April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

इजरायलमाथि हमासको आक्रमणमा १४ अमेरिकी नागरिकको मृत्यु

1.6K

इजरायलमा प्यालेस्टाइनको इस्लामिक समूह ‘हमास’को आक्रमणमा परी १४ अमेरिकी नागरिकको मृत्यु भएकोे छ । मंगलबार अमेरिकाका राष्ट्रपति जो बाइडेनले हमासले इजरायलमाथि गरेको आक्रमणमा आफ्ना १४ नागरिकले ज्यान गुमाएको बताएका हुन् ।

द न्युयोर्क टाइम्सका अनुसार राष्ट्रपति बाइडेनले उक्त आक्रमणको कडा शब्दमा निन्दा गरेका छन् ।

ह्वाइट हाउसले उक्त आक्रमणमा २० जना भन्दा बढी अमेरिकी नागरिकहरू बेपत्ता भएको जानकारी दिएको छ । आक्रमणपछि हमासले अमेरिकी नागरिकलाई पनि बन्धक बनाएको ह्वाइट हाउसले जनाएको छ ।

Advertisement

सम्पर्कविहीन भएकाहरूको परिवारसँग ह्वाइट हाउस निरन्तर सम्पर्कमा रहेको राष्ट्रपति बाइडेनका सुरक्षा सल्लाहकार जेक सुलिभनले बताएका छन्। बाइडेनले उनीहरूको सुरक्षाका विषयमा अमेरिकी सरकार गम्भीर रहेको बताएका छन् ।

‘अहिले हमासले बन्धक बनाएका अमेरिकी नागरिकहरूको सुरक्षा उच्च प्राथमिकताको विषय हो,’ राष्ट्रपति बाइडेनको भनाइ उदृध गर्दै न्युयोर्क टाइम्सले लेखेको छ ।

ह्वाइट हाउसका अधिकारीहरूले इजरायलमा मारिएको र बेपत्ता भएकाहरूको परिचय भने सार्वजनिक गरेको छैन । मिडिया रिपोर्टहरूका अनुसार इजरायल–गाजा सीमा नजिक बसेका अमेरिकीहरू मारिएका छन् जहाँ हमासले आक्रमण गरेको थियो ।