप्पोमा टुप्लुक्क जून उदाउने गर्दथ्यो । सुत्नु अघि अघाउञ्जेल नेमलेसहिलको टुप्पोमा जूनफुलेको आकाश हेरेर घरको सम्झना मेटाउने गर्दथेँ । लाग्छ त्यहाँ कलम र बन्दुकको द्वन्द्व चलिरहेको थिएछ । नत्र किन लोभ्याउने थियो होला र ? शिरीषका फूलहरूले । किन झकझकाउथ्यो होलार ब्यारेकवरिपरि फुल्ने टाँकी र आरुका गुलाफी ओँठहरूले । अर्थात् ट्रेनिङ गर्न जाने ठाउँ स्वीताउको पाखामा बिरक्तिएर हल्लिरहे जस्तो देखिने नसप्रेका सल्लाका पोथ्रा पोथ्रीहरू देखेर रेक्रुटे मन पनि हल्लिरहन्थ्यो ।

जसोतसो ‘रिक्रुट जीवन’ बाट सिपाही बन्न सकियो । अर्थात् लडाइँ लड्न गएको एकजना योद्धा मरेर बाँचुञ्जेल ऊ सित्तै आफ्नो घरपरिवार पनि मरिरहनु पर्ने दुर्भाग्यबाट बचेर आएँ । यो अर्थले युद्ध गर्न गएको मान्छे भाग्यले बुद्ध भएर सेवानिवृत जीवन बिताइरहेको छु ।

लाहुरे र लडाइँ पर्यायवाची नै हुन । भनिन्छ– साहित्यिक मन हुनेहरू शब्दकै युद्ध गर्छन । सकेसम्म भौतिक युद्ध गर्नु हुन्न भन्ने नागरिकको पक्षमा हुन्छन । तपाई त दुवै हुनुहुन्छ । अहिले प्यालेस्टाइन र इजरायलबीच द्धन्द छ । यस्ता द्धन्द र युद्ध किन हुन्छन ? आफ्नो धरणा राख्नुहोस् न ?
-मेसोपोटामिया मानव सभ्यताको इतिहास अनुसार करिव १० हजार बर्षतिर हालको सिरिया,जोर्डन र इराकतिर प्राकृतिक स्रोत, मानिसलाई चाहिने अन्न, पशुप्राणी र जमिनको लागि लडाई भएको अनुमान गरिएको छ । सुमेरियन ढुङ्गामा खोपिएको रेर्कड अनुसार २ हजार पाँच सय बि.सि.इ.बर्ष अघि युद्ध भएको उल्लेख छ ।

युद्ध हुनुका अनेक कारणहरू छन् । वैदिक सनातनी युद्धकथाहरूमा धन प्राप्त गर्न र सुन्दरी महिलाहरूको लागि युद्ध गरिन्थ्यो भनिएको छ । महाभारतको युद्ध राज्य अथवा जमीन र धन प्राप्तिको लागि भएको थियो । पछिल्लो समय आफ्नो साम्राज्य फैलाउन, तेल, सुन बहुमूल्य हिरामोति र युरेयिम जम्मा गर्न, आकाश, जलमार्ग, धर्म तथा सिमानाको निहुँमा समेत अनेक युद्धहरू हुँदै आएका छन् ।

प्यालेस्टाइन र इजरायलबीच चलीरहेको द्धन्द्ध जो छ, यो द्धन्द्धको पृष्ठभूमि पहिल्याउन करिब ४ हजार बर्ष अघि पुग्नु पर्ने हुन्छ । यसबीचमा अनेक उतारचढावहरू भए । यसमा मूख्यत: जमीन र दोश्रोमा धर्म र धार्मिक स्थलसँग जोडिएको छ । यहुदीहरू राजा हेरोड द ग्रेटले निर्माण गरेको वाइलिङ वाल (वेस्र्टन वाल) को इतिहासलाई आधार मान्छन् । ईस्लाम धर्मअनुसार ईस्लाम धर्मका ईश्वर अल्लाहका दुत महमत पेगाम्बर वेस्र्टन वालसँगै जोडिएको ‘डोम अफ द रक’मा वायुपङ्खी घोडामा सवार भई त्यहिँ ठाउँबाट स्वर्गको बाटो लागेका थिए ।अर्कोतिर यहुदीहरूका राजा सोलोमोनले करिव १००० बर्ष पहिले फस्र्ट टेम्पल बनाई दिएका थिए भन्ने इतिहास पनि छ ।

