ललितपुर । किरात याक्थुङ चुम्लुङले किरात सिरिजङ्गा लिपि युनिकोड किबोर्ड एन्ड्रोइड मोबाइल एपको सार्वजनीकरणसहित याक्थुङ/लिम्बु भाषा र लिपि डीजिटलाइजेसन तथा शिलान्यास कार्यक्रम सम्पन्न गरेको छ । कियाचु संघीय समिति र किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको संयुक्त आयोजनामा मंगलबार ललितपुर कियाचुको कार्यलयमा एक पत्रकार सम्मेलन आयोजना गरी सो कार्यक्रमहरू गरिएको हो ।
कियाचुका महासचिव निरन्ती तुम्बापोले सहजीकरण गरेको उक्त पत्रकार सम्मेलनका प्रमुख अतिथि कियाचुका संस्थापक अध्यक्ष नन्द कन्दङ्वा रहेका थिए ।


सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि कन्दङवाले याक्थुङ भाषा र लिपिलाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्न पाए डिजिटलाइजेसनका सामग्रीहरू धेरै नै प्रयोगमा आउने र यसको महत्व बढ्न सक्ने बताए ।
‘अहिले हामी भाषासँगै डिजिटल क्षेत्रमा जसरी अगाडि बढिरहेका छौं, टाउको चाहीँ अगाडि–अगाडि पुच्छर चाहीँ धेरै पछाडि भनेजस्तै भएको छ । त्यसलाई सँगसँगै लैजान सके त्यसको महत्व झन् हुन्छ ।’, उनले भने ।
पत्रकार सम्मेलनमा प्राध्यापक अमर तुम्याहाङले याक्थुङ/लिम्बु भाषा र लिपि डीजिटलाइजेसनको अभियानमा भएका, जारी रहेका र भावि योजनाका महत्वपूर्ण कार्यहरूको विवरण पेश गरेका थिए ।
‘सुरुमा एन्ड्रोइडमा प्रयोग गर्नेगरी यसको तयारी गरियो, अब एप्पलमा पनि यसको एक्सेस होस् भनेर प्रयास गरिइराखिएको छ’, तुम्याहाङले जानकारी दिए ।


यस्तै, आइटी प्रशिक्षक बुधराम गुरुङले डिजिटल लिपिको अङ्गीकरणः चुनौती र सम्भावनाहरू शीर्षकमा बोलेका थिए । बोल्ने क्रममा गुरुङले अब एआइलाई पनि डिजाइन गर्नुपर्ने धारणा राखे । ‘जेन–अल्फाका बच्चाहरूले अब डाइरेक्ट च्याट जिपिटिसँग सोध्छन् । अब एआइलाई डिजाइन गर्नुपर्छ’, उनले भने, ‘अहिले एआइलाई किरात, चुम्लुङबारे सोध्यो भने धेरै कुरा झुटा हुन्छन् । किनकी त्यो अलरेडी बनेको छ । अरुले राखेको छ । हामीले त्यसलाई डिजाइन गर्नुप¥यो ।’


सम्मेलनको समापन गर्दै कियाचुका संघीय अध्यक्ष प्रेम येक्तेनले धेरै पहिले याक्थुङ किबोर्ड निर्माण भएपनि प्रयोगमा भने याक्थुङहरू पछि परेको बताए । कियाचु दक्षिण कोरियाले चलचित्र ‘मनसरा’ प्रदर्शन गरी भाषा, लिपि र समग्र विकासको लागि गरेको योगदान स्वरुप यसको कामको सुरुवात भएको भन्दै अध्यक्ष येक्तेनले भने, ‘जसले ओपन गर्यो हाम्रो डिजिटलाइजेसनको कामलाई । यसको सुरुमा हामीले किबोर्ड निर्माण गर्यौं । तर अहिले धेरै मान्छेले किर्बोड निर्माण पनि बुझ्दैन । युनिकोड बनाउने भन्ने मात्रै बुझ्छ । अनि अर्को बुझ्ने भनेको गुगल ट्रान्सलेसन । तर गुगल ट्रान्सलेसन एउटा मात्रै काम हो रैछ । म पनि यहाँ पसेपछि बल्ल थाहा पाएँ । त्यो युनिकोड त सन् २००३ मा नै इन्डियाबाट अलरेडि रजिस्ट्रेड भइसकेको रहेछ । यति अगाडि कि हाम्रो नेवारी भन्दा पनि अगाडि । तर प्रयोगमा ल्याउने कार्यमा चाहीँ हामी यति पछि पर्यौं, नेवारी कहाँ पुग्यो, नेपाली कहाँ पुग्यो हामी सुतेर बीसौं वर्ष बस्यौं ।’

