March 20, 2025, Thursday
२०८१ चैत्र ७
1:37:26 pm

यहि देशको सेवा गर्दै आफ्नो अस्तित्व र पहिचान खोजिरहेका युवा कवि-किरण सिवा

8K

इटहरीको भूमिले जन्माएको प्रखर युवा कवि हुन्–किरन सिवा । किरन सिर्फ कविता मात्रै लेख्दैनन् । उनी त आफैले बाँचेर आएको जीवन भोगेका दमन र विभेदलाई लेख्छन् । क्रान्तिको मुस्लो ओकल्छन्, बेथिति विसंगति लेख्छन् । साथमा प्रेम पनि लेख्छन् । ‘म कथित निम्न वर्गको जातीय समुदायमा पर्छु, यदि अन्य समुदायमा भएको भए यति भावनात्मक हुने थिइनँ होला ।’– यति शक्तिशाली कविता कसरी लेख्नुहुन्छ ? भन्ने प्रश्नमा उनले दिएको जवाफ हो यो ।

बुवा हरेक दिन अभाव सम्झेर
आवश्यकता सिउनु हुन्छ, परिवार सम्झेर आफ्नै रहर सिउनु हुन्छ

जब
मेसिन घुमाउनु हुन्छ बुवा
वर्षौदेखि नफेरिएको आमाको साडीले रङ्ग फेर्छ,
किस्तामा फसेको घरको लालपुर्जाले अलिकति सास फेर्छ

Advertisement

बुवा
विभेदको संघारमा आफ्नै इमान बन्धकी राखेर
आउने जानेहरूलाई स्वागत गर्नुहुन्छ ।

यी भर्खरै सम्पन्न नेपाल प्रज्ञा प्रतिष्ठानद्धारा आयोजित राष्ट्रिय कविता महोत्सवमा तृतीय स्थान प्राप्त गर्न सफल ‘बुवाको सिलाई मेसिन’ शिर्षक कविताको केहि अंश हरफहरू हुन् । जुन कविताको शब्द–शब्दमा बुबाले बाँच्नुभएको तितो जीवन छ । ‘हामी अझैं पनि पल्लोघरभित्र पस्दैनौँ नि !’– पीडा मिश्रित हासो फिस्स हाँस्दै किरन बताउछन् । सानो छँदा कथित उच्च जातका बालबालिकाहरूसँग खेल्ने अनुमति थिएन उनलाई । एकदिन कलको पानी खाँदा हात समातेर बारबाट धकेलिदिएको अझैं सम्झन्छन् उनी ।

हिजो
देश र जनताको हितकै लागि बोल्दै हिँड्ने
तल्लो घरे दाजुले पनि
बुवाकै मेसिनमा झण्डा सिलाउन दिनुभयो
र भन्नुभयो–
हावामा स्वतन्त्र सुर्यचंन्द्र फर्फराउने झण्डा बनाउनु,

बुवा झण्डा बनाएर घरसम्म पुग्नु हुन्छ
र दैलो बाहिरै बाट झण्डा बुझाँउनु हुन्छ

‘त्यसो त वहाँहरू अहिले मलाई तपाइँ हजुर भन्नुहुन्छ नि ! तर, घरमा भने बोलाउनुहुन्न । म यहि विषयलाई लेखिरहन्छु ।’ हो, कवि किरनको जीवनको यथार्थ हुन् यी कविताका हरफहरू ।

जसले आफूमाथि विभेद गरे/गर्छन्, त्यसप्रति कवितामार्फत उठाइरहेको समानताको आवाजलाई उनीहरूले पढे/सुने तापनि त्यसले उनीहरूलाई पछुतोसम्म त होला, तर परिवर्तन भएको छैन भन्ने लाग्छ उनलाई ।

