April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

अभिनेत्री अमिषा पटेलविरुद्ध वारेन्ट जारी

2.4K

मुम्बई । फिल्म ‘गदर २’का कारण चर्चामा रहेकी बलिउड अभिनेत्री अमिषा पटेलविरुद्ध राँची सिभिल कोर्टले वारेन्ट जारी गरेको छ ।

उनीमाथि चेक बाउन्स र धोखाधडीको आरोप छ । अदालतले बिहीबार अभिनेत्री र उनको बिजनेस पाटर्नरविरुद्ध वारेन्ट जारी गरेको हो । अदालतले पटक पटक तारीख दिए पनि अमिषा र उनको वकिल अदालत पुगेका छैनन् । उनको यो रवैयामाथि कोर्टले दुःख व्यक्त गरेको छ ।

अब मुद्दाको आगामी सुनुवाई अप्रिल १५ मा हुनेछ । यो मामलामा अभिनेत्रीमाथि अढाई करोड रुपैंयाँ धोखाधडीको आरोप छ । राँची जिल्लाका हरमू निवासी अजयकुमार सिंहले अमिषा र उनका बिजनेस पाटर्नरविरुद्ध धोखाधडीको मुद्धा दर्ता गराएका थिए ।

Advertisement

अजयका अनुसार अमिषाले फिल्म ‘देसी म्याजिक’ को अफर दिँदै अजयलाई फिल्ममा लगानी गर्न आग्रह गरेकी थिइन् । त्यसपछि अजयले अढाई करोड रुपैंयाँ अमीषाको खातामा पठाइदिएका थिए ।

फिल्मको सुटिङ सन् २०१३ मा हुनुपर्ने थियो । तर सुटिङ भएन । त्यहीबेला अजयले अमिषालाई पैसा फिर्ता माग्दा अमिषा र उनको मेनेजरले फिल्मको काम पुरा गरेपछि व्याजसहित पैसा फिर्ता गर्ने आश्वासन दिएका थिए ।

अमिषाले लामो समयसम्म पैसा नदिएपछि अक्टोबर २०१८ मा अजयलाई अढाई करोड र ५० लाखको दुई चेक दिएकी थिइन् । तर चेक बाउन्स भएपछि उनले अमिषाविरुद्ध उजुरी दिएका हुन् ।

(एजेन्सीको सहयोगमा)