काठमाडौं । बेलायतले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने बताएको छ । बेलायती प्रधानमन्त्री किअर स्टार्मरले आगामी सेप्टेम्बरमा संयुक्त राष्ट्र संघको महासभामा केही सर्तहरूसहित प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने घोषणा गरेका हुन् ।
बेलायतले अघि सारेका सर्तहरू इजरायलले नमानेमा प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने प्रधानमन्त्री स्टार्मरको भनाइ छ ।
‘यदि गाजाको भयावह अवस्था अन्त्य गर्नका लागि इजरायल सरकारले ठोस कदम चाल्दैन, युद्धविरामको घोषणा गर्दैन, गाजाको पश्चिमी तटमाथि कब्जा गर्दैन र दीर्घकालीन शान्ति प्रक्रियाका लागि प्रतिबद्ध हुँदैन भने बेलायतले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिनेछ’, मन्त्रिपरिषद्को आकस्मिक बैठकपछिको पत्रकार सम्मेलनमा प्रधानमन्त्री स्टार्मरले भने ।
उनले इजरायल र हमास विद्रोही समूहबीच कुनै समानता नरहेको उल्लेख गर्दै हमासले पनि सबै बन्धक छाड्नुपर्ने बताएका छन् । हमासले पनि युद्धविराममा हस्ताक्षर गरेर गाजा सरकारमा कुनै भूमिकामा रहन नहुने प्रधानमन्त्री स्टार्मरको भनाइ छ ।
गत हप्ता मात्र फ्रान्सले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने घोषणा गरेको थियो । फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले यसै वर्षको सेप्टेम्बरमा औपचारिक रूपमा प्यालेस्टाइनलाई स्वतन्त्र मुलुकको मान्यता दिने बताएका थिए ।




