सपना देख्ने उत्तमका आँखाहरु साना थिए । तर, ती आँखाहरुमा सजिएका उसको सपना भने कदापि सानो थिएन ।
हुन पनि गाउँमा अरु कसैले नदेखेको सपना देखेको थियो उत्तमले– कवि बन्ने ।
त्यही सपना पछ्याउँदै ऊ कुरुले तेनुपाको सानो गाउँबाट धनकुटा बजार आइपुग्यो, जसरी गाउँमुनिको सानो छरुवा खोला बग्दैबग्दै तमोरमा आइपुग्छ ।
धनकुटामा ऊ एउटा पुरानो माटोको घरको अन्डरग्राउण्ड कोठामा डेरा गरेर बस्यो । कोठा साह्रै सानो र अँध्यारो थियो । त्यही अँध्यारो कोठामा बसेर उसले उज्यालो कविताहरू लेख्न थाल्यो ।
घरको आर्थिक हैसियत नाजुक थियो । उसले बुबाआमाबाट खर्चको आस गरेन, बरु धनकुटा एफएममा हरेक शनिबार राति श्रष्टासुमन कार्यक्रम चलाउन थाल्यो । कार्यक्रम चलाउँदै विभिन्न विद्यालय र क्याम्पसहरुको साहित्यिक कार्यक्रमहरुमा कविता वाचन गर्न थाल्यो । कार्यक्रममा कविता वाचन गर्दा ऊ सँधै पहिलो हुन्थ्यो । हुन पनि उसको वाचनले मन्त्रमुग्ध नहुनेहरू सायदै थिए । स्टेज पायो कि कुनै फेदाङ्बालाई देउता चढेजस्तै उसले आँखा चिम्म गरेर हृदयबाटै कविता वाचन गर्न थालिहाल्थ्यो, त्यो पनि लेखेको टेक्स्ट नहेरी । सबैले हेरेर कविता वाचन गर्दा त्यसरी नहेरी कविता वाचन गर्ने ऊ मात्र एक्लो थियो ।
कविता वाचन गर्दैगर्दा उत्तमका आँखाहरू चिम्म भएका थिए । तर त्यही चिम्म परेका आँखामा कविताको डरलाग्दो उज्यालो देखे धनकुटाका दुई अग्रज कवि केजि सुब्बा र मुकुन्द प्रयासले । अनि कार्यक्रम सकिएपछि तिनै अग्रज कविहरुले टिनएजर उत्तमलाई एउटा पसलमा लगेर चिया पिलाए । चियाको चुस्कि बढेसँगै क्षणभरमै उनीहरुको आत्मियता पनि बढ्यो । तब त उत्तमलाई के चाहियो ? दुई अग्रज कविहरुसँग मिलेर धनकुटाको हरेक कार्यक्रमहरुमा उपस्थिति जनाउन थालिहाले ।

बजारको राम्रै व्यवसायीमा दरिन्थे मुकुन्द प्रयास । केजि सुब्बाले स्कुल पढाउँथे । खर्चको अभाव हुने कुरै थिएन । त्यही दोस्तीयारीमा उनीहरुले पोस्टर कविता अभियान, टिसर्ट कवितालगायत विभिन्न साहित्यिक अभियानहरू सन्चालन गर्न थाले । उत्तमको प्रभावले केजि सुब्बाले पनि टेक्स्ट नहेरी कविता वाचन गर्न सिके । त्यसपछि त धनकुटामा उनीहरुको एकछत्र राज चल्न थाल्यो । एकपटक त यस्तो माहौल बनेको थियो कि उत्तम तुम्साको कविता वाचनबिना कुनै कार्यक्रमहरुमा दर्शकहरु भेला हुनै मुस्किल पथ्र्यो ।
धनकुटा जिल्लाको एकजना नेताले उसको कविताबाट प्रभावित भएर ब्याचलरसम्मको सबै क्याम्पस खर्च र बसोबासको बन्दोबस्त गरिदिने प्रस्ताव राख्यो । नेताको प्रस्ताव सुनेर ऊ खुसी नहुने कुरै थिएन । तर, अन्तमा नेताले सर्त राख्यो– ‘कविता चैँ बेलाबेला हाम्रो पार्टीको लागि पनि लेख्नुपर्ने हुन्छ है !’ सानैबाट हक्की स्वभावको उत्तमले नेताको त्यो प्रस्तावलाई त्यहीँ खत्तम गरिदियो ।
जब उत्तमले ‘धनकुटेली काव्यतारा’ उपाधी जित्यो, उसको चर्चा ह्वात्तै बढिहाल्यो । पहिले देख्दा नाक खुम्च्याउने तथाकथित वरिष्ठ कविहरू पनि आफै हात मिलाउँदै परिचय गर्न अघि बढे । डेरा बस्दा एक मुठा साग नपत्याउने फुटपाथ पसलेहरुले पनि नमस्कार गर्न थाले । उसले नोकियाको सानो टुकटुके फोन किनेर भर्खरै फेसबुक खोलेका थिए । एकदिन बिराटनगरमा स्टाफ नर्स पढ्दै गरेकी पहिले बाल्यकालमा सँगै हुर्किएको गाउँकै एकजना साथीको पनि फ्रेण्ड रिक्वेस्ट आयो । कविताको यात्रासँगै बिस्तारै उनीहरुको सम्बन्धले पनि प्रेमको यात्रा तय गर्यो ।
हिमालबाट पलाएको खोला पहाडको साँघुरो खोँच र पहरा हुँदै तराइको समथर फाँट झरेर विशाल नदि बन्छ । सपना पनि नदिजस्तै हो, झन्झन् फैलिन चाहन्छ ।
काठमाडौंमा देशकै मुर्धन्य कविहरू बस्छन् । उसलाई पत्रीकामा मात्रै पढिएका ती कविहरुलाई प्रत्यक्ष भेट्ने हुटहुटी जाग्न थाल्यो । त्यतिन्जेलमा उसले प्लस टुको अध्ययन सकाएर ब्याचलर्स फस्ट यिअर जोइन गरेको थियो । गोजिमा पच्चिस सयजति थियो । हजार रुपैँयामा नाइट बसको टिकट काटेर दुई कवि दाइहरुसँग बिदा माग्दै एकदिन उसले धनकुटा छाड्यो । मुलघाट आइपुग्दा झ्यालबाट तल हेर्यो, तमोर खोला सप्तकोसीमा मिसिन बग्दै थियो ।
मुलघाट कट्नेबित्तिकै गित बज्न थालिहाल्यो– ‘आ कहीं दुर चले जायें हम्…’

***
कल्पनाको बुइ चढेर जति नै माथी उडे पनि मान्छेहरू बाँच्ने भनेको यथार्थमै हो ।
ठुलै कवि हुने रुमानी सपना बोकेर धनकुटाबाट हिँडेको उत्तमको लागि काठमाडौं सोचेजस्तो थिएन । त्यहाँ त ऊ जस्तै सपना बोकेर सहर पसेका सैयौँ कविहरू आआफ्नो हाराकिरी र उल्झनमा ब्यस्त थिए । आआफ्नो संघर्ष र बाध्यताहरुमा खुम्चिएर बसेका थिए । उसले थाहा पाएजति सबै साहित्यिक कार्यक्रमहरुमा उपस्थिति जनाए । अग्रज र समकालिन कविहरुसँग चिनजान गरे । स्टेजको आस गर्दै चिया पिए । तर बिरानो सहरमा नयाँ कविले त्यति सजिलै कहाँबाट स्टेज पाउनु ? स्टेज पाउनलाई त साथी सर्कल चाहिने रैछ । कि त ठुला बढाहरुलाई खुसी बनाउन पर्ने रैछ । ठूलो सहरमा उसको भावना बुझ्दिने को नै थियो र ?
हठात् उसले काठमाडौं छिरेका धनकुटाकै अग्रज कविहरुलाई सम्झे । फेसबुकमा ‘म पनि राजधानी छिरेको छु’ भनेर लामो म्यासेज गरे । तर उनको म्यासेज सिन मात्रै भयो, कैयौँदिन पर्खिंदा पनि प्रतिक्रिया आएन । उसलाई एकाएक सपनाको मोहभङ्ग भएजस्तो लाग्यो । तर स्वाभावले जब्बर उसले हरेस खाएन ।
एकातिर सपनाको तिर्खा, अर्कोतिर पेटको भोक । अब एउटा मात्रै संघर्षले नहुने भयो । उसको गाउँका दाइहरू इमाडोल बस्थे । तिनै दाइहरुसँग मिलेर उसले लुभु, सानागाउँ र इमाडोलको बिल्डिङहरुमा खाक्सी दल्न थाले । ज्याला थियो दिनको छ सय । उसको लागि त्यही छ सय पनि ठूलो रकम थियो । ऊ दिनभर मजदुरी गथ्र्यो, रात परेपछि गुपचुप कवितामा घोत्लिन्थ्यो ।
‘अरु कविहरुले कविता लेख्छन्, म चैं कविता सोच्छु । मेरो लागि मस्तिष्क नै कागज हो । दिमागमै सबै कविताहरू सेट छन्’, उत्तम यसबखत हाँस्दै सुनाउँछ ।
उसले खाक्सी दलेको रङ्गीन बिल्डिङहरू घाममा टलक्क टल्किन्थ्यो । ऊ साँझबिहान आफ्नो कोठामा बसेर ती बिल्डिङहरू हेर्दै सुस्ताउँथ्यो । सडकहरुमा पैदल हिँड्दा ती बिल्डिङहरु हेर्दै उच्छवास गथ्र्यो । एकदिन ती बिल्डिङहरुजस्तै उसको पनि सपनाले रङ्ग फेर्ने दिन आयो ।
त्यसरात ऊ कामबाट फर्केर ओछ्यानमा ढल्किरहेको थियो । अचानक ‘अनेसास दक्षिण कोरिया’ नामक आइडिबाट फेसबुकमा फ्रेण्ड रिक्वेस्ट आयो । उसले त्यतिबेला पो हठात् अनेसासबाट आयोजित अन्तराष्ट्रिय कविता प्रतियोगितामा महिनादिनअघि कविता पठाएको सम्झियो । उसले प्रतियोगिताबाट आशावादी हुँदै फ्रेण्ड रिक्वेस्ट एसेप्ट गर्यो । नभन्दै त्यसको केही दिनमा नतिजा घोषणा भयो । सैयौँ प्रतिस्पर्धिलाई उछिन्दै ऊ सदाझैँ प्रथम भयो । प्रथम भएसँगै उसले रू २५ हजार नगद पुरस्कार पायो । पुगनपुग पाँच सयजती साथी भएको उसको फेसबुकमा एकाएक पाँच हजारभन्दा बढी फ्रेण्ड रिक्वेस्ट आयो ।
तब त पहिले अनदेखा गर्ने कवि साथिहरू पनि एकाएक उसँग भेट्न लालायित हुन थाले ।

त्यतिबेलै बिराटनगरमा नर्सिङ पढिरहेकी उसको प्रेमिका पनि बेलायतको लागि प्रोसेस गर्न काठमाडौं आइपुगिन् । एउटै सहरमा प्रेमिकासँग छुट्टाछुट्टै भएर बस्न मनले मानेन । दुईवटा ज्यान भएपछि उनीहरू चाँगाथलीमा डेरा लिएर सँगै बस्न थाले । उत्तमको एक्लो ज्यान अब एक्लो रहेन । उनीहरुको प्रेम सम्बन्ध पनि अब प्रेमसम्बन्धमात्रै रहेन । उनीहरू अघोषित रुपमा श्रीमानश्रीमती बने।
उत्तम स्टेजहरुमा कविता वाचन गर्दै साँझ बिहान मजदुरी गथ्र्यो । उसकी श्रीमती बेलायत जाने भिसाको प्रोसेसमामा । तर स्टेजमा कविता वाचन गरेको अनि मजदुरीबाट आम्दानी गरेको पैसाले मात्रै जिन्दगी कहाँ चल्थ्यो र ? बिस्तारै उसले पनि श्रीमतीसँगै बाहिर गएर भविष्य बनाउने सोच बनाउन थाल्यो ।
श्रीमतीको भिसा लाग्यो । उनी बेलायत छिरिन् । श्रीमती बेलायत छिरेपछि उत्तमले पनि सुन्दर भविष्यको कल्पना गर्न थाल्यो । एक बर्षपछि श्रीमती नेपाल फर्किइन् । यही मौकामा उनीहरुले धनकुटा गएर धुमधामसँग बिबाह गरे ।
बिबाह गरेर श्रीमती बेलायत फर्किइन् । बेलायत पुगेको केही महिनापछि उनको मन पनि अन्तैतिर फर्कियो । उनी अचानक उत्तमबाट टाढा हुन थालिन् । सम्बन्धमा एकाएक दरार सिर्जना भयो । कविताको लागि काठमाडौं छिरेको उत्तमले भविष्यको लागि बेलायत छिर्ने अर्कै सपना देख्न थालेको थियो । त्यो सपना एकाएक चकनाचुर भयो । काँचको महलजस्तै । उसो त बियोगको पीडाले उसको मन पनि छियाछिया भइसकेको थियो । विदीर्ण बनिसकेको त्यो मनलाई बुझाउन उसले कति बोतल र गिलासहरू रित्यायो ? हिसाब छैन ।
त्यही क्षण उसले कविता सोच्यो–
‘भेटिएला या नभेटिएला
सम्झनाको भङ्गालोमा
छुट्दै–छुट्दै बगिजानेलाइ ?’
