November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

कोभिड सङ्क्रमित १० दिन क्वारेन्टिनमा बस्नुपर्ने

3.6K

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको क्वारेन्टिन वा आइसोलेशनमा रहने समयावधि घटाएको छ ।

यसअघि सङ्क्रमित १४ दिन अनिवार्य क्वारेन्टिन वा आइसोलेशनमा बस्नुपर्नेमा अबदेखि १० दिन मात्र बसे हुने जनाइएको छ । विभिन्न अध्ययनले १० दिनपछि सङ्क्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने देखाएपछि क्वारेन्टिन वा आइसोलेशनमा बस्नुपर्ने समयमा विधि घटाइएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिनुभयो । सङ्क्रमणको लक्षण चिह्न देखिएर बिरामी भएका र गम्भीर प्रकृतिका बिरामीबाहेक सबै सङ्क्रमितलाई १० दिन मात्र राख्ने मन्त्रालयको नीति, योजना र अनुगमन महाशाखाले निर्णय गरेको थियो ।

यस्तै मन्त्रालयको स्वास्थ्य आपत्कालीन कार्य सञ्चालक केन्द्रले विदेशबाट नेपाल आउने व्यक्तिलाई अनिवार्य १० दिन क्वारेन्टिन वा आइसोलेशनमा बस्न भनेको छ । केन्द्रका प्रमुख तथा सहप्रवक्ता डा अधिकारीले सूचना जारी गर्दै विदेशबाट नेपाल आएका वा सङ्क्रमितको सम्पर्कमा आएको दिनदेखि कम्तीमा १० दिन अनिवार्य क्वारेन्टिन वा आइसोलेशनमा बस्नुपर्ने जानकारी दिनुभयो । महाशाखाले १० दिन बसेका आधारमा मात्र स्वास्थ्य सूचना व्यवस्थापन प्रणालीमा अद्यावधिक गर्न सबै अस्पताललाई समेत अनुरोध गरेको छ ।

Advertisement

महाशाखा प्रमुख डा गुणराज लोहनीले सूचना प्रणाली अद्यावधिक गरेअनुसार नै अस्पताललाई शोधभर्नाबापतको रकम उपलब्ध गराइने जानकारी दिनुभयो । उहाँले कुनै पनि अस्पतालले कोभिड–१९ का बिरामी भर्ना गरी उपचार गरेको सूचना प्रणालीमा अद्यावधिक नगरेमा मन्त्रालय÷प्रदेश÷स्थानीय तहबाट हुने अस्पताल नवीकरण वा सूचीकरण नहुने व्यवस्थासमेत गरिएको जानकारी दिनुभयो ।