लण्डन । कोरोना महामारीका कारण बेलायत सरकारद्वारा अन्तराष्ट्रिय यात्रा प्रतिबन्धको ‘रेडलिष्ट’बाट नेपाललाई हटाइएको छ । ११ अक्टोबर सोमबार बिहान ४ बजेबाट लागू हुनेगरी बेलायत सरकारले नेपाल लगायतका ५४ वटा मुलुकलाई रेड लिष्टको सूचीबाट हटाएको हो ।
रेड लिष्टबाट हटेपछि अब कोभिड खोपका दुबै डोज लगाएका यात्रुले बेलायत आउँदा ११ रातको होटेल क्वारेन्टिन बसिराख्नुपर्ने छैन । रेडलिष्टको सूचीमा रहेका मुलुकबाट बेलायत आउँदा बेलायती नागरिक वा बेलायतको आवासीय अधिकार पाएका व्यक्तिले आफ्नै खर्चमा ११ रात तोकिएको होटल क्वारेन्टिन बस्नुपर्ने हुन्छ । जसका लागि होटल क्वारेन्टाइनबापत प्रतिव्यक्ति प्रति कोठा दुई हजार २८५ पाउण्ड अर्थात् नेपाली रुपैयाँ तीन लाख ७४ हजार जति हुन आउँछ ।
नेपाललाई रेड्लिष्टबाट हटाउनको लागि नेपाली दूतावासलगायत बेलायतका विभिन्न संघसंस्थाहरूले आवाज उठाउँदै आएका थिए । समाजसेवी एवम् युवा व्यवसायी रविजंग लामिछानेले गत हप्ता भएको एउटा ‘हाइ प्रोफाइल डिनर’ मा बेलायती स्वास्थ्य मन्त्री साजिद जाविदसँग नेपाललाई रेड लिष्टबाट हटाउन आग्रह गरेका थिए । दक्षिण एसियामा नेपाललाई मात्र रेड लिष्टमा राखिनु न्यायोचित नभएको भन्दै लामिछानेले यसलाई गम्भीर रुपमा लिइदिन पनि स्वास्थ्यमन्त्री समक्ष आग्रह गरेका थिए । प्रत्युत्तरमा मन्त्री जाविदले यसमा आफूहरू नजिकबाट काम गरिरहेको र यसबारे पुनर्विचार गरिने आश्वासन दिएका थिए ।
कोरोना संक्रमणका आधारमा बेलायतले विभिन्न मुलुकलाई रेड, एम्बर र ग्रीन गरि तीनवटा श्रेणीमा विभाजन गरेको थियो । तर, यहि अक्टुबर ४ तारिखबाट भने ग्रीन र एम्बरलाई हटाएर रेड मात्र कायम गरेको थियो ।
कोलम्बिया, डोमिनिक रिपब्लिक, पेरु, पानामा, इक्वेडर, भेनेजुएला र हाइटी भने अझै रेडलिष्टमा नै सूचीकृत छन् ।
थ्यग कभलत