हङकङ । याक्थुङ थाक्का(ढाका) कपडा उत्पादनलाई अन्तरास्ट्रिय बजारीकरणमा सहयोग पुर्याउने उदेश्यले हङकङमा ‘से:क्मुरी युन्छो’ कार्यक्रम हुने भएको छ।
बुधबार किरात याक्थुङ चुम्लुङ हङकङका अध्यक्ष शमशेर तुम्बाहाम्फेको प्रमुख आतिथ्यता तथा ‘से:क्मुरी’ युन्छोका संयोजक हेमराज अन्छङ्बोको सभापतित्वमा सम्पन्न जानकारी सभाद्वारा याक्थुङ आर्टिस्ट सोसाइटी हङकङको आयोजनामा आउने शनिबार बेलुकी जोर्डनको ब्लु ओसन रेष्टुरेन्टमा सो कार्यक्रम हुन लागेको जानकारी दिइएको हो ।
हङकङमा पहिलोपटक ‘ढाका फेसशन शो’ आयोजना हुन लागेको कार्यक्रमका संचालक मौसम इम्बुङ (फु:लेन्देको बाउ)ले जानकारी दिए ।
संयोजक श्याम इङ्नामका अनुसार उक्त कार्यक्रममा तेह्रथुमे ढाका बुटिक ललितपुर नेपालले बृहत् ढाका(थाक्का) कपडाको फेशन शो गर्नेछ भने नेपाल तथा हङकङका ख्यातिप्राप्त गायक गायिकाहरुले सांगीतिक प्रस्तुति दिनुका साथै संयुक्त डान्स स्टुडियो हङकङको आकर्षक नृत्यनाटक पनि प्रस्तुत हुने छ । साथै मेकअप र हेयर कन्टेष्ट पनि हुनेछ । यस कार्यक्रमबाट बचेको अर्थले भने याक्थुङ लिपी र संस्कारसंस्कृतिको संरक्षणका लागि काम गर्ने उनले बताए ।
युगल पोमुले निर्देशन गर्ने उक्त कार्यक्रमको अर्का संयोजक हेमराज अन्छङबो रहेका छन् ।
हङकङका १६ जना प्रोफेशनल मोडलहरुको क्याटवाक साथमा उनाहुरीबा सिक्वाईन्स अन्तर्गत हङकङको आमा बोजु हरुले समेत परम्परागत लिम्बू गरगहना तथा भेषभुषामा र्याम्पमा हिँड्नेछन् ।
जानकारी सभाका विशिष्ट अतिथि युवा व्यवसायी मनोज गौतम, फक्ताङलुङ इन्टरटेन्मेन्ट प्रालीका सीइओ तथा चलचित्र निर्माता रबिनकुमार नाल्बो, कलाकार अर्जुन गौतम, नेपाल मामिलाका प्रधान सम्पादक खुशी लिम्बु लगायत रहेका थिए । उक्त सभामा फेशन शो’ बारे निर्देशक युगल पोमुले कार्यक्रमको रुपरेखाबारे बताएका थिए।
उक्त जानकारी सभामा कियाचु हङकङ अध्यक्ष शमसेर तुम्बाहाम्फेले यो कार्यक्रम ऐतिहासिक भएको बताए । ‘हुन त यस्ता कार्यक्रमहरू कियाचु जस्ता संस्थाहरूले गर्नुपर्ने हो कि जस्तो लागेको छ, तर एउटै संस्थाले विभिन्न उदेश्यमा सबै कार्यक्रम गर्न असम्भव हुँदो रहेछ’, भन्दै उनले आयोजकलाई शुभकामना दिएका थिए।