‘मैले छोएको पानी चल्दैन’ गीतबाट विभेदविरुद्ध क्रान्ति सुरु गरेका यशकुमारका सयौं गीत छन् । ‘‘तिर्खा’, ‘ऋजन’, ‘तिमी’, ‘नरुने आँखाहरु’, ‘रेन’ लगायतका सुपरहिट गीति एल्बम निकालेका उनले अधिंकाश गीतहरुको रचना र संगीत आफैले गर्छन् । यशकुमारको प्रतिभा र क्षमता गीतसंगीतमा मात्रै सिमित छैन । अभिनयमा पनि उत्तिकै अब्बल उनले ‘बाटोमुनीको फूल’, ‘छिरिङ’, लगायतका सर्वाधिक हिट चलचित्रको निर्माण र अभिनय पनि गरेका छन् । गीत संगीत र कला क्षेत्रका ‘अल इन वान’ प्याकेज हुन यशकुमार । पछिल्लो समय उनी चलचित्र निर्देशनमा व्यस्त छन् । निर्देशनकै शिलशिलमा हाल अमेरिका पुगेका यशकुमारसँग नेपाल मामिलाका लागि सीता तुम्खेवाले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
अमेरिकाको बसाई कस्तो हुदैछ नि ? कार्यक्रमतिर व्यस्त हुनुन्छ कि ?
बसाइ त एकदमै ठिक छ । कार्यक्रमहरू भन्दा पनि म यहाँ फिल्म सुटिङको लागि आएको थिएँ । मैले पछिल्लो समय अमेरिका रहँदै आउभएका भुटानवासी नेपालीहरुको कथामा आधारित चलचित्रको निर्देशन गर्ने जिम्मेवारी पाएको छु । समग्रमा भुटान, नेपाल र अमेरिका ३ देशको बसाई र जीवनको भोगाइको कथा छ यस चलचित्रमा । त्यसकै शिलशिलामा अमेरिका आएको हुँ । तर म आइपुग्ने बित्तिकै हिउँ वर्षातका कारण चिसो मौसम सुरु भयो, जसले गर्दा शुटिङ गर्न गाह्रो भैरहेको छ । अब हेरौं सकेसम्म चाडै काम सकेर फर्किने कोसिस गर्नेछु ।
तपाइँले नेपालमा पनि नयाँ चलचित्रमा निर्देशन गर्ने समाचार आइरहेका छन्, चलचित्रको नाम भन्न मिल्छ ? पत्रकार सम्मेलनमा तपाइको नाम किन सार्वजनिक गरिएन ?
अहिलेलाई चलचित्रको नाम अहिलेलाई गोप्य नै छ । केहि समयपछि पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने छौं । नाम सार्वजनिकको प्रसंगमा भने म आफैले मेरो नाम सार्वजनिक नगर्न भनेको हुँ । आन्तरिक चलचित्र टिम सबैलाई जानकारी छ । प्रेसमिट गरेपछि सार्वजनिक गर्ने कुरा थियो तर एकजना साथिले कुरा खुस्काउनुभएछ ।
निर्देशनका लागि नेपाल आउनुहुन्छ कि अमेरिकामा सुटिङ हुने हो ?
मैले निर्देशन गर्न लागेको चलचित्रको शुटिङ नेपालमै हुन्छ । पोखरा, मुस्ताङ, काठमाडौंको रमणीय दृश्यहरुमा खिच्नुपर्ने भएको हुँदा मैले नेपाल आउनैपर्छ । अघि पनि भनिसकँे म चाडोभन्दा चाडो नेपाल आउनेछु ।
गीतमार्फत आन्दोलन गर्नुभयो, यो आफुभित्रै कै अनुभव थियो कि समाजप्रतिको बुझाइ हो ?