पुख्र्यौली थात्थलो खोटाङ भएतापनि उनका पिता सानै छँदा तराई झरेका थिए । बुबा पदम सिवा र आमा अन्जनी सिवाबाट उनको जन्म भयो । इटहरी–२ शिवालय चौक बन्यो उनको स्थायी घर । यहिँको महेन्द्र माध्यमिक विद्यालयबाट शिक्षा हासिल गरे । उनलाई थात्थलोबारे त्यति जानकारी छैन, तर थात्थलोलाई असाध्यै प्रेम गर्छन् । पेशाले भने उनी नेपाल सशस्त्र प्रहरी बलमा सेवारत छन् । देशको सेवा गर्दै साहित्यमार्फत् यहि देशमा आफ्नो अस्तित्व र पहिचान खोजिरहेका होनहार युवा कवि हुन् किरन।

किरनले बालसाहित्यबाट प्रेरित भई कविता लेखन सुरु गरे । दिनेश अधिकारीको ‘हर्क बहादुर’, कृष्ण सेन इच्छुकको कविता ‘कान्छी भट्टी र देश’ पढेपछि उनलाई लाग्यो–कविता त यस्तो पनि हुने रैछ ! त्यसपछि गद्य कविता कोर्न सुरु गरे ।

कविता लेखनको यो ९ वर्षको अन्तरालमा कविता लेखेरै सिवाले थुप्रै सम्मान तथा पुरस्कारहरू प्राप्त गरेका छन् । उनको कविता १३४ औं लेखनाथ जन्म जयन्ती–२०७४ को अवसरमा गरिएको प्रदेश १ स्तरीय कविता प्रतियोगितामा प्रथम, इटहरी सांस्कृतिक महोत्सव २०७५ प्रदेश–१ स्तरीय कविता प्रतियोगितामा प्रथम र हाल नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव–२०७९ मा तेस्रो बन्न सफल भएका छन् । यस्तै, अन्य थुप्रै खुल्ला प्रतियोगितामा पुरस्कृत भएका छन् ।

साहित्यको उर्वर क्षेत्र इटहरीमा हुने साहित्यिक कार्यक्रमहरूमा हिँड्दै जाँदा, कविता सुन्ने र कवितामाथि तर्क गर्दै जाँदा कविता बुझेको बताउछन् किरन । आफू आवद्ध क्यानभास साहित्य समाजबाट पनि विभिन्न साहित्यिक गतिविधि गर्दै आइरहेका छन् । करिब ४०/४५ को सङ्ख्यामा कविता लेखेका छन् । जसमध्ये उनी आफैलाई मनपरेको कविता हो–

“डोबहरू”

बर्षौ पछि भेटिएको छ
गुमनाम दोबाटोको छाती टेकेर हिडेका पाईतालाका डोबहरू

सन्नाटाहरूको उत्सव मनाउदै गरेको
यी दोबाटोहरूमा अल्मलिएका
डोबहरू क–कस्का होलान सोचिरहेछु

खसाईसकेर आँसु , दुखको अन्तिम किनारा लागेर
पर्देशिएको कुनै छोराको डोबहरू होला
जसले कामाउनेछ खुसी र भत्काईदिनेछ आवश्यकताका पर्खालहरू

वा
चुपचाप चुपचाप
सिमानामा हिडेका कुनै जवानको डोबहरू होला
जसले आफ्नै स्वाभिमानको आयु मृत्युलाई सुम्पिएको छ

उसो त डोबहरू
बिथोलेर यादका सुनौलो पलहरू
फेरि कहिलै फर्किएर नआउने
कस्सम खाएर हिडेको कुनै प्रेमिकाको होला
जसले आफ्नो प्रेमीलाई उपहारमा छाडिदिएको छ मात्र यी डोबहरू

भनौ यी डोबहरू
गाउँ बिर्सिएर रहरहरूको आकार फेर्न सहर पसेकाहरूको होला
सायद उनिहरूले बसाई सरेको खबर ती डोबहरूलाई छाडेर गएका छन्

