लन्डन । अमेरिकामा फेरि विमान दुर्घटना भएको छ । सोमबार एरिजोनास्थित स्कट्सडेल विमानस्थलमा भएको विमान दुर्घटनामा हुँदा कम्तीमा एक जनाको मृत्यु भएको अन्तरास्ट्रिय समाचारहरूमा उल्लेख छ।
विमानस्थलमा दुई निजी विमानहरू एकअर्कासँग ठोक्किएका थिए । दुर्घटनामा अन्य धेरै मानिसहरू घाइते भएको जनाइएको छ ।
उड्डयन योजना र आउटरिच संयोजक केली कुएस्टरका अनुसार स्कट्सडेल विमानस्थलमा एउटा मध्यम आकारको व्यावसायिक जेट धावनमार्गबाट बाहिर निस्केर एउटा निजी जेटसँग ठोक्किँदा दुर्घटना भएको थियो।दुर्घटनापछि सबै उडानहरू रद्द गरिएका छन्।
दुर्घटनामा एकजनाको घटनास्थलमै मृत्यु भएको र अन्य चार जना घाइते भएका जनाइएको छ । जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
अमेरिकामा पछिल्लोसमय लगातार विमान दुर्घटनाहरू भइरहेका छन् । वासिङ्टन डिसीमा अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टर र यात्रुवाहक विमान आकाशमा नै ठोक्किँदा ६७ जनाको मृत्यु भएको थियो । लगत्तै फिलाडेल्फियामा मेडिकल जेट दुर्घटना हुँदा ७ जना र अलास्कामा अर्को विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो ।