काठमाडौं । इजरायल र हमास केही समय ‘मानवीयताका आधारमा युद्धविराम’ गर्न सहमत भएका छन् । कतारको विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै युद्धविरामको समय २४ घण्टाभित्र घोषणा हुने जनाएको हो ।
कतार, इजिप्ट र अमेरिकाको सक्रियतामा भएको सहमतिअनुसार हमासले गाजामा बन्धक बनाएकालाई छाड्ने छ भने इजरायलले पनि प्यालेस्टिनी बन्दीहरूलाई छाड्ने छ ।
कतारी विदेश मन्त्रालयका अनुसार सुरुमा ४ दिन युद्ध रोक्ने सहमति भए पनि त्यो लम्बिन सक्ने छ । सुरुमा बालबालिका र महिलासमेत गरी हमासले ५० जना बन्धक र इजरायलले इजरायली जेलमा रहेका महिला र बालबालिका छाड्ने सहमति भएको कतारले जनाएको छ । कतारले दुई पक्षबीचको द्वन्द्व रोक्न, मानवीय क्षति कम गर्न कूटनीतिक प्रयास जारी रहेको र यसमा आफू प्रतिबद्ध रहेको पनि जनाएको छ ।
इजरायली मन्त्रिपरिषद्ले हमासको कब्जामा रहेका बन्धक छुटाउने सम्झौतालाई स्वीकृत गरेको छ ।