April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

नेपालका चर्चित कलाकारहरुको उपस्थितिमा ‘च्यारिटी डिनर शो’ आयोजना गर्दै एनबीसी यूके

२०७९ फाल्गुन २२

1.7K

लन्डन । बेलायतमा ‘च्यारिटी डिनर तथा सांस्कृतिक कार्यक्रम’ हुने भएको छ । नेप्लिज ब्रिटिश कम्युनिटी (एनबीसी) यूकेको आयोजनामा अप्रिल २ अर्थात् चैत १९ गते आइतबार साँझ भव्य कार्यक्रमको आयोजना हुन लागेको हो ।

कार्यक्रममा नेपाली राष्ट्रिय कलाकारहरुको उपस्थिति रहने आयोजकले जनाएको छ । आइतबार लन्डन साउथ हयारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा एक पत्रकार सम्मेलन गरी एनबीसी यूकेका सचिव रविन्द्र अधिकारीले कार्यक्रममा हाँस्य कलाकार सुमन कार्की, गायिका एलिना चौहान र मोडल तथा नृत्यांगना अन्जली अधिकारी नेपालबाट आउने जानकारी दिएका हुन्् ।

नेपालस्थित पवित्र समाज सेवाको सहयोगार्थ ब्लु रुम स्पोर्टस् भेन्यू हयारोमा हुन लागेको उक्त च्यारिटी तथा सांस्कृतिक कार्यक्रम प्रवेशका लागि वयस्कको लागि ५० र १३ वर्ष मुनीका बालबालिकाका लागि २५ पाउण्ड टिकट शुल्क तोकिएको छ । प्रति व्यक्ति ४० पाउण्ड खर्च लाग्ने जनाउंदै आयोजकले टिकटबाट केही र प्रायोजकबाट उठाइ करिब ८ हजार पाउण्ड वचत गर्ने लक्ष्य लिएका छन् ।

Advertisement

एनबीसी यूके संयोजक राजेन्द्र ओझाका अनुसार कार्यक्रम तयारीको सुरुवात भइसकेको छ । संस्था स्थापनाको उद्देश्य नै च्यारिटी कार्य गर्नु रहेकोले च्यारिटीसहित विशुद्ध मनोरन्जनका लागि कार्यक्रम तय गरिएको उनले जानकारी दिए । उनले नेपालस्थित पवित्र समाज सेवाले असहाय बलबालिका तथा वृद्धवृद्धाको लालनपालन गरिरहेकाले कार्यसमिति बैठकमार्फत उक्त संस्थालाई सहयोग गर्ने निर्णय भएको जानकारी दिँदै कार्यक्रममा उपस्थित भइदिन अनुरोधसमेत गरे ।

एनबीसी यूकेको स्थापना सन् २०१० मार्च ६ मा भएको हो । सन् २०१६ मा बेलायतको च्यारिटी कमिसनमा दर्ता भएको यस संस्थाले नेपालको विभिन्न क्षेत्रमा आइपरेका विपद् र समस्याहरुमा सहकार्य गर्दै आइरहेको छ ।