बर्लिन– युरोपेली युनियनमा आबद्ध मुलुकहरुमा यस वर्षको अन्त्य हुनुअघि नै कोरोना भाइरसविरुद्धको खोप लगाउन थाल्ने प्रतिबद्धता युरोपेली नेताहरुले व्यक्त गरेका छन्।
युरोपमा कोभिडको दोस्रो लहरले जनजीवन अस्तव्यस्त बनाउन थालेसँगै जतिसक्दो चाँडो खोप लगाउनुपर्ने दबाब बढेको छ। यही अवस्थालाई मध्यनजर गरी जर्मनीले आगामी डिसेम्बर २७ देखि नै खोप अभियान सुरु गर्ने जनाएको छ।
यही दिनदेखि सम्भवतः युरोपेली युनियनमा आबद्ध सबै मुलुकमा खोप अभियान सुरु हुँदैछ।
फ्रान्सले यसै वर्ष सन् २०२० को अन्त्यसम्ममा ११ लाख ६० हजार डोज खोप प्राप्त हुने जनाएको छ। अर्को महिनाभित्र अरु २३ लाख डोज खोप फ्रान्सले प्राप्त गर्दैछ।
कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या पाँच लाख पुग्ने खतरा भइसक्दा पनि युरोपेली युनियनमा खोपको आपूर्तिमा तुलनात्मक रुपमा ढिलाइ भइरहेको छ।
बर्लिन शहरको सुनसान सडकमा भेटिएका ५७ वर्षीय आइनेस कुम्पलले भने, ‘शहर आजभोलि सुनसान देखिएको छ।’
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विगत २४ घण्टामा संयुक्तराज्य अमेरिकामा मात्र तीन हजार ७०० भन्दा बढीको मृत्यु भएको छ भने दुई लाख ५० हजारभन्दा बढी नयाँ संक्रमित देखिएका छन्। यो तथ्यांकले युरोपमा देखिएका कोरोना संक्रमितको संख्यालाई पनि ओझेलमा पारेको छ।
डेनमार्क, फ्रान्स, टर्की र नेदरल्यान्ड्सले प्रतिबन्धहरुलाई अझ कडाई गरेका छन् भने स्पेनका प्रधानमन्त्रीले आफ्नो मुलुकमा कोरोना संक्रमितको संख्या बढेकामा चिन्ता व्यक्त गरेका छन्।