अन्ततः एकदिन उनीहरू डिभोर्स गर्ने निर्णयमा पुगे ।
सम्बन्ध बिग्रेको एक बर्षपछि उसकी पूर्व श्रीमती डिभोर्स गर्न नेपाल आइन् । उनीहरू दुबै डिभोर्स गर्न धनकुटा जिल्ला अदालत पुगे । डिभोर्स भएपछि आगामी जिन्दगीको सुभकामना दिँदै उसले बिदा माग्यो । तर, पूर्व श्रीमतीले अन्तिमपटक धनकुटा बजार घुम्ने रहर गरिन् । उनीहरू आपसमा आगतका कुरा गर्दै बाइकमा सँगै धनकुटा बजार घुमे । साँझपख छुट्टिने बेला उसलाई प्रस्ताव आयो – ‘सँगै नरहेपनि म जसरी पनि तिमीलाई बेलायत लान्छु ।’
‘पर्दैन । मलाई कसैको सहानुभूति चाहिँदैन ।’, उसले बाइक स्टार्ट गर्दै भन्यो ।
‘भविष्य सोचेको भए म बेलायत जान सक्थेँ । तर, मैले कविता सोचेँ ।’, गाढा मिल्क टि पिउँदै उत्तम यसबखत गम्भीर भएर भन्छ ।

***
शिशिरले उजाड बनाएका डाँडाहरुमा बसन्तले पालुवा हालिदिन्छ । समयले दिएको घाउ पनि समयले नै पुरिदिन्छ । उत्तमको जीवनबाट पनि ती बियोगका दिनहरू गुज्रीसके ।
एकदिन कालिङ्ग लिट्रेचर फेस्टिभलमा भेटिएका केही साथीहरुसँग पाटनमा चिया पिउँदापिउँदै उसको दिमागमा एउटा आइडिया फुर्यो । चिया पिइरहेका साथीहरुसँग मिलेर उसले सम्भव समूह गठन गर्यो । अहिले ऊ एक्लो छैन । उसँग केही थान नयाँ कविताको ड्राफ्ट र आफैले गठन गरेका सम्भव समुहका सिर्जनशिल कवि साथीहरू ।
तिनै साथीहरुसँग मिलेर ऊ साहित्यिक कार्यक्रमहरू आयोजना गर्छ । अनुज कविहरुलाई अग्रज कविहरुसँग जोड्न सहयोग गर्छ । र सोचिबस्छ कवितामा नयाँनयाँ आन्दोलन र मुभमेन्टहरुको बारे।
उत्तम राम्रो कवि त हो । साथसाथै राम्रो पर्फमर र गायक पनि । उसले कवितामा नयाँनयाँ प्रयोगहरू गर्न खोज्छ । त्यही प्रयोग गरेर एउटा म्युजिकल पोइम पनि रेकर्ड गरेको छ– “भिरफूल” । साथै अरु एक दुईवटा नयाँ म्युजिकल पोइमहरुको तयारी पनि गरिरहेका छन् । संग्रहको रुपमा कविता त एक दशक अघि नै बजारमा आइसकेको छ “क्यालिग्राफी” शीर्षकमा ।
‘बच्चै बेला लेखेको त्यो सँग्रह म कसैलाई पनि देखाउदिनँ । बरु फेरि सम्पादन गरेर अर्को संस्करण ल्याउँछु ।’, ऊ सुनाउँछ ।
“युगका स्वरहरु”, “मुलुक कहिले फर्किन्छस् ठुले?”, “ठुलीले जाँड बेच्न छाडिन्”, “सम्झनाको मफलर” लगायतका कविताहरु पढेर भन्दा पनि सुनेरै उसको फ्यान भएका कैयौँ सुभचिन्तकहरु छन् । ती सुभचिन्तकहरुको लागि कवि भनेको उत्तमबाहेक अरु कोही हैनन् भन्ने मिठो भ्रम पनि छ ।
