April 16, 2025, Wednesday
२०८२ बैशाख ३
1:37:26 pm

डेनमार्कको संसदमा नेपाललाई स्वास्थ्य सेवामा सहयोग पुर्याउने बारे छलफल

6.2K

कोपेनहेगन । डेनमार्क सरकारले नेपालमा हाल कोभिड–१९ को अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य सेवामा सहयोग पठाउने बारे विचार विमर्श गरिरहेको छ । गैर-आवासीय नेपाली संघ (एनआरएनए) डेनमार्क र डेनिस संघसंस्थाहरु मिलेर सरकारलाई दवाव दिएपछि अहिले संसदको वहसमा यस विषयले विशेष स्थान पाएको हो ।

एनआरएनए डेनमार्कका अध्यक्ष रविन्द्र खड्काका अनुसार हाल डेनमार्कमा त्यहाँका स्थानीय डेनिस संघसंघस्थाहरु मात्रै नभएर नागरिक समाजकै अगुवाहरु, विशेष गरी प्राध्यापकहरु, पनि नेपाललाई स्वास्थ्य क्षेत्रमा सहयोग पठाउन पर्ने दवाव दिइरहेका छन् ।

“यस बारेमा हामी डेनमार्कका एनआरएनहरु आशावादी छौं; किनभने संसदमा केही दिन यता यस बारेमा गम्भिर रुपमा छलफल भइरहेको छ र सरकार आफैं पनि यसप्रति सकारात्मक देखिएको छ,” अध्यक्ष खड्काले नेपाल मामिला डट कमलाई बताए ।

Advertisement

यसैबीच, एनआरएनए डेनमार्क आफैंले पनि नेपाल र नेपालीहरुले वर्तमानमा भोगिरहेको कोभिड–१९ को दोस्रो लहरको स्थितिलाई मध्यनजर गरी एघार हजार डेनिस क्रोनर, अर्थात दुई लाख रुपैयाँ भन्दा बढी, सहयोग नेपाल पठाएको छ । एनआरएनए डेनमार्कका उपाध्यक्ष दीपक राज रिजालका अनुसार गत मे १८ मंगलबारकै दिन एनआरएनए डेनमार्कले उक्त रकम एनआरएन आइसीसीको कोभिड रिलिफ फण्ड खातामा जम्मा गरेको हो ।