यो मेरो मात्र हैन, सारा नेपालीहरुको अनुभव र बुझाई हो । विभेद गलत, अपराध हो भन्ने कुरा सबैलाई थाहा छ । तर यसविरुद्धको बोल्छ ? कसरी बोल्छ ? कसले गलत हो भनेर औल्याउन सक्छ भन्ने कुरा मात्रै फरक हो । मैले आफ्नो सिर्जनामार्फत विभेद गलत हो भन्ने कोसिस गरेँ । सम्झाउने कोसिस गरेँ ।
गीतमार्फत धेरै खालका क्रान्ति भएका छन्, यहाँको गीतलाई पनि त्यो क्रान्तिकारिता भित्र राख्न सकिएला ?
अवश्य पनि । कुनैपनि देशमा क्रान्तिबिना आमूल परिवर्तन आएको छैन । समस्याको समाधान भएका छैनन् । क्रान्तिका विभिन्न स्वरुप हुन्छन्, जसमध्ये गीतसंगीत पनि एक हो । र, यो जातीय विभेद एउटा यस्तो कुरीति र समस्या हो कि जसलाई बारम्बार क्रान्ति गरे पनि पूर्ण रुपमा अन्त्य हुन सकिरहेको छैन । जरैदेखि विभेद अन्त्य गर्नलाई सबैजनाको साथ चाहिन्छ । यस विभेदविरुद्धसबैजनाको साथ छैन । जसरी कुनै एउटा पार्टी या सरकारको बिरोध गर्न सडकमा लामबद्ध भई एउटै आवाज उठाउछन् त्यसरी नै विभेदविरुद्धएक भएनन् । कतिपय त विभेद हुनुपर्छ भन्ने बैचारिक रोगीहरुको खेमा पनि छन् । त्यसकारण मैले पनि सिर्जनामार्फत क्रान्ति गरेकै हुँ । मेरो गीत ‘मैले छोएको पानी चल्दैन’ सारा नेपालीको कानसम्म पुगेको र मनमस्तिष्कमा बस्न सफल भएको गीत हो, जसले कथित दलितहरुलाई जुरुक्कै उचालेको थियो भने कथित उच्च जातिहरुलाई सोचमग्न बनाएको थियो । जुन, क्रान्ती नै हो ।
ग्लुमी सन्डे जस्तो प्रेम क्रान्ति, बफेल्लो सोल्जरजस्तो वर्ग क्रान्ति भएका गीत जस्तै गीत नेपालमा बने ?
अवश्य बने । जस्तैः गाउँगाउँबाट उठ, म आफ्नै आँगनमा इनार बनाउछु, मैले छोएको पानी चल्दैन । यी गीतहरु क्रान्तिकारी गीत हुन् । जातीय विभेद परिवर्तनका लागि यी गीतहरुले ठूलो भूमिका खेलेको छ । ती क्रान्तिको आवाजलाई स्वीकारेर नै अहिले नेपालीहरुको सोच सकारात्मक दिशातर्फ जाँदैछ जस्तो लाग्छ मलाई । त्यसैले यी गीतहरु नेपालमा वर्ग क्रान्तिका लागि मानांक बनेका गीत हुन् भनेर निर्धक्कसँग भन्न सक्छु ।
पछिल्लो समय तपाइका रिमेक गरिएका गीतहरू ट्रेन्डिङमा आउछन्, नयाँ सिर्जना नआएका हुन् कि पुराना गीतको तुलनामा दर्शकले नरुचाएका हुन् ?
हजुर, सागर लम्साल भाइले २० वर्ष पुगेको उपलक्ष्यमा मेरो पुरो गीत ‘तिम्रै मन बदलिएछ’लाई रिमेक गर्रौ न भन्नुभए पछि हामीले रिमेक ग¥यौं, जुन दर्शकले अत्यन्तै मन पराईदिनुभयो । हुन त यो गीतलाई पहिले पनि दर्शकले अत्यन्तै रुचाइदिनुभएको गीत हो । मन टुक्रिने बहाना अनेक हुन सक्छन् तर टुक्रिने मन त सबैको एउटै हो, पीडा सबैलाई उस्तै नै हुन्छ । २० वर्ष अघि बुबाले भोगेको प्रेमका अनुभव र २० वर्षपछि छोराले भोगेको प्रेमको अनुभव उस्तै नै हो भन्ने लागेर ल ठीक छ भनेर हामीले त्यस गीतलाई रिमेक ग¥यौं । धेरै जनाले मन पराइदिनुभयो पनि । र, अब चाँडै नै मेरो नयाँ सिर्जनाहरु पनि रिलिज हुने क्रममा छन् ।
धेरैजना कलाकार अमेरिका पलायन हुनुभएको छ, तपाइको योजना के छ ?
