March 12, 2025, Wednesday
२०८१ फाल्गुन २८
1:37:26 pm

काङमाङ नरेश: युद्ध साहित्यका ‘नरेश’

सीता तुम्खेवा
२०८१ जेष्ठ १९

2K

काङमाङ नरेश भन्ने वित्तिकै मस्तिष्कमा ‘युद्ध साहित्य’ र ‘पहिचान पुरस्कार’ आउँछ । पहिचान पुरस्कार कोषका संस्थापक नरेश काङमाङ राई हुन् । यस कोषले हरेक वर्ष चार लाख दुई हजार दुई रुपैयाँको पुरस्कार तथा सम्मान प्रदान गर्दै आएको छ । भोजपुर प्रतिभा प्रतिष्ठान संस्थापक सचिवसमेत रहेका काङमाङ युद्ध साहित्य पुरस्कारको संस्थापक मध्ये एक हुन् । उसो त यी पुरस्कार कोषहरूको निर्माण इच्छाशक्ति र सामाजिक प्रयासको प्रतिफल रहेको उनको भनाइ छ । भोजपुरको टेम्के मैयुङ्ग नागीमा जन्मिएका काङमाङ भूपू बेलायती सेना हुन् । हाल सपरिवार बेलायतमा रहँदै आएका उनले यी सबै पुरस्कारहरू नेपालबाटै प्रदान गर्दै आएका छन् । सहरको कुनै भव्य हलमा भव्य समारोहवीच पुरस्कार वितरण गर्ने परम्परालाई चुनौती दिँदै उनले पछिल्लो समय ‘पहिचान पुरस्कारलाई भोजपुरको टेम्के मैयुङ्गमै श्रष्टाहरुलाई बोलाएर प्रदान गर्न थालेका छन् । ‘भोजपुर जिल्ला भरी रहेका स्रष्टाहरुको हौसलाको लागि र उनीहरुले साहित्य, संगीत क्षेत्रमा गर्दै आएको कर्मलाई सम्बोधन गर्ने उद्देश्यले भोजपुरमै पुगेर पुरस्कार वितरण गर्न सुरु गरेका हौं ।’, भोपुरमै पुरस्कार वितरण किन ? भन्ने प्रश्नमा काङमाङको जवाफ ।

बेलायतबाट धेरै साहित्य सिर्जना भएका छन् । नेपाली साहित्य विकासका लागि बेलायतबाट ठूलो टेवा पुगेको छ । जसमध्ये सक्रिय र अग्रपंक्तिका सर्जक हुन् काङमाङ नरेश राई । उनी हरेक वर्ष नेपाल र बेलायत ओहारदोहोर गरिरहेका हुन्छन् । ‘तपाइँको दैडधुप बढी नै देखिन्छ, यो रहर, जिम्मेवारी, कर्तब्य या बाध्यता के हो ?’ नेपाल मामिलाको यस प्रश्नको जवाफमा काङमाङ भन्छन्, ‘पहिले रहर थियो, त्यसपछि जिम्मेवारी बोध भयो । अहिले बाध्यता जस्तो भएको छ ।’

प्रायः पुरस्कार तथा सम्मान वितरण निष्पक्ष रुपमा नभएको गुनासाहरू साहित्यक बजारमा सुन्ने गरिन्छ । मदन पुरस्कारसरहको राषी र प्रतिष्ठा रहेका यी पुरस्कार कोषहरू कत्तिको निष्पक्ष छन् त ? काङमाङ भन्छन्, ‘ पहिचान पुरस्कार पुस्तकलाई दिने भएकोले जति प्रस्तहरू कोषमा दर्ता भएको वा गरिएको हुन्छ, तिनीहरुमध्येबाट उत्कृष्ट पुस्तकहरुको निर्णय संस्था/कोषले गर्छ । त्यसमध्येको पुरस्कार विजेता जुरी/जजहरुबाट निर्णय गरिने भएकोले निष्पक्ष नै हुन्छ । यस्तै, भोजपुर पुरस्कारो निर्णय संस्थाले गर्छ, जुन व्यक्तिलाई दिइन्छ । युद्ध साहित्य पुस्तकलाई दिइने हो, यसको निर्णय पनि संस्थाले नै गर्छ । संस्थागत निर्णयहरु जो गलत जस्तो लागे पनि निष्पक्ष नै हुन्छन् ।’

Advertisement

२०५६ सालमा बेलायती सेनामा भर्ती भएका काङमाङका अधिकांश साहित्यक सिर्जनाहरूमा युद्ध, युद्धको इतिहास, युद्ध जनित पीडा, यसले आदिवासी समुदायमा पारेको प्रभाव, भाषिक/सांस्कृतिक अतिक्रमण, गोर्खा सेनाहरुको कथाव्याथा भेटिन्छन् । बेलायतमा बम र बारुदसँग सम्झौता गरेको उनको जीवनले कयौंपटक एम्बुस छलेको छ ।

प्रियसी,
म कस्तो गएको थिएँ युद्धमा
त्यस्तै फर्किएको छु युद्धबाट ?
तिम्रो
गोलीजस्तो शिरफुल
तारजस्तो हारी
आगोजस्तो आँखा
ग्रिनेडजस्तो नाक
बमजस्तो कुर्कुच्चा
बन्दुकजस्तो हात
ट्राइपोडजस्तो खुट्टा
माइनजस्तो शरीर
तिमीमाथि बस्दिनँ
….

