October 4, 2024, Friday
२०८१ आश्विन १८
1:37:26 pm

“कृतिले आफै लय लिनु भन्दा पनि अधिकांश चर्चाहरू सुनियोजित रुपमै गराइएका देखिन्छन्”-सुमिना

सीता तुम्खेवा
२०८० पुष २९

4.8K

अपराजिता पारिजातका सम्पादक तथा केही अखबार, अनलाइनमा नियमित लेख्ने सुमिना प्रगतिशील लेखक तथा साहित्यकारको रूपमा परिचित छिन् । थुप्रै फुटकर लेख, रचना प्रकाशन गर्दै आएकी सुमिनाको पहिलो कवितासङ्ग्रह ‘बागी स्त्रीको आत्मकथा ‘केही समय अगाडि बजारमा आएको थियो । इन्डिगो इङ्क्ले प्रकाशन गरेको बागी स्त्रीको आत्मकथा विशेषगरी माक्र्सवादको वैचारिकीमा आधारित रहेको बताइन्छ । ‘समाजवादी यथार्थवादलाई पकड्नु उहाँका कविताको मूल विशेषता हो ।’, लेखक, कवि तथा राजनीतिक विश्लेषक आहुति बताउछन् ।

उनै बागी लेखक, कवि तथा विमर्शकार सुमिनासँग नेपाल मामिलाका लागि सीता तुम्खेवाले गरेको ६ प्रश्न यस्तो छः

‘बागी स्त्रीको आत्मकथा’ को कहानी कसरी सुरुवात भयो?
– कतै आफैले भोगेको भोगाइ र रोजेको यात्राका जटिलताहरू, कतै सामाजिक सरोकार र समाजसँगको अन्तरघुलनले मस्तिष्कमा एउटा त्यस्तो ‘बागी स्त्री’को चित्र निर्माण भयो । जो जटिल जटिल चुनौतीका बाबजुद पनि थकित हुँदै फेरि उत्साह सङ्गाल्दै समाजका अनेक अवरोधहरूले आहत भएर निराश हुँदै फेरि हिम्मत सँगाल्दै विद्रोह परिवर्तन र क्रान्तिको बाटोमा अविचलित उभिने दौडने हिड्ने घर्षने हिम्मत गर्छ । त्यस्तो चित्रलाई न्याय गर्ने शब्दभावहरूले निकै लामो समय मस्तिष्कभरी उथलपुथल मच्याएपछि ‘बागी स्त्रीको आत्मकथा’ नामक काव्य निर्माण भएको हो । यही कविताको शीर्षक नै अन्ततः संग्रहकै नाम बन्यो ।

Advertisement

यस कवितासंग्रह अहिले चर्चामा छ, प्रतिक्रिया कस्तो पाइरहनुभएको छ ?
– प्रतिक्रियाहरू अपेक्षित नै छन् । बिस्तारै पाठकहरूले देशैभरबाट पठन अनुभूतिहरू सेयर गरिरहनुभएको छ । लेखकहरूको पक्षधरता भएजस्तै पाठकहरूको पनि पक्षधरता हुने नै भयो । एक खाले पाठकहरूले उर्जाशिल प्रतिक्रियासहित प्रोत्साहन र हौसला प्रदान गरिरहनुभएको छ ।

तपाइँ प्रगतिशील कवि तथा लेखक हुनुहुन्छ, युवा पुस्ताका साहित्यकार तथा लेखकहरूलाई कसरी लिनुहुन्छ ?
– खासमा युवा उमेरले भन्दा पनि सोचले चिन्तनले निर्धारण गर्ने कुरा रहेछ । मेरो विचारमा युवा त्यही हो जसले आजको समयको ढुकढुकी नाप्न सकिरहेको छ । आफूलाई कुनै ठोस जडवत बस्तु नबनाएर परिवर्तनको बहावसँगै हिड्न सकिरहेको छ । कतिपय उमेरले वृद्ध भएपनि साहित्य सिर्जनामा नौजवान नै हुनुहुन्छ । जसका सृजनाहरूमा युगचेत भेटिन्छ । नयाँ समयसँगको अंकमाल भेटिन्छ । कतिपय मेरा समकालीन युवा साहित्यकारहरू समयको पदचापलाई पच्छाइरहनुभएको छ भने कतिपय नयाँ समयको उतारचढावसँग बेखबर युगचेतको दातित्वबोधबाट मुखर भएर पुरातन समयसँगको मोहजालमा जकडिएर उतै कतै अल्झिरहनुभएको छ , फसिरहनुभएको छ ।

कतिपय अवस्थामा युवा पुस्ताका विचारमा विरोधाभास भेटिने गर्छ भन्छन् नि, सत्य हो ?