अहिलेलाई त्यस्तो खालको मेरो केहि योजना छैन । कामको शिलशिलामा ओहोरदोहोर गरिरहेको छु । तर समयले मलाई कुन मोडमा कसरी र कुन बाटो दोहो¥याउँछ, त्यो भने थाहा छैन । किनभने म सर्वप्रथम त म परिवारप्रति जिम्मेवार व्यक्ति हुँ, त्यसपछि मात्रै सर्जक ।
पछिल्लो समय धेरै रियालिटी शोहरु भइरहेका छन्, कतिपय तपाइँभन्दा धेरै जुनियर अझ भनौं तपाइँकै गीत सुनेर हुर्किएका गायकगायिकाहरु पनि निर्णायक भूमिकामा देखिदा तपाईलाई देखिएन नि ? खास कारण छन् ?
मेरो नजरमा ३ प्रकारले निर्णायकहरुको छनौट गरिन्छ । सर्वप्रथम त पहुँच हो । यदि व्यक्तिगत पहुँच छ भने उसको योगदानलाई हेरिदैन । कसको सम्बन्ध राम्रो छ, को कोसँग नजिक छ त्यो हेरेर निर्णायकको कुर्सीमा राखिन्छ । दोस्रो को बढी चर्चामा छ ? चर्चित हुनु र विशेषज्ञता हासिल गरेको हुनुमा आकाश जमीनको फरक छ । जो आफै अपरिपक्क छ, खाली व्यक्तिगत पहुँच र चर्चाको हिसावले मात्रै निर्णायकको जिम्मेवारी निभाइरहेको छ भने उसले कस्तो कलाकार उत्पादन गर्ला त ? तेस्रो चाहिँ वास्तवमै योगदान र विशेषज्ञताको कदर गरी छनौट गरेको देख्छु तर एकदमै न्युन संख्यामा, जुन पर्याप्त छैन ।
कुनैपनी कार्यक्रममा आयोजकहरुले गरेका बेइमानीहरूको अनुभव छ ?
अहो ! यसबारे त साह्रै धेरै अनुभव छ । देश या विदेश आयोजकहरु भागेकादेखि लिएर अलपत्र पारेका कति धेरै अनुभवहरु छन् । एकपटक कतारमा त राजेश हमाल दाइ र म भएर अलपत्र परेको अर्को टिमलाई उद्धार गरेका थिर्यौ । कार्यक्रम जुधेर सफल नभएपछि आयोजकहरु भागेपछि हामीले फेरी अलग्गै कार्यक्रम गरेर ती अलपत्र परेका कलाकारहरुलाई उद्धार गरेर ल्याएका छौं । कुनै चाडपर्व या केहि अवसर पारेर नेपाली कलाकारहरु लैजाने चलन थियो । त्यतिबेला कतार पुरै कलाकारले भरिन्थ्यो । त्यतिबेला अफ्ठयारामा परेका अर्का समुहका कलाकारहरुलाई हाम्रो कार्यक्रम सकिसकेको पनि दोहो¥याएर अर्को च्यारिटी कार्यक्रम गरेर उद्धार गरेका हौं ।
अन्त्यमा केहि ?
तपाइँ र तपाइँको टिमलाई धेरैधेरै धन्यवाद । मेरा नयाँ सिर्जनाहरु रिलिज हुने क्रममा छन् । यहाँहरुको साथ अनि मायाको खाँचो छ ।