उनको जीवनमा युद्ध पहिला प्रवेश भयो कि साहित्य ? मामिलाको यस प्रश्नमा काङमाङ भन्छन्–‘साहित्य ।’ त्यसो त काङमाङले वि.सं.२०४५ सालदेखि कलम चलाउन सुरु गरेका हुन् । उनको पहिलो प्रकाशित कृति ‘आशुको दोभान संयुक्त कवितासंग्रह–२०६१’ हो । त्यसपछि ‘अनुहारमा लुकाईएका चोटहरू कवितासंग्रह, २०६५’, ‘युद्ध बोकेको सिताङ युद्ध उपन्यास,२०६८’, ‘खुकुरीको धारमा ‘लाहुरेका युद्ध कथा र व्यथाहरू, २०७१’ ‘पप्पी फूल कवितासंग्रह, २०७४’, ‘एघार नोभेम्बर कथासंग्रह, २०७६’, ‘साखुङबारा किरात राई २२ भाषीहरुको जन्मदेखि मृत्यु संस्कार, २०७७’, ‘तेप्लायु कवितासंग्रह,२०७८’, ‘पानी पतिया गोर्खा सैनिकको इतिहास, २०८१’ लगातार प्रकाशित भए भने अंग्रेजी भाषामा ‘फियरलेस वरिवर’ सन् २०१५ वेलायतको प्रकाशन हाउस् ओलम्पियाबाट प्रकाशित भएको थियो ।

दश बढी पुस्तक सम्पादन गरेका काङमाङ ग्रीनवीच टाईम्स् द्धैमासिक म्याग्जिन वेलायत (२०१२–२०१४) कार्यकारी सम्पादक थिए । सन् २०१७ मा काङमाङ र अप्जसे कान्छाको सम्पादनमा तारा राईको ‘गुरिल्ला गर्र्ल’ वेलायतबाट अंगे्रजीमा प्रकाशित भएको थियो । जसको अंग्रेजी सम्पादन जेम्स ईजीङ्गर र जोसेफ मन्नीले गरेका थिए ।

साहित्य लेखन यात्राको करिब चार दशकको दौरानमा काङमाङले थुप्रै सम्मान तथा पुरस्कारहरू प्राप्त गरेका छन् । उनको कवितासंग्रह ‘तेप्लायु’ले दुई लाख राषी रहेको ‘कवि विमल गुरुङ कृति पुरस्कार, २०७८’ प्राप्त गरेको थियो । उनी २०७८ मा ‘उर्बरा फाउण्डेशन’ र सन् २०२२ मा आदिवासी जनजाती महासंघ वेलायत, र रानाहोँछा परिवार सम्मान वेलायतबाट, यस्तै, २०८० मा अन्नपूर्ण बाररा माविबाट र किरात राई यायोक्खाबाट सम्मानित भएका थिए । थुप्रै प्रतियोगिताहरू जितेका काङमाङलाई सन् २०१९ मा त्रि–चन्द्र मल्टिपल क्याम्पस (मनवशास्त्र समाज र मानवशास्त्र विभाग) मानार्थ सदस्याता तथा सम्मान पनि प्रदान गरिएको थियो ।

यद्यपि काङमाङलाई साहित्य लेखनमा कसैले सफलता हासिल गर्छ जस्तो लाग्दैन । उनी भन्छन्, ‘यो निरन्तर गरिरहने अभ्यास हो । तैपनि पुस्तक प्रकाशित गर्न सक्नु, पुरस्कार, मानसम्मान पाउनु केही मात्रामा सफल हुनु जस्तो लाग्छ ।’

पुरस्कार तथा सम्मान प्राप्त गर्दा र प्रदान गर्दाको, दुवै अनुभव छ काङमाङसँग । पुरस्कार पाउनु भन्दा प्रदान गर्नुले आफूलाई बढी आनन्द दिने उनको अनुभव छ । ‘आफूले पुरस्कार र सम्मान पाउदा आफै (एकल) जस्तो लाग्छ, तर प्रदान गर्दा सामुहिक जस्तो लाग्छ । आफूले पुरस्कार पाउदा भन्दा अरुलाई प्रदान गर्दा औधी खुशी लाग्छ’, काङमाङ आफ्नो अनुभव सुनाउछन् ।

अपजसे कान्छासँगको सहकार्यमा काङमाङले नेपाली साहित्यलाई विश्व साहित्यमा पु¥याउने प्रयास गरे । दुईको प्रयासमा ३/४ वटा नेपाली साहित्यक पुस्तकहरू वेलायतको प्रकाशन गृहबाट प्रकाशित भए । तर, ती व्यापारिक हिसावमा भने असफल भए । कुनै पुस्तकबाट अपजस पनि बुहोर्नु परेको थियो । ‘अझैं पनि हिम्मत चाहीँ हारेका छैनौं ।’, अझैं उस्तै हिम्मत र काम गर्ने हुटहुटी छ नरेशसँग ।

यतिबेला काङमाङ नरेशको गैरआख्यान कृति ‘पानी पतियाः गोर्खा सैनिकको इतिहास’ चर्चामा छ । निबन्धात्मक शैलीमा गोर्खा सैनिकको इतिहासलाई समेटिएको यस पुस्तकमा लाहुरे समुदायले गोर्खा भर्तीका क्रममा भोग्नु परेको विभेद र अन्याय मुख्य विषयको रुपमा आएका छन्, जसलाई पाठकले रुचाएका छन् ।

प्राज्ञ कवि शशी लुमुम्बु भन्छन्, “नेपालमा युद्ध साहित्यलाई काङमाङ नरेशले स्थापित गरेका हुन् । उनी युद्ध साहित्यका ‘नरेश’ हुन् ।”