– युवा सिक्ने र सिकेको कुरालाई सँगसँगै अभ्यासमा ल्याउने प्रयत्न गरिरहेको हुन्छ । ज्ञान र जीवन अनुभवको हिसावले ऊ सिकारु नै हुन्छ । त्यसो हुँदा कहिलेकाही विचारमा विरोधाभास देखिनु स्वभाविक हो । मुख्य कुरा यो हो कि ऊ समयसँगै कति दृढ स्पस्ट र पोख्त हुँदै जान्छ ।

साहित्य तथा लेखनमा युवाहरूको उपस्थिति लोभलाग्दो छ, उनीहरूले साहित्यमा नविनतम प्रयोग पनि अभ्यासमा ल्याएका छन् कि, पुरानै विरासत धान्ने काम मात्रै भएको छ ?
– मैले माथी पनि युवाको परिभाषा परिभाषित गरेँ । सबै युवा एकैप्रकारका हुँदैनन् । पछिल्लो समय साहित्यमा युवाहरूको आकर्षण लोभलाग्दो छ । अझ त्यसमा पनि कविता विधा निकै रुचाइएको छ । मलाई यो अत्यन्तै सकारात्मक र लोभलाग्दो कुरा नै लागेको छ । समाजमा केही नगर्ने मान्छेको भेला हुनुभन्दा केही गर्न प्रयत्न गर्ने हुटहुटी युवामा देखिनु खुशी र उत्साहजनक कुरा हो । त्यसलाई कतिपय अग्रज साहित्यकारहरूले ‘बाढी आएको बेला थुप्रै खहरेहरू जन्मिए जस्तो’ भनेर अथ्र्याएको पनि सुनिन्छ । बास्तवमा यो बाढीले निम्त्याएको खहरेको भेल हो या साँच्चिकै समुद्रसम्मको यात्रा तय गर्ने नदिको लय हो त्यो समयले नै परीक्षा लेला । यो स्वयं ममा पनि लागू हुन्छ । म आफैआई पनि त्यही परिक्षणको कसिमा उभ्याउन रुचाउछु । हेरौं मेरो यात्राले कतिको लय लिन्छ कतिको गति लिन्छ । र, यो कुरा नविनतम प्रयोग र पुरानो बिरासतको । यसमा केही नविनतम प्रयोगका छनक पनि देखिन्छ, कतिपयले पुरानै चेन ब्रेक गर्न नसकिरहेको अवस्था छ ।

पछिल्लो समय बारम्बार एउटा प्रश्न उठिरहेको छ र यसको कतै शुष्म बहस पनि सुनिन्छ । तपाईं त आफै पनि बजारवादी अवधारणाको बिरोधी हुनुहुन्छ, त्यो तपाईको कवितामा पनि भेटिन्छ । तर, अहिले लेखकहरू बजारको भागडौडमा बढी नै देखिन्छन् । तपाई चैँ के गर्दै हुनुहुन्छ ?
– यो अहिलेमात्रै होइन पहिलेदेखि नै थोरैधेरै चलिरहेकै हो । कृतिले आफै लय लिनु भन्दा पनि अधिकांश चर्चाहरू सुनियोजित रुपमै गराइएका देखिन्छन् । सृजना भन्दा पनि सर्जक कति शक्तिमा छ त्यसले कम या बेसी प्रचारमा खास अर्थ राखे जस्तो देखिन्छ । कतै स्थापित र मान्य भएका चिनेजानेका समिक्षकहरूले अब्बल भनिदिएकै र सिफारिस गरिदिएकै आधारमा कृतिको मुल्यांकन हुने र बढी बिक्री हुनेजस्तो अवस्था पनि निम्तिएको देखिन्छ । बास्तवमा यस्तो प्रवृत्तिले एकातर्फ एकाध सर्जकलाई लाभ गरे पनि समग्र लेखन र साहित्यको स्तरियतालाई निकै नै नोक्सान गरिरहेको हुन्छ भने अर्कोतर्फ यसले हरकोही आफ्नो कृतिलाई जवरजस्ती स्थापित गर्न बजारको म्याराथुनमा कुद्नुपर्ने दुखद अवस्थाको सृजना गरिरहेको छ । पाठक प्रतिक्रियाको रेस्पोन्स गर्नु र सामान्यतया जवाफदेहीता र जानकारी गराउनु सम्म लेखकको नैतिक जिम्मेवारी पनि हो । यो गर्नैपर्छ । बाँकी सुनियोजित प्रचारबाजी फगत कुरा हो । कहिलेकाही कमसल चिजको पनि व्यापक प्रचार गरिन्छ मलाई प्रचारमा विश्वास छैन । मलाई के लाग्छ भने लेखकलाई आफ्नो लेखकीय क्षमता र सृजनामा विश्वास हुनुपर्छ । यदि ति पढ्न लायक रहेछन् भने अवश्य पढिने छन् । त्यसो त मेरा कविताहरू वैचारिक कविता पनि हुन्, तिनले आजको आजै सनसनी मच्चाउने कुरा हुँदैन । विचार स्थापित हुन समय लाग्छ, र यो हरहरी दन्किएर निभेजस्तो क्षणिक नभएर दिर्घजिबी पनि हुन्छ । फेरि म आफै पनि आफ्ना सृजनाहरूलाई पाठकबीच परिक्षणको अग्निकुन्डमा झोस्न चाहन्छु । कि स्पातिलो बनेर आकारसहित निस्कने छन्, कि भष्म हुने छन् । दुबै नतिजा स्वीकार्य हुनुपर्छ ।