इसाईका ईसा मसिहले बैठक राखेको,भोजन गरेको, अव्यवस्थित भेडा तथा पशुका वासस्थान हटाएको,त्यसैका निहुँमा पापिस्टहरूद्वारा क्रसमा टाँगेर मारिएको,पुनर्जन्म लिएको र स्वर्गवास प्रवेश गरेको र पुनः फर्केर आउने भनेर विश्वास गरिएको ईश्वरीय भूमि पनि यरुसलेम मानिन्छ ।एकै ठाउँमा अनेक किस्सा,कहानी,इतिहास र धार्मिक स्थलजोडिएको र मानिएको हुनाले तिनै पक्षवीच हजारौँ बर्षदेखि निरन्तर द्धन्द्ध चलीरहेको छ ।

कसको पक्षमा भन्ने जो सवाल छ, ओटोमन साम्राज्यको पतनपछि अर्थात् सन् १९१४ पछिको इतिहास अध्ययन गर्ने हो भने प्यालेस्टाइनीहरू मारमा परेका छन् । सन् १९४८ यता करिव ७८ प्रतिशतजमिन प्यालेस्टाइनीहरूले गुमाइसकेको अवस्था छ । सम्भवतः यस पल्टको युद्धमा गाजा स्ट्रिपको उत्तरी क्षेत्र पनि गुमाउने छन्।

विध्वंस र विनिर्माण हुने प्रक्रियामा लडाइँ मोहरको दुईपाटा जस्तो भएता पनि युद्ध गर्न लाग्ने खरबौँ धनराशी जीवनोपयोगी शिक्षा,स्वास्थ्य र मानवविकासको हितमा लगाउन सकिए मानव कल्याण हुने थियो । सम्भव भएसम्म भौतिक युद्ध गर्नु हुँदैन । भौतिक युद्धले कसैको कल्याण गर्दैन् ।

पुनः तपाईका कृतिबारे कुरा गरौँ, ६ वटा कृतिहरू प्रकाशन गरिसक्नुभएको छ, ‘नेपाली पुस्तक बजार’ बारे तपाईको अनुभव र बुझाइ कस्तो छ ?
‘नेपाली पुस्तक बजार’ कसरी चल्दै आएको छ ? कसरी पाठक र बजारसम्म पुग्न सकिन्छ ? अझैँसम्म बुझ्न सकेको छैन् । सम्भवतः नाम चलेका प्रकाशकमार्फत पुस्तक प्रकाशित नगरेर पनि होला कि ? बजारसम्म पुस्तक पठाए पनि पुस्तक पसलेहरूले पुस्तक राख्न नमान्ने, राखि हाले पनि के कति पुस्तक बिक्री भयो ? भनेर जानकारी दिन गाह्रो मान्ने जस्ताअनुभव गरेकोछु ।

अर्को शब्दमा पुस्तक छाप्ने भनेको ‘इङलिस फिसिङ’ जस्तै भइरहेको छ । दिनभरी फिसिङ गर्‍यो । चराचुरुङगी र कीरा फटेङग्राको धुन सुन्यो । केही माछाहरू फिसिङ हुकमा पार्‍यो। माछा राख्ने जालीमा लगाएर पानीमा डुबाएर राख्यो । झम्के साँझ भएपछि जालीमा भएका माछाहरूलाई त्यहिँ पोखरीमा छाडी राखेर घर फर्कियो । आउने दिनहरूमा पनि त्यसैको निरन्तरता दिँदै माछा मार्‍यो आनन्द लियो, बस् । अर्थात् नेपालमा पुस्तक किनेर पढ्ने ट्रेन ज्यादै थोरै छ भन्ने बुझिन्छ ।

नेपालमा कस्ता पुस्तकहरूले चर्चा पाउने रहेछन ? के चर्चामा आएका सबै पुस्तक उत्कृष्ट हुन्छन् ?
–चर्चामा आएका सबै पुस्तकहरू उत्कृष्ट हुन्छन् जस्तो लाग्दैन । केही त्यस्ता चर्चामा आएका पुस्तकहरू पढ्दा पढ्दै छाडिएको अनुभव गरेको छु । पुस्तक बिक्रिकै आधारमा सर्जकहरूको मूल्याङ्कन गरिने प्रवृति पनि गलत छ । सलमान रुस्दी र होर्खेज जस्ता साहित्यका विश्व हस्तिहरू पनि नोबेल पुरस्कार पाउने भाग्यमानी लेखक बनेनन् । तर, उनीहरूको साहित्यिक योगदान विश्वमै अविस्मरणीय रहेको छ । विश्वप्रसिद्ध लेखक ‘बाल्जाक’ आफ्नो समयमा गनिएका जानिएका चर्चित हस्ति थिए । त्यहीँ प्रसिद्धिकै सेरोफेरो उनको ‘मिस्ट्रिज अफ पेरिस’ भन्ने पुस्तक प्रकाशित भएको थियो । मानिसहरूले किताब भन्दा बाल्जाक ठूलो भन्ठाने तर त्यसो भएन ।

बरु युजिन सुईले लेखेको पुस्तक (अङ्ग्रेजी भाषासहित विभिन्न चौध भाषामा अनुवादित) धेरै पाठकहरूले किनेर पढे । तर त्यो किताब त्यति धेरै प्रसिद्धि पाउने पुस्तक नभई निम्न स्तरको थियो तर त्यहीँ उपन्यास धेरै बिक्यो । जसले इतिहास र मानिसको जटिलतावारे बुझेकै थिएन, त्यस्तै मान्छेले लेखेको कुरा हारालुछ भयो । विज्ञापनको पछि लाग्ने पाठकहरू देखेर बाल्जाक निराश भएका थिए । नेपालमा पनि राम्रा लेखकका हजार,पाँच सयप्रति किताब नबिक्ने बेला प्रकाश कोविद र युधीर थापाका पाँच,दश हजार पुस्तक बिक्री हुन्थे । उहिल्यैको परिस्थिति परिवर्तन भए पनि खासै ठूलो भिन्नता भए जस्तो लाग्दैन ।

नेपाली साहित्यमा ‘पहिचान साहित्य’ बारे आफ्नो धारणा राखिदिनुहोस् ?
–नेपाली साहित्यमा कस्तो साहित्य लेखनलाई ‘पहिचान साहित्य’ भन्ने कुरो प्रष्ट भईसकेको छैन् । यदाकदा भनिए पनि सबैले बुझ्ने पहिचान साहित्यको परिभाषा बुझाउन सकिए जस्तो लाग्दैन् । मतलव नलेखिएका मिथक कथा,कविता,आख्यानहरू ‘पहिचान साहित्य’ हुन कि ?

वासबाल्र्टनीय समाजको आर्थिक र सामाजिक जीवनमा परिवर्तन गर्न लेखिने साहित्य ‘पहिचान साहित्य’ हो । त्यहिँ भुक्तभोगीले लेखे मात्र ‘पहिचान साहित्य’ हुने हो या अरुले लेखे पनि ‘पहिचान साहित्य’ हुने हो स्पष्ट नभए जस्तो लाग्छ ।
मेरो विचारमा ती दुरदराजमा बस्ने सिमाङक्रित एवं आवाज वीहिनहरूको आवाज बनेर पहिचान साहित्य मार्फत उजागर गर्न सकिए उनीहरूको पहिचान बन्न सक्ने छ । अहिलेसम्म नेपालमा जागै रहेको जातिय विभेद, छाउपडी प्रथा, दाइजोले निम्त्याएका महिलाहरूको दुखान्त पीडाहरू पहिचान साहित्यमार्फत उजगार गरिनु सान्दर्भिक हुनेछ ।

