राष्ट्रिय चलचित्र पुरस्कार विजेता बेनिशा हमाल पछिल्लो पटक हरर फिल्म ‘घर’ मा देखिएकी थिइन् । यो फिल्म प्रदर्शन भएपछि उनी फिल्म मेकिङको अध्ययन गर्न मुम्बई हानिइन् । कोरोनाका कारण अध्ययन रोकिएपछि लकडाउन हुनुभन्दा एक हप्ता अगाडि मात्र उनी नेपाल आएकी थिइन् ।
अध्ययनका कारण ६ महिना मुम्बई बसेकी उनी अब अभिनयलाई निरन्तरता दिँदैछिन् । ‘घर’ पछि अभिनेत्री हमालले एक वर्ष कुनै फिल्म साइन गरिनन् । जसका कारण उनलाई फिल्म अफर हुन छाडेको चर्चा समेत चल्यो । तर, उनी लकडाउनमा मात्र आफूलाई आधा दर्जन जति फिल्मबाट अफर आएको बताउँछिन् । शनिवार राजधानीमा आयोजित फिल्म ‘भाँडाकुटी’ को घोषणा कार्यक्रममा उनले लकडाउनमा आफूलाई ५/६ वटा फिल्मबाट अफर आएको बताइन् । ‘लकडाउनमा ५/६ वटा स्क्रिप्ट पढिरहेको थिएँ । त्यसबेला ‘भाँडाकुटी’ बाट प्रस्ताव आयो । स्क्रिप्ट र टिम राम्रो लागेपछि काम गर्न राजी भएँ,’ बेनिशा हमालले भनिन् । उनले दुई वर्ष अगाडि नै आफू फिल्म मेकिङको अध्ययन गर्न मुम्बई गएको तर एउटा फिल्म गर्नुपर्ने कारणले नेपाल आएको बताइन् । आफैंलाई सेल्फ कन्ट्रोल गर्न फिल्म मेकिङ पढ्ने निर्णय लिएको उनको भनाई छ ।
बेनिशा थप्छिन्, ‘यतिबेला मैले आफूलाई सेल्फ कन्ट्रोल गर्नुपर्छ । यो बेला पनि पढिनँ भने पछि पछुताउनु पर्नेछ भनेर डेढ वर्ष कुनै प्रोजेक्टमा काम गर्दिनँ भनेरै म मुम्बई गएको थिएँ ।’ मुम्बईमा नेपाली साथीहरुले अडिसन दिन आग्रह गर्दा समेत आफूले अध्ययनलाई प्राथमिकता दिएको उनी बताउँछिन् । आफूले फिल्म निर्माण, निर्देशन र लेखनको अध्ययन गरेको बेनिशाले बताइन् ।