स्टाइलिस अभिनेता सलिनमान बनियाँ अभिनीत फिल्म ‘यात्रा’ बाट अभिनय करिअर सुरु गरेकी अभिनेत्री हुन्, मलