जेरुसलेम । इजरायली सेनाले गाजास्थित शरणार्थी शिविरमा गरेको हवाई आक्रमणमा कम्तीमा ३३ जनाको मृत्यु भएको छ । गाजास्थित हमास प्रशासनका अनुसार मारिनेमा २१ जना महिला छन् । ८५ जनाभन्दा बढी घाइते भएको जनाइएको छ ।
मानिसहरू भग्नावशेषमा पुरिएकाले मृतकको संख्या बढी भएको हमासले जनाएको छ । अन्तरास्ट्रिय समाचारहरूमा उल्लेख भएअनुसार पछिल्ला आक्रमणका कारण उत्तरी गाजामा दूरसञ्चार र इन्टरनेट सेवा अवरुद्ध भएको जनाइएको छ । बाक्लो जनघनत्व रहेको जबलिया क्षेत्रलाई केही सातादेखि इजरायली फौजले घेराबन्दी गरिरहेको छ । करिब दुई साताका लागि पुग्ने खाना र पानीसहित करिब चार लाख मानिस शिविरभित्र थुनिएको बताइएको छ ।
पछिल्लो आक्रमणमबारे इजरायलले भने कुनै प्रतिक्रिया जनाएको छैन । इजरायली आक्रमणमा केही दिनअघि हमास प्रमुख याह्या सिनवार मारिएपछि गाजामा युद्ध रोकिने अनुमान गरिएको थियो । तर हमासका उपनेताले इजरायललाई कडा जवाफ दिने बताएका छन् ।
बीबीसीका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडनले लेबननमा युद्धविरामको सम्भावना रहेको भए पनि गाजामा कठिन भएको बताएका छन् । लेबनानमा इजरायल र हेजबुल्लाहबीच लडाइँ जारी छ ।
गाजामा एक वर्षयताको इजरायली आक्रमणमा कम्तीमा ४२ हजार ५ सय जना मारिएका छन् भने दसाैं हजार घाइते भइसकेका छन् । सन् २०२३ को अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा गरेको आक्रमणमा १२ सय जना मारिएका थिए । त्यसका साथै, हमासले २५१ जनालाई बन्धक बनाएको लगेको थियो । त्यसयता इजरायलले गाजामा निरन्तर आक्रमण गर्दै आएको छ