काठमाडौं । भारतको मुम्बइस्थित विमानस्थलमा नीजि विमान दुर्घटनामा पर्दा आठजना घाइँते भएका छन् । बेंगलुरुको रियल इस्टेट कम्पनीको स्वामित्वमा रहेको विमान, लियरजेट ४५, मुम्बईको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलमा आज साँझ दुर्घटनामा परेको हो ।
भारी वर्षाको अवस्थामा अवरतरणको क्रममा धावनमार्गबाट चिप्लिएपछि विमान दुई टुक्रा भएको भारतीय समाचारहरुमा उल्लेख छ । विमानमा सवार दुई चालक दलका सदस्य र छ जना यात्रुलाई अस्पतालमा भर्ना गरिएको छ ।
विमानस्थलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विशाखपटनमबाट मुम्बईका लागि उडान भरेको भीटी–डीबीएल लियरजेट ४५ विमान स्थानीय समयअनुसार साँझ ६ः४७ बजे धावनमार्गमा चिप्लिएर दुर्घटनाग्रस्त भएको थियो ।’
दुर्घटनापछि विमानस्थलको धावनमार्ग केही समयका लागि रोकिएको थियो । जसका कारण उडान आगमन र प्रस्थानमा ढिलाइ भएको थियो । नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले अनुमति दिएपछि रनवे सञ्चालनका लागि खुला गरिएको थियो । विमानस्थलमा भिजिबिलिटी ७०० मिटर रहेको बताइएको छ ।