March 12, 2025, Wednesday
२०८१ फाल्गुन २९
1:37:26 pm

हङकङका वरिष्ठ पत्रकार किसन राईको सम्मानस्वरूप ‘स्मृति प्रतिभा पुरस्कार’ स्थापना

3K

हङकङ । हङकङ साहित्यिक साझा शृङ्खला समूहको ‘११ औं वार्षिक उत्सव–२०२३’ सम्पन्न भएको छ । आइतबार जोर्डनस्थित ब्लु ओसन रेष्टुरेण्टमा सम्पन्न वार्षिकोत्सव कार्यक्रमबाट रमण गुरुङ समूहको संयोजक र शृङ्खलाको सहसंयोजकमा अरुणा शर्मा दोस्रो कार्यकालको लागि पुनः चयन भएकी छन् ।

संयोजकमा पुन: चयन भएसँगै जिम्मेवारी बोध भएको बताए । ‘आगामी दोस्रो कार्यकालको लागि निर्विरोध रूपमा छनौट गरी शृङ्खलाको निम्ति थप सेवा गर्ने अवसर दिनुभएकोमा साझा शृङ्खला समिति प्रति आभार प्रकट गर्दछु । थप महत्पूर्ण जिम्मेवारीको बोध भएको महशुस पनि गर्न पुगेको छु’, संयोजक गुरुङले बताए ।

हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको पहिलो चरणमा कार्यक्रममा हङकङका ३७ जना साहित्यकारहरुको विभिन्न विधाका सृजनाहरु समेटिएको कृति ‘श्रृंखला–६’ लोकार्पण गरिएको थियो । उक्त पुस्तकहरूमाथि शशृङ्खलाका संरक्षक दाजु गुरुङले समिक्षा गरेका थिए ।

Advertisement

सोही कार्यक्रममा हाल हङकङ भ्रमणका क्रममा रहेका बेलायत निवासी भूपू ब्रिटिश गोर्खा सैनिकसमेत रहेका साहित्यकार तथा पर्या साहित्यकार विजय हितानको उपन्यास ‘लाहुरेको रेलिमाई’ सार्वजनिक गरिएको थियो । उक्त पुस्तकमाथि शिक्षक तथा संचारकर्मी डा.चुरा थापाले टिप्पणी राखेका थिए ।

कार्यक्रमको दोस्रो चरणमा हङकङमा रहेर नेपाली भाषा, साहित्य, पत्रकारिता र समाजसेवाको क्षेत्रबाट नेपाली समुदायलाई विशेष योगदान दिदै आएका विभिन्न व्यक्तित्वहरुलाई नगदसहित ताम्रपत्रद्धारा सम्मान गरिएको थियो । साझा शृङ्खलाले स्व.किसन राईको स्मृतिमा स्थापित ‘किसन राई स्मृती प्रतिभा पुरस्कार–२०२३’ द्धारा पत्रकार जगद अम्बु गुरुङलाई नगद हङकङ डलर १ हजार १ सय ११ सहित ताम्रपत्रद्धारा सम्मान गरेको थियो । स्व.किसन राईलाई मरणोमरान्त ‘नेपाली भाषा, साहित्य, पत्रकारिता तथा समाज सेवा पुरस्कार–२०२३’ द्धारा नगद हङकङ डलर १ हजार १ सय ११ सहित ताम्रपत्रद्धारा सम्मान गरिएको थियो ।

त्यस्तै गरी ‘नेपाली भाषा तथा साहित्य सेवा पुरस्कार वर्ष २०२१–२३’ द्धारा शिक्षक तथा संचारकर्मी देवराज राईलाई नगद हङकङ डलर १ हजार १ सय ११ सहित तात्रपत्रद्धारा र  नरजित राईलाई ‘मनका नदीहरु’ कविता संग्रहका लागि ‘स्रष्टा र सृजना पुरस्कार वर्ष २०२१–२३’ द्धारा नगद हङकङ डलर १ हजार १ सय ११  सहित ताम्रपत्रद्धारा सम्मान गरिएको थियो । 

त्यस्तै गरी अन्य सम्मानित व्यत्तित्वहरुमा हङकङबाट पछिल्लो समयमा प्रकाशित कृतिहरु ‘प्रवास बुकी र बास्ना’ का सर्जक कवि तथा साहित्यकार मोति चाम्लिङ, ‘तुलसी’ का लागि तुलसी कुमार गुरुङ, ‘लाहुरे दाइ’ का लागि स्व.इमान बहादुर तमु, ‘मेरो भाग्यमानी बाजा’ का लागि दिनेश सुब्बा सम्मानित भएका छन् । ‘लाहुरेको रेलिमाई’ का लेखक विजय हितान, गुल्मेली अनलाईनका सम्पादक तथा पत्रकार नारायण भण्डारीका साथै कार्यक्रमका प्रमुख अतिथि रिता गुरुङलाईसमेत ताम्रपत्रद्धारा सम्मान गरिएको थियो । 

