April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

बेइजिङमा हजारौंले लगाए कोरोनाविरूद्धको खोप

2.7K

बेइजिङ– चीनमा फेब्रुअरीमा मनाइने नयाँ वर्षका अवसरमा हुन सक्ने व्यापक यात्रा र घुमफिरलाई ध्यानमा राखी बेइजिङका हजारौं बासिन्दालाई कोभिड–१९ विरुद्धको खोप लगाउन थालिएको छ। 

खोप लिन हजारौं मानिस सोमबार बिहानैदेखि खोप केन्द्रहरुमा लामबद्ध देखिएका छन्।

दुई दिनको अवधिमा ७३ हजारभन्दा बढी चिनियाँले बेइजिङमा पहिलो डोज खोप लिएको स्वास्थ्य सेवा विभागले जनाएको छ। खोप लिनेहरुमा सामुदायिक कार्यकर्ता र बस ड्राइभरहरु पनि रहेका छन्।

Advertisement

स्वास्थ्य अधिकारीहरुले चिनियाँ फर्मास्यूटिकल कम्पनी सिनोफार्मले विकास गरेको खोपलाई सःशर्त स्वीकृति प्रदान गरिसकेको छ। यस खोपको प्रभावकारिता झण्डै ७९ प्रतिशत रहेको सिनोफार्मले जनाएको छ। 

बेइजिङमा ठूलो संख्यामा मानिसहरु स्थानीय अस्पतालहरु र सामुदायिक स्वास्थ्य केन्द्रहरुमा खोपका लागि भेला भएको दृश्य सरकारी टेलिभिजन सिसिटिभीले प्रशारण गरेको छ। स्वास्थ्य अधिकारीहरुले जिम र कारखानाका खाली भवनहरुलाई पनि खोपका लागि प्रयोग गरिएको बताएका छन्।