एजेन्सी – अमेरिकी राष्ट्रपति-निर्वाचित जो बाइडनले आफूले पद सम्हालेको पहिलो एक सय दिनमा १० करोडलाई खोप दिइसक्ने लक्ष्य राखेको बताएका छन्।
उनले आफ्नो कार्यकालका सुरुवाती महिनामा महामारी अन्त्य नहुने तर आफूले त्यसबिचमा कोभिड-१९ को बाटो भने मोड्ने बताए।उनले आफ्ना रणनीतिबारे थप बताएका छैनन्।
२० ज्यानुअरीमा कार्यकाल सुरु गर्दाका लागि उनको साथमा हुने आफ्नो स्वास्थ्य कार्यदललाई परिचय गराउँदै बाइडनले अमेरिकीलाई ‘१०० दिनसम्म मास्क लगाउन’ आग्रह गरे।
मङ्गलवार नै अमेरिकी नियामकले फाइजर/बायोएनटेकको खोप ९५ प्रतिसतसम्म प्रभावकारी रहेको पुष्टि गरेको छ।त्यसले अब उक्त खोप आपत्कालिन प्रयोगका लागि स्वीकृति दिन सकिने बाटो खोलेको छ।
खाद्य तथा औषधि निकाय एफडिएले सुरक्षाका कारण फाइजर/बायोएनटेकको खोपलाई स्वीकृति दिन रोक्नुपर्ने कुनै कारण नभेटिएको जनाएको हो।
यूकेमा गतसाता स्वीकृति दिएर धेरै जनामा लगाउन सुरु गरिसकिएको यो खोपबारे अमेरिकाले पहिलोपटक यो तहमा बोलेको हो।औपचारिक निर्णयका लागि एफडिएले बिहीवार एउटा बैठक गर्दैछ।
एफडिएको एउटा प्रकाशनमा सो खोपका परीक्षणका विवरण ‘भरपर्दो’ रहेको उल्लेख गरिएको छ।अमेरिका र यूके दुवै देशलाई उत्पादकहरूले खोपको सुरक्षा र प्रभावकारिताबारेको विशिष्ठ तहका जानकारी उपलब्ध गराइएका थिए।
गतसाता अमेरिकाका शीर्ष सङ्क्रामक रोगविज्ञ डा एन्थोनी फाउचीले यूकेको खोप स्वीकृति दिने प्रक्रियाको आलोचना गरेको देखिएको आफ्नो भनाइका लागि माफी मागेका थिए।बिबिसी