November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

हङकङको श्रृङ्खलामा सात कृति सार्वजनिक

बज्रकुमार थुलुङ राई
२०८२ भाद्र १७

1.8K

हङकङ । हङकङ साहित्यिक साझा श्रृङ्खलाको १४७औं संस्करणमा हङकङ बाहिरका सात जना साहित्यिक सर्जकहरूको कृति सार्वजनिक गरिएको छ ।

श्रृङ्खलाकी संयोजक जुनू रानाको सभापतित्व र सहसंयोजक रोशन यक्सोको सञ्चालनमा भएको उक्त संस्करणमा नेपालका सुपरिचित कवि उमेश राई ‘अकिञ्चन’को नवीनतम कविता संग्रह ‘सायद किनाराहरु’, गीतकार सङ्घ नेपालका पूर्वाध्यक्ष तथा वरिष्ठ गीतकार शुभ मुकारुङको गीत संग्रह ‘यतै अल्मलिएँ’, कवि अञ्जना राई ‘ईछमफूल’को कविता सङ्ग्रह ‘सेम्योरी’, रङ्गवादी साहित्यका अभियन्ता तथा विचारक धर्मेन्द्र नेम्बाङको ‘क्रान्तिको बाटो’, साहित्यकारत्रय तीर्थ गुरुङको ‘हिउँको गीत’(उपन्यास), शोभाराम ओलीको ‘अटेलिस जोई’(उपन्यास) र राज बान्तावाको ’माइला दमाई’ (उपन्यास) सार्वजनिक गरिएको थियो ।

उक्त संस्करणमा श्रृङ्खलाकी सल्लाहकार पूर्णिमा जी शाहकी छोरी आहाना गुरुङले कतारमा सम्पन्न सिङ्गिङ रियालिटी सो ‘भोइस अफ कतार–२०२५’मा ’फस्र्ट रनर अप साथै बेस्ट परफर्मर’ को उपाधि जित्न सफल भएकोप्रति खुसी व्यक्त गर्दै बधाई ज्ञापन गरिएको थियो। त्यस्तै हङकङ नेपाली महासङ्घको अध्यक्षमा चयन भएकोमा साहित्यकार नवीन सुहाङलाई पनि ससम्मान बधाई ज्ञापन गरिएको थियो। त्यसकासाथै साहित्यिक साझा श्रृङ्खलाका सल्लाहकार तथा पत्रकार टिवी याख्खाको बुबा लिला बहादुर याक्खा दिवांगत भएकाप्रति गहिरो दुःख व्यक्त गर्दै एक मिनेट मौन धारण र समवेदना पत्र पनि प्रदान गरिएको थियो ।
श्रृङ्खलाको बुझारथ कार्यक्रम पनि गरिएको सो संस्करणमा निवर्तमान संयोजक रमण गुरुङलाई पनि स–धन्यवाद सम्मान गरिएको थियो ।

Advertisement

हङकङ नेपाली महासङ्घका अध्यक्ष नवीन सुहाङको प्रमुख अतिथि रहेको कार्यक्रममा श्रृङ्खलाका संरक्षक टंक सम्बाहाङ्फे, दाजु गुरुङ र राजकुमार राई विशेष अतिथि रहेका थिए । त्यसैगरी श्रृङ्खलाका सल्लाहकार टिवी याक्खा, बज्रकुमार राई,सुनिता गिरी,रमण गुरुङ, पूर्णिमा जी शाह र अरुणा शर्मा कार्यक्रममा सहभागी थिए ।

साहित्यकार जानु काम्बाङ लिम्बु, बालिका बान्तवा, विशु सम, वरिष्ट चित्रकार दिपेन्द्र राई, बालकवि सुनिश्का याक्खालगायतका व्यक्तित्वहरूको पनि श्रृङ्खलामा सहभागीता रहेको थियो ।

फोटोः टिवी याख्खा