ती डोबहरू
छोरा बुहारीले गाडीभाडा थमाएर बृद्धआश्रम पठाएका
कुनै बाआमाका होला
जो आफ्ना सन्तान खुसी रहोस् भनेर
आशिर्वाद स्वरूप छाडेका डोबहरू हुन्

डोबहरू
जीवन हारेर सन्यास लिएका कुनै अघोरीको हुदो हो
जनमुक्तिका लागि हिडेका कुनै लडाकुहरूको हुदो हो

यसरी गुमनाम दोबाटोमा यी डोबहरूको अवशेष
पक्कै समयको चक्रब्युबाट जोगिएको हुनु पर्छ ,
मैले यी डोबहरू हेरे र नियाले आफू बाचिरहेको समय
डोब छोडेर जानेहरूलाई यो समयले मेटाउन नसक्दो रहेछ ।

कवि सिवाका सबै कविताहरू उत्कृष्ट छन्, तर कवितासङ्ग्रह भने निकालेका छैनन् । किन ? भन्ने प्रश्नमा ‘हतार नगरेको’ जवाफ दिन्छन् । कवितासङ्ग्रह आइसकेपछि उत्कृष्ट कविताहरू आउन् भन्ने उनको धारणा छ । यसको मतलब उत्कृष्टमाथि अति उत्कृष्ट कविता लेखनको तयारीमा छन् उनी । यद्यपी केहि वर्षभित्र संग्रह आउने बताए ।

इटहरीबाटै साहित्य यात्रा सुरु गरेका किरण भन्छन्– ‘काठमाडौं र मोफसलको सर्जकहरूबीच खाडल छ ।’ अझैं पनि मोफसल भन्न मिल्छ र ? यस प्रश्नको जवाफमा भन्छन्– ‘किन मिल्दैन ? त्यहाँ राष्ट्रिय मिडिया छ । काठमाडौंमा प्रकाशन भएका सामान्य समाचारहरू राष्ट्रिय बन्छन्, चर्चामा आउँछ । काठमाडौं बाहिरका साहित्यकारहरूलाई अवसर दिँइदैन । धेरै राम्रा प्रतिभाहरू नआउनुको कारण पनि यहि हो । तब किन मोफसल भन्न मिल्दैन ? स्थानीय मिडियाले प्रसारण गरेको सामग्री सिमित क्षेत्रलाई मात्र हुन्छ ।’ स्थानीय मिडियाले पनि संघर्षरत युवाहरूलाई अवसर नदिएको उनको गुनासो छ । मिडियामा देखिएका सबै अनुहार अग्रजहरूको मात्रै देखेको बताउछन् । ‘उमेरले पाको मान्छेले मात्रै अन्तवार्ता दिने, मिडियामा आउने हो कि, युवाहरूको क्षमता नभएको हो ? कवि सिवा प्रतिप्रश्न गर्छन् । अग्रज त यसै ‘लिजेन्ड’ हुन्, अनुजलाई ध्यान दिनुपर्ने हो तर त्यसो भएको छैन ।– उनी भन्छन् ।

त्यसो त धेरैको मनमष्तिष्कमा बस्न सफल छन् किरण । हालै सम्पन्न राष्ट्रिय कविता महोत्सवबाट उनले अझ धेरै लेखक, पाठक तथा साहित्यप्रेमिहरूको मन जितेका छन् । उनको साहित्यिक उचाइ थप चुलिएको छ । प्रतिष्ठानमा पाइला टेक्न सफल भएकोमा अत्यन्तै खुशी लागेको पनि बताउछन् किरण ।

एक कविको भनाइ झैं कवि सिवालाई पनि कविता आफूभित्र भगवानले बोल्ने भाषा लाग्छ । ‘कविता म भित्रको भावनामा भगवान भएर बसेको हुन्छ, जसले मलाई कवि भनेर चिनायो ।’