April 18, 2025, Friday
२०८२ बैशाख ५
1:37:26 pm

‘मद्वारा मेरो निर्माण’ कवितासंग्रह लिम्बु गाउँको चित्रण

तिर्थराज विश्वकर्मा
२०८० जेष्ठ २४

10K

चेतना– बन्जरताले ढाकेको छ
मानव– सम्पूर्णता खोज्छ

युगले थिचेर
इतिहासले छोपिएर
समयले चेप्ट्याएर
सभ्यताले कोचेर
आफ्नै मस्तिष्कको गुलामीले
थिचिएको छु, पुरिएको छु,आफैंभित्र।

यी ‘मद्वारा मेरो निर्माण’ कविताका केही हरफहरु हुन् । अहिले मेरो टेबल अघि मसँगै बसिरहेका छन्, दुईवटा पुस्तक, ‘लेप्मुहाङको डुङ्गा’ र ‘मद्वारा मेरो निर्माण’ । यी पुस्तकहरु मैले भर्खरै पढेर सकाएँ ।

Advertisement

म खासै पुस्तकहरु पढ्ने मान्छे होइन, पढेपछि प्रतिक्रिया लेख्ने मान्छे पनि होइन । तर आज लेख्ने प्रयास गरेको छु । अरुका लागि प्रतिक्रिया लेख्नु सहज हुन सक्ला तर मेरो लागि निक्कै अफ्ट्यारो काम हो । त्यही अफ्ट्यारो काम गर्न खोज्दै छु । मलाई यो कुरा थाहा छ कि, म त्यति लेख्नु सक्दिनँ । सक्दिनँ भन्दा पनि जान्दिनँ भन्दा अलिक ठिक होला । तर कोसिस भने गर्न सक्छु । त्यही कोसिस हो यो लेख । यो सामान्य एक पाठकको सामान्य प्रतिक्रिया हो ।

कवि पराजित पोमुद्धारा लिखित ‘मद्वारा मेरो निर्माण’ कवितासंग्रह बजारमा आएको धेरै भएको छैन, तर मैले यो संग्रह दुइचोटी पढिसकेँ । ‘लेप्मुहाङको डुङ्गा’ कवितासंग्रह पनि पराजित पोमुकै नै हो । तर यो अलिक अगाडि नै बजारमा आएको हो ।

‘मद्वारा मेरो निर्माण’ कविता संग्रहको कुरा गरौं । यो कविको दोस्रो कवितासंग्रह हो । यस संग्रहमा जम्मा ३८ ओटा कवितालाई सजाएर राख्नु भएको छ । ति ३८ ओटा कवितालाई ३ खण्डमा विभाजन गर्नु भएको छ । खण्डहरु यसप्रकार रहेकाछन्ः
खण्ड क: अस्तित्वको तङ्सिङ,
खण्ड ख: अम्लारी मन,
खण्ड ग: समयको चोःत्लुङ ।

कविले दिनु भएको खण्डहरुको नाम सुन्दै गजब जो कसैलाई गज्जब लागेर आउँछ । कविले सुन्दर तरिकाले तीन वटा खण्ड मिलाएर राख्नुभएको छ । उहाँले खण्ड मात्रै होइन कविता पनि मिलाएर राख्नु भएको छ । ‘मद्वारा मेरो निर्माण’ संग्रहको नामै गजब छ । आवरण त कुरै नगरौं ।

हरेक खण्डमा एक–एकजना साहित्यकारले कवितामाथि आफ्नो कुराहरु लेख्नुभएको छ । त्यो पढ्दा पनि आनन्द आउँछ तर जति कविता पढ्दा आउँछ त्यति चाहिँ आउँदैन । संग्रहभित्र कविले अस्तित्व, प्रेम र यो समयको कुराहरु राख्नुभएको छ । कविले ३ खण्डमा किन कविताहरु राख्नुभएको होला ? हजुरहरुले थाहा पाउनुको लागि तपाइँ आफैले एकपटक कवितासंग्रह पढ्नुपर्ने हुन्छ । कविलाई ३ अङ्कसँग खुब प्रेम छ भन्ने कुरा बुझिन्छ किनकी कविले प्रायः कवितामा ३ लाइनको हरफहरु धेरै प्रयोग गर्नुभएको छ । कविताहरुको भिडमा कविको कविता सजिलै चिन्न सकिन्छ । कसरी ? त्यसको लागि भएपनि हजुरहरुले पढ्नुपर्ने हुन्छ ।

माथिको डाँडामा बसेर तलको लिम्बु गाउँलाई हेरिरहेको जस्तो लाग्छ यहाँका कविताहरु पढ्दा । उहाँ लिम्बू भएको कारणले पनि होला उहाँको कविताहरुमा आफ्नो गाउँको चित्र मज्जाले उर्तान सफल हुनुभएको छ । आफ्नो कुराहरु कति मज्जाले उठाउनु भएको छ । कसैलाई नदुख्ने गरी, कसैलाई नघोच्ने गरी । आफ्ना कुराहरुलाई कवितामा कसरी राख्न सकिन्छ ? कसरी राख्दा राम्रो हुन्छ ? भन्ने कुरा हजुरहरुलाई लागेको छ भने एकचोटि पढ्न सक्नुहुन्छ ।

बजारमा आएका केही कविताहरु छन्, जो कविताहरु अरुलाई गाली गरेर मात्रै आफ्नो कुरा राख्नुपर्छ भन्ने किसिमका छन् । तर यश संग्रहको कविताहरुमा त्यस्तो कम नै पाइन्छ । कसैलाई गाली नगरी, नराम्रो नभनी पनि आफ्नो कुराहरू मज्जाले राख्नुभएको छ ।

कवि केही समय कोरिया बस्नुभयो, तर कोरियाबाट पनि उहाँले गाउँ र देश नै देख्नुभयो, लेख्नुभयो । सायद कविलाई देश÷गाउँले सपना÷ विपना चिमोठी रहन्थ्यो होला । कविले आफू बाँचेको समय बढो इमानदार साथ लेख्न सफल हुनुभएको छ भन्दा फरक नपर्ला ।

कविले कोरियाको बारेमा एकदुई ओटा मात्रै कविता लेख्नुभएको छ । तर त्यो कविता निक्कै बलियो छ । त्यो कविता म कोरिया नपुगेको मान्छेले पढ्दै गर्दा त भित्र कतै स्वास गाँठो परे जस्तो लाग्यो । झन् कोरियामा श्रम गरिरहने मान्छेहरुले त्यो कविता पढ्दा कस्तो भयो होला ?

वास्तवमा आफ्नो पहिचान, अस्तित्व, भाषा, संस्कार, सस्कृतिको विषयलाई सुन्दर ढंगले लेख्नुभएको छ । त्यसलाई तारिफ गरेर कम नै हुन्छ होला । सरल कविता पढ्ने पाठकहरुलाई भने बुज्न अलिक गा¥हो हुनसक्छ । तर दोहोराए पढ्दा मज्जा हुन्छ । यो बजारमा चलेको हल्ला भन्दा अलिक पर बसेर आफ्नो माटोको कुराहरु सारै मज्जाले लेखिरहनुभएको छ । आफ्नो माटोको कुरा लेख्न माटोलाई प्रेम गर्न सक्नुपर्छ, कविले माटोलाई खुब प्रेम गर्नुहुन्छ । भन्ने कुरा संग्रहपढेपछि मज्जाले थाहा पाउन सकिन्छ ।

र, अन्त्यमा अझैं केही कविताहरु थपेको भए पनि गजब नै हुन्थ्यो जस्तो लाग्यो । यो समयको केही जल्दाबल्दा विषयबस्तुलाई छुटाएको होकि जस्तो पनि लाग्यो । यो मलाई मात्रै लागेको पनि हुन सक्छ । आफूलाई निर्माण गर्न सफल हुनु भएकोमा बधाई र शुभकामना कविलाई ।