यसै ११ औं बार्षिकोत्सवदेखि हङकङ साहित्यिक साझा शृङ्खलाले हङकङका बरिस्ठ पत्रकार तथा सामाजिक अभियन्ता स्व. किसन राई स्मृति प्रतिभा पुरस्कारको पनि थालनी गरेको छ । उक्त पुरस्कारबाट हङकङलाई कर्मथलो बनाएर हङकङमै बिगत दुईदशकदेखि सामुदायिक पत्रकारिता गर्दै नेपाली समुदायलाई योगदान पुर्‍याएका पत्रकार जगत अम्बु गुरुङलाई कवि जुनु राना मगरले पुरस्कार प्रदान गरेकी थिइन् । साथै शृङ्खलामा संयोजक रमन गुरुङद्वारा स्व. पत्रकार किसन राईको परिवारलाई सम्मान गरिएको थियो ।

संयोजक गुरुङले यसपटक साझा शृङ्खलाले धेरै महत्वपूर्ण कामहरू गर्न सफल भएको पनि बताए । उनले भने, ‘हङकङेली नेपालीले गुमाएको एक सच्चा अभिभावक, एभरेस्ट खबरको संपादक साथै साझा शृङ्खलाका सल्लाहकार स्व:श्री किसान राईज्यू, जो दुईदशक भन्दा बढी हङकङमा कलमको नोकले बाँचेर देखाउनुभो । उहाँको नाममा हामीले हाम्रो वार्षिकोत्सव कार्यक्रममा किसान राई प्रतिभा पुरस्कारको घोषणा दिने निर्णय गरेका थियौं। यसर्थ यसपटक सो पुरस्कार पत्रकार श्री जगत अम्बु गुरूङज्यूलाई प्रदान गरेर सुरुवात गरी सकेका छौं। यसलाई धेरै नै महत्वपूर्ण कार्यको थालानीको रूपमा हामीले लिएका छौं । जुन पुरस्कारले दूरगामी रूपमा थप उर्जा प्रदान गरेर जीवनमा अझ अघि बढ्न थप प्रेरणा दिने छ । कार्यले किसान राईले हङकङमा नेपालीजनमा पुर्‍याउनुभएको योगदानको सही कदर र मूयाङ्कन भई सो पुरस्कारले हाम्रो सामु वहाँलाई अमर रहने काम गर्नेछ भन्ने कुरामा हामी शृङ्खला परिवार आशावादी छौं।’

सम्मान ग्रहण गर्दै स्व. राईका श्रीमती सोभा मगर राईले आफ्नो श्रीमानको योगदानको कदर भएको भन्दै खुशी व्यक्त गरिन् । ‘हङकङ साहित्यिक साझा श्रृंखलाको ११ औं वार्षिकेात्सवको अवसरमा मेरो श्रीमान स्व.किसन राईको स्मृतिमा प्रतिभा पुरस्कारको थालनी गरिएकेा र उहँलाई नेपाली भाषा, साहित्य, पत्रकारिता तथा समाजसेवा पुरस्कार -२०२३ द्वारा सम्मान गर्नुभएकोमा हङकङ साहित्यिक साझा शृङ्खलालाई हृदयदेखि धन्यवाद दिन चाहान्छु’, उनले भनिन् ।

कार्यक्रममा स्रष्टाहरू गायिका कुसुम काम्बाङ लिम्बु, गायिका बिन्नि लामा राई, गायक पुष्पराज गुरुङ, बासुरी वादक मोहन फगामीले मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरेका थिए भने कवि तथा साहित्यकार बज्रकुमार राईले साहित्यिक प्रस्तुति दिएका थिए । श्रष्टाहरुलाई पनि कदरपत्र दिएर सम्मान गरिएको थियो ।

यस्तै, साहित्य शृङ्खलाको ११ औं वार्षिकोत्सव–२०२३ सफल पार्न आर्थिक रुपमा सहयोग गर्ने विभिन्न संघसंस्था, व्यावसायी, समाजसेवी, साहित्यकार एवं साहित्यनुरागी महानुभावहरुलाईसमेत सम्मान गरिएको थियो ।

कार्यक्रममा साहित्यकार विजय हितान, देवेन्द्र खेरेस, किन्दर राई, भूपेन्द्र चेम्जोङ, एनआरएनए आईसीसीका महिला सचिव टिका गुरुङ, तमु ट्यो ह्युलका अध्यक्ष विजय गुरुङ लगायतका विशेष अतिथिहरुहरुद्धारा शुभकामना मन्तव्य राखिएको थियो ।

कार्यक्रमको सभापतित्व संयोजक गुरुङले गरेका थिए भने पूर्व संयोजक एवं सल्लाहकार टोपबहादुर याक्खाले कार्यक्रम संचालन गरेका थिए । यस्तै, पूर्व सहसंयोजक एवं सल्लाहकार पूर्णिमा शाहले स्वागत मन्तव्य राखेकी थिइन्।

नेपाली वाङ्मयको संरक्षण तथा सम्बर्धनका लागि विगत ११ वर्षयता प्रत्येक महिनाको अन्तिम आइतबार हङकङवासी नेपाली साहित्यिक सर्जकहरु भेला भई साहित्यिक विचार तथा विमर्श, सृजना वाचन, पुस्तक प्रकाशन, समीक्षा तथा विभिन्न साहित्यिक व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कृत समेत गर्दै आइरहेको छ ।