उसले सानैबाट स्टेज चढेपछि पारिश्रमिक बुझ्ने गरेको छ । पारिश्रमिक बिना ऊ स्टेजै चढ्दैन । यो उसको अहंकार भन्दा पनि स्वाभिमान हो । कविहरुले यसरी नै आफ्नो सिर्जनाको मूल्यबोध गर्न सक्नुपर्छ । यसले कविहरुलाई उर्जा र प्रेरणा दिन्छ । सम्भव समुहले यस्तो कार्यहरुलाई निरन्तरता दिने अभियान थालेको छ । उसको तर्क छ, ‘कविता पढेर मात्रै हैन सुनेर पनि इन्ज्योय गर्न सक्नुपर्छ’, उसको अर्को मान्यता छ’, ‘त्यसको लागि वाचन शैलीको अति नै महत्व छ । राम्रो वाचनले कवितालाई झनै बलियो बनाउँछ । बरु वाचनमा पनि प्रयोग र भेरिएसन ल्याउन खोज्नुपर्छ ।’ कहिले प्रेमको बिरह गाईरहेको ऊ कहिले स्टेजै उचाल्ने गरी प्रतिरोध चिच्याइरहेको हुन्छ । कहिले पाःलाम र ख्यालीको भाकामा सुस्ताइरहेको ऊ कहिले दुःखको तलाउमा डुबिरहेको हुन्छ ।
उसले एकपटक धनकुटाको सभाहलमा भनेको पनि रैछ– ‘कविताले माग्यो भने म स्टेजमै आत्महत्या पनि गर्न सक्छु ।’
कवितासँग उसको त्यस्तो पागल प्रेम छ । अमेरिकी कवि एलन गिन्सवर्गले ‘My madness is dear to me’ भनेजस्तै।
***

कविता कर्मबाहेक ऊ अर्थोक केही पनि गर्दैन । कवितासँगै बर्षौबाट उसको साथ नछुटेको एउटा बाइक पनि छ । मनलाग्दा साथीहरुसँग सम्पर्कबीहिन भएर पठाओ गर्छ । आवश्यक परेको बेला गाउँमा बुबाआमालाई खुत्रुक्क खर्च नि पठाइदिन्छ । छोराले कवितामा लागेरै पैसा कमाउँछ भन्ने बुढाबुढी भइसकेका बाउआमाको बुझाइ छ । त्यै भएर यस्तो गर उस्तो गर भनेर उसलाई घरबाट दबाब छैन ।
पहिलेपहिले त पठाओबाट राम्रै आम्दानी हुन्थ्यो । अहिले त पठाओ गर्ने मान्छेहरू धेरै भएर उस्तो राम्रो आम्दानी पनि हुन्न । कार्यक्रम भएको थाहा भयो भने ऊ पठाओ गर्दैगर्दा काम छोडेर कविता सुन्न पुगिहाल्छ । उसको कार्यक्रम र पठाओ चल्दा पो खर्च पनि बन्छ । बेखर्ची हुँदा त बेलाबेला ऊ भोकभोकै पनि हुन्छ ।
पेट भोको भएको बेला उसको मस्तिष्कलाई कविताले झन् धेरै अठ्याउँछ ।
गाउँमा सँगै हुर्केका दमालीहरू कोही अरब छिरे त कोही सरकारी जागिरमा । उसँगै काठमाडौं छिरेको कति समकालिन कवि साथीहरू पनि कोरिया र जापान हिँडिसके । यतिन्जेलसम्म त छरुवा खोला पनि तमोर र सप्तकोशी हुँदै बगेर समुद्रमा पुगिसक्यो होला ! ऊ भने करियरलाई दाउमा राखेर कविताको लागि यहीँ कतै अल्झिरहेको छ । पाख पखेराहरुमा अल्झिरहेको सुनाखरी फुलझैँ ।
भिरमा फुलिरहेको भिरफूल झैँ ।