काठमाडौँ- श्रीमानको निधन भएपछि महिलाले जीवनभर विधवा भएर बस्नुपर्ने रुढीबादी सोच नेपाली समाजमा विद्यमान छ । एकल महिलाको पुनर्विवाहलाई समाजले नकारात्मक दृष्टि हेर्ने गरेको छ ।
तर, श्रीमतीको निधन भएको एक महिनामा नै पुरुषले दोस्रो विवाह गर्दा समाजले कुनै प्रश्न उठाउँदैन । पछिल्लो समय भने एकल महिलाले पतिको मृत्युपश्चात दोस्रो विवाह गरेका उदाहरण धेरै छन् । अभिनेत्री श्वेता खड्काले पनि श्रीमानको निधनको ६ वर्षपछि सोमवार दोस्रो विवाह गरिन् । उनको यो निर्णयले समाजको डरले एकल जीवन विताउन बाध्य महिलाहरुका लागि हौसला मिलेको छ । अभिनेत्री करिश्मा मानन्धरले श्वेताको निर्णयलाई एउटा उदाहरणीय सुरुवात भनेकी छन् ।
समाजमा जनजागरण फैलाउन कहिले काहिँ आफैं उदाहरण बनेर दिनुपर्ने उनको भनाई छ । सोमवार सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै उनले लेखेकी छन्, ‘आएको हरेक परिस्थितिको सामना गर्दै, साथै समाजका मुल्य मान्यतालाई कायम राख्दै र मान्दै जीवनलाई हिम्मतका साथ जिउन ठूलो आँट चाहिन्छ । यस्तोमा कतिपय अवस्थामा आफ्ना भावनाहरुलाई पैताला मुनी कुल्चिनु पर्ने स्थिति पनि आउँछ । हरेक मानिसको खुसी भएर बाँच्न पाउने अधिकार छ ।’
‘पुरुष प्रधान मानसिकता रहेको हाम्रो यो समाजमा ठूला-ठूला आवाजमा कस्तो प्रकारको महिला सशक्तिकरणका कुरा गरिरहेका छौं हामी ? जो विचरी अवस्थामा छिन् र अरुको सहयोगको अपेक्षा गरेर आँखा तानेर बसेकी छिन् या जो हिम्मतका साथ ती सबै समस्याहरुसँग जुधेर आफूलाई भित्रैबाट सशक्तिकरण गरेर आफ्नो लागि नयाँ बाटोको निर्माण गर्दैछिन् र यो पनि समाजको अगाडि प्रस्तुत भएर गर्दैछिन् । यो एउटा उदाहरणीय सुरुवात हो,’ उनले लेखेकी छन् ।
जीवनका परेका भवितव्यबाट लथालिङ्ग नभइ त्यसबाट सिकेर बलियो भएर अगाडिको बाटो बनाउनु पर्ने उनले लेखेकी छन् । श्वेतालाई बैबाहिक जीवनको शुभकामना दिँदै उनले अगाडि लेखेकी छन्, ‘समाजमा जनजागरण कहिले काहिँ आफैं उदाहरण बनेर पनि दिनुपर्छ ।तिम्रो हिजोको स्टाटस लेखाइमा भएको तिम्रा भाव बुझेँ जस्तो लागेर यी शब्दहरु लेख्दैछु । नवीन बैबाहिक जीवनको शुभकामना श्वेता । तिमी वास्तविक जीवनको नायिका हौ ।’




