
हङकङ, २२ फेब्रुअरी । हङकङ साहित्यिक साझा श्रृङ्खलाको १५३औ संस्करण विशेष बैठकको रुपमा सम्पन्न भएको छ ।
जोर्डनमा रहेको जी–फिफ्टी रेस्टुरेन्टमा सम्पन्न उक्त बैठक श्रृङ्खलाकी संयोजक जुनू रानाको अध्यक्षता र सहसंयोजक रोशन यक्सोको सञ्चालनमा भएको थियो ।
बैठकमा विभिन्न आन्तरिक विषयवस्तुहरूमाथि छलफल गरी स्थायी निर्णयहरू पारित पारित गरिएको छ । विशेष एजेन्डाको रूपमा प्रस्तुत गरिएको सो साहित्यिक साझा श्रृङ्खलाको संरक्षक बारे श्रृङ्खला स्थापनाको इतिहासलाई आत्मसात गर्दै अग्रज साहित्यकार देश सुब्बा, राजकुमार राई, दाजु गुरुङ र टंक संम्बाहाम्फेलाई श्रृङ्खलाको संस्थापक संरक्षकको स्थानमा ससम्मान राखिएको र त्यसैलाई कहिले परिवर्तन गर्न नपाइने निर्णय गरिएको छ। आगामी दिनहरूमा कोही कसैले पनि संस्थापक संरक्षक जस्तो सम्मानित विषयमा औंला नउठाउन र भ्रम पैदा नगर्न शृङ्खलाले सम्बन्धित सबैलाई स्पष्टताकासाथ सुसुचित गरेको छ ।


यसकासाथै हङकङ साहित्यिक साझा श्रृङ्खलाले प्रदान गर्ने प्रमुख पुरस्कारको नगद राशि नेपाली रुपैयाँ ५५,५,५५(पचपन्न हजार पाँच सय पचपन्न)लाई बढाएर करिब दोब्बर गर्ने र नयाँ संयोजकको कार्यकालमा एकपटक प्रदान गरिने निर्णय भएको छ। उक्त साहित्यिक साझा श्रृङ्खलामा सक्रिय अधिकांश हङकङेली नेपाली लेखक तथा साहित्यकारहरूको सहभागिता रहेको बैठकले प्रत्येक श्रृङ्खला विचारशील, प्रेरणादायी र प्रोत्साहनमुखी बनाउनका निम्ति नयाँ ढङ्गले अगाडि बढ्ने निर्णय पनि गरेको छ। जस अनुसार देखावटी,बनावटी र प्रचारमुखी साहित्य नभएर विचारशील, प्रेरणादायी र नयाँ सर्जकहरूकालागि प्रोत्साहनमुखी कार्यहरू गर्ने पनि श्रृङ्खलाले बताएको छ। श्रृङ्खलाको आगामी संस्करणहरूमा नेपाली साहित्यका विभिन्न विधाहरूका विषयमा कार्यपत्रहरू प्रस्तुत गर्ने, चर्चा,परिचर्चासाथै समीक्षा गर्ने र श्रृङ्खलाका सदस्यहरूको सृजनालाई एकल विशेष प्रस्तुतिको अवसर प्रदान गर्ने जस्ता निर्णयहरू बैठकले गरेको छ। बैठक विशेषको रूपमा ऐतिहासिक निर्णयहरू गरिएको सो संस्करणमा श्रृङ्खलाको कोष तथा लेखा हेर्ने जिम्मेवारी बहन गरिरहेका सल्लाहकार तथा पूर्व संयोजकद्वय टिवी याक्खा र सुनिता गिरीले श्रृङ्खलाको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।


उक्त बैठकमा माथि उल्लेखित नामहरू बाहेक सल्लाहकार तथा पहिलो संयोजक चन्द्र मादेन आन्छन्, सल्लाहकार तथा पूर्व संयोजक बज्रकुमार राई, रमण गुरुङ,पूर्व सहसंयोजक पूर्णिमाजी शाह, अरुणा शर्मा, सदस्य बालिका बान्तवा, नरेन्द्र गुरुङ,डोम राना, धर्म राई,शिला घमाल, विशु सम,सुन्दर गुरुङ,नेपाली महासङ्घका एक्स चेयरम्यान,व्यवसायी तथा समाजसेवी टंक राना र बालकवि सुनिष्का याक्खा पनि सहभागी थिए।
बैठकको अन्त्यमा हङकङ नेपाली अल्ट्रा ट्रेल रनिङ संघले आगामी २२ मार्चका दिन आयोजना गरेको अन्तर्राष्ट्रिय ट्रेल रनिङ प्रतियोगिताकालागि श्रृङ्खलाको तर्फबाट संयोजक जुनू रानाले सो रनिङ सङ्घका सल्लाहकार धर्म राईलाई सद्भावना सहयोग रकम प्रदान गरेकी थिइन् ।
स्मरण रहोस्ः प्रत्येक महिनाको अन्तिम आइतबारको दिन सम्पन्न गरिंदै आएको यो साहित्यिक साझा श्रृङ्खला हाल तेह्रौं वर्षमा निर्विवाद हिंडिरहेको छ ।