‘डायस्पोरिक साहित्य’को अवस्था कस्तो छ ?
–डायस्पोरिक साहित्यकारहरूले मेरुदण्ड सहितको ‘ग्राण्ड स्टफ’ को जरा खोतलेर ‘पर्पल कलर’ र ‘थिङ्स फल अपार्ट’ जस्ता साहित्यिक सिर्जनाहरू गर्न नसकेका होलान् । ‘अ डायरी अफ योङ गर्ल’ र ‘लिसनिङ टु दि ग्रासहोपर्स’ जस्ता पुस्तक जन्माउन पनि बाँकि नै होला । ‘रेन्बो साइन बक्र्ले’ को पूर्व चिहानघारीमा उभेर नश्लीय विभेद विरुद्ध मुठ्ठी नउठाएका होलान् ।
आन्टोनियो ग्राम्सीको सबाल्टर्न विचार,जर्ज लुकाज र लेखक दार्शनिक तथा समाज बदल्न सक्रिय सामाजिक अभियन्ता अमेरिकी विद्वान नोअम चोम्स्कीका गम्भीर खोज जस्ता कार्यमा लाग्ने आँट गर्दै होलान् । विलियम सारोयान र मोपासँका कथाहरू जस्तो कथा र प्रसिद्ध फ्रान्सेली साहित्यकार अल्वेयर कामुको जस्तो आख्यान लेख्ने यात्रामा अघि बढीरहेका होलान् । त्यसो नभए पहिलो विश्व युद्धको ‘इपर’ युद्धमा मारिएका बीर योद्धाहरूको सम्झनामा जोन म्याक्रेले लेखेको ‘इन फ्लाण्डर्स फिल्डस’ जस्ता विश्व प्रसिद्ध कविताहरूको ब्याड राख्न लोहसे फाँड्ने काममा जुटिरहेका हुन सक्छन् ।

अर्थात् नेपाली डायस्पोरिक साहित्यकारहरूले केही गरेका छैनन् भन्दा पनि नेपाली कला,साहित्य र संगीतको माध्यमबाट नेपाली हुनुको साइनो जोड्ने प्रयास गरिरहेका छन् । जीवन र मृत्युबीच भोगिएका अनेक अनुभव र अनुभूतिहरू पस्किरहेका छन् । आफ्नो जन्मभूमि, इष्टमित्र र देश छाडेर जाँदा भोग्नु परेका पीडाहरू साहित्यिक सिर्जना मार्फत उजगार गरिरहेका छन्। घर छाडेर परदेश लाग्दा स्वर्गको कल्पना गरेपनि परदेश स्वर्ग जस्तो नहुँदो रहेछ भन्ने साहित्यिक शन्देश दिईरहेका छन् । अथवा मृत्युसँग लडाइँ लड्दाको दुःखान्त कहानी र परदेशी भोगाइका सवाईहरू सुनाईरहेका छन् ।

आर्थिक उन्नतिको लागि परदेश गएपनि त्यहाँबाट प्राप्त हुने ज्ञान साथै आत्मनिर्भरताको लागि विभिन्न शिप र शिक्षासँगै लिएर आउने गरेका छन् । साहित्यको सवालमा परदेशमा बस्ने स्रष्टाहरूले युद्धसाहित्य सिद्धान्त, नवचेतनाग्रह, डायस्पोरीक साहित्य साथै डायस्पोरीक चिन्तनबाट जीवन र जगतलाई हेर्ने दृष्टिकोणवारे आफ्नो विचारहरू पाठकहरू माझ बहस चलाईरहेका छन् । जलवायु परिवर्तनले हामी आम मानवलाई मात्र नभएर चराचर जगतलाई पारीरहेको असरवारे कति संवेदनशिल हुनु पर्दछ भन्नेवारे सचेत भईरहेका छन् । विभिन्न देशमा बसोबास गर्ने नेपालीहरू मार्फत नेपाली डायस्पोरिक साहित्य बढो गज्जवले फस्टाईरहेको छ ।

अन्त्यमा, अलिक फरक प्रसंगमा कुरा गरौं,तपाइँ पक्कै पनि सुब्बा, सुभाङ्गी परिवारको हुनुहुन्थ्यो होला या नजिकै थिए होलान्, उनीहरूको शासनलाई कसरी मुल्याकन गर्नुहुन्छ?

–हो,म पनि सुभा (सुब्बा) परिवारकै सदस्य थिएँ । तर म जन्मेको पछिल्लो बर्षभूमिसुधार लागू भएपछि अर्थात् भूमि सम्बन्धी नियम,२०२१ राज्यको कानून बनेपछि सुब्बा,सुभाङ्गी परिवारको जीवनशैली इतिहासमा पढे जस्तो थिएन ।
त्यसैले सुब्बाहरूको चमकधमक खासै भेटिनँभन्दा पनि हुन्छ । केही रहलपहल मान सम्मान भने छँदैथियो । रैती तथा गाउँहरूले सुब्बाहरूलाई मान सम्मान र इज्यत नै गर्दथे । विशेष नापीको सवाल थियो । सुब्बाले धूरीपुर्जी अर्थात् भोग चलन गरेको जग्गाको रसिद लेखिदिएन भने जसले जोत भोग गरे पनि उसको खेतबारी उसको नाउँमा नापी हुँदैन थियो ।
शायद त्यहिँ भएर पनि होला कि ? लिम्बुवान क्षेत्रमा सबैतिर नापी भईसकेपछि अन्तिममा ताप्लेजुङ र संखुवासभा जिल्लामा नापी भएको हुनाले उहिल्यैका किपटिया सुब्बाहरूकोजस्तो नभए पनि केही रहलपहल अवशेषहरू बाँकी नै थियो ।

सिकारीहरूले एउटा मृग मारेपनि सुब्बाको नाउँमा सिसार भाग लाग्ने गर्दथ्यो । दशैँको अवसरमा मार काट्न, बाटोघाटो सफा गर्न, बचत कोष खडा गर्न, खोलामा फड्के वा काठको पुल बनाउन,गाउँलेहरूको सानो तिनो झगडा मिलाउन, खेतीको सिजनमा कुलो खन्न, स्कुल भवन बनाउन, खेल मैदान निर्माण गर्ने जस्ता सामाजिक कार्यमा गाउँलेहरूलाई झार्लाङगी/झारा (पारिश्रमिकबिनाको सामाजिक काम वा सहयोग) लगाउने काम सुब्बा र पञ्चहरूको मिलेमतोमा हुने गर्दथ्यो ।

लिम्बुवानको इतिहास अनुसार बि.सं. १८३५ सालदेखि लिम्बुवानमा पञ्चखत (ज्यान सजाय हुने, दामल हुने, मुडिने, घटी जातमा मिलाई खोपिने र जात पतित हुने) बाहेकका अधिकार पाएका सुभा (सुब्बा) हरूले स्थानिय शासन चलाएका थिए । सुब्बा पद दिएपछि काठमाडौँको केन्द्र सरकारले दशैँ मान्न लगाएको थियो । नमाने दण्ड सजाय हुन्थ्यो । सरकार वा राजाको आज्ञा पालन गर्न उनीहरूले दशैँमा राँगो वा बोका काटेर दशैँ मनाउन थालेका थिए । सानोमा हाम्रो हातको पञ्जा र खुट्टाको पैताला मार काटेको रगतमा चोपेर मूलघरको ढोकामाथि रगतको छाप लगाउने गरिन्थ्यो ।बली दिएको बोकाको रगत हातको औँला र साना नानीहरूको खुट्टाको छाप मूल ढोकामाथि किन छापिएका होलान् भन्ने कसैले प्रश्न पनि उठाउँदैन्थ्यो । मानि लिउँ कि त्यो दशैँको सामान्य नियम हो ।

धेरै बर्ष पछि मात्र सुब्बाहरू पनि अमाली सुब्बा (न्याय सम्पादन गर्ने अड्डा भएको अथवा अमालको अधिकार पाएकासुब्बा),फुटि सुब्बा (मूख्य सुब्बाबाट भैयादहरूको सरकारमा किपटभूमि र केही रकम सरकारमा चढाई फुटिसुब्बा बनेको सुब्बा,राईगिरी हुने व्यवस्था),र ठेङग्रे सुब्बा (रैती बिनाको एक्लो सुब्बा) । हरू हुँदा रहेछन भन्ने थाहा भयो ।

लिम्बुवान क्षेत्रमा सुब्बाहरूले चलाएको शासन व्यवस्थामा केही राम्रा पक्षहरू पनि थिए । सानातिना मुद्धा माम्ला सुब्बाहरूले गाउँमै मिलाउने गर्दथे । अर्थात् जिल्लामा पुगेर मिलाउने मुद्धा गाउँमै मिलाउँदा समय र खर्चको जोहो हुने गर्दथ्यो । ताप्लेजुङको सवालमाबि.सं. २०४३ साल अघि अर्थात् नापी नभइञ्जेलसम्म खर्केलीहरूको अधिनमा बनजङगलको हेरचाह हुने गर्दथ्यो । किपट क्षेत्रभित्र खेत, बारी आदि उत्पादनशील भूमिको साथै खर्क,डाँडाकाँडा,बाँझो वा पर्ती, भीरपहरा, बनजङ्गल, खोल्साखोल्सी, पोखरी आदि सबै पर्दथ्यो ।

किपटिया सुब्बाहरूले बनजङ्गलको संरक्षण गर्नुका साथै बनक्षेत्रभित्र भएका खानी,बनजङ्गल,पशुपक्षीको संरक्षण र उपभोग गर्ने अधिकार समेत पाउथे । बनजङ्गलको सुरक्षा गर्न सरकारलाई सहयोग गर्नु किपटिया सुब्बाहरूको महत्वपूर्ण कर्तव्य हुन्थ्यो । त्यस समय पूर्वी नेपाल अथवा पल्लो किरात लिम्बुवान क्षेत्रमा तीन किसिम (निजी बन,सनदिया बन र रानीबन) का बनजङ्गलहरू हुने गर्दथ्यो । प्रतिबन्धित क्षेत्रमा रुख काट्नेहरूलाई कडा दण्ड गरिने व्यवस्था भएको हुनाले बनजङ्गल सुरक्षित हुने गर्दथ्यो । सरकारबाट रुक्का प्राप्त गरी बनजङ्गल पाल्न अधिकार दिइएका बनक्षेत्रभित्र कसैलाई काँचा रुख काट्न,ढडेलो लगाउन,खोरिया वा लोहसे फाँड्न,सिकार खेल्न एवं लिसोपासो थाप्न समेत दिइदैन्थ्यो । घर कटेरा तथा पाटी पौवा निर्माण गर्न साथै काठेसाँघु थाप्नको लागि काँचा रुख आवश्यक परेमा तालुकदार र रैतीको सल्लाहले आवश्यक मात्रामा प्रयोग गर्न सकिने व्यवस्था भने थियो । नापी भएपछि सुब्बाहरूले संरक्षण गर्दै आएको बनजङगल सरकारी बन भयो । लेकाली पातलहरूमा बन सुरक्षाको लागि बनपालेहरू खटाइएन । किपटिया सुब्बाहरूलाई बनजङ्गल हेर्ने साथै किपटको अधिकारबाट समेत वञ्चित गरियो ।

किपटिया सुब्बाहरूलाई किपटको अधिकारबाट वञ्चित गरिएपछि प्राकृतिक बनविनास हुने क्रम सुरु भएको थियो/मासिने क्रम जारी नै छ । बनजङ्गल मासिएपछि गाई–भैँसी गोठ पाल्ने चलन मात्र मासिएको छैन । भैँसीले आहाल बस्ने ठाउँहरू पनि मासिएका छन । अर्थात् पानीको स्रोत पहाडी क्षेत्रको बनजङगलमासिदै गएकोछ । सुब्बाहरूको केही कमी कमजोरी पक्षहरू पनि थिए । तत्कालीन सुब्बाहरूको चमकधमक आकाशिएको बेला । सुब्बाहरूले जेठाकी पोशाकी व्यवस्था लागू गरेका थिए । डोके भाइ(सुब्बाका अंसियार भाइ) भन्दा अमाली सुब्बाहरूले राम्रा राम्रा खेतबारीहरू रोजेर लिने गर्दथे । उनीहरूको सान मान देखेर फुटी सुब्बा र ठेङग्रे सुब्बा जस्ता सुब्बाहरूमा विभाजन भई लिम्बूहरूको शक्ति कमजोर हुँदै गयो । जसले गर्दा राज्यले लिम्बूहरूको जल जमीन साथै भाषा,लिपि,धर्म तथा संस्कार संस्कृतिमा सजिलैसँग आफ्नो स्वार्थ लाद्ेर फाइदा लिन पायो । किपट जग्गाबाट बढ लिन पाइने भएको हुनाले सुब्बाहरूलेकिपट जग्गाबाट बढ लिँदै ऐश आराम र सुब्बाको तुजुक देखाउँने हुँदा अन्य विषयमा सोँच्नेमौका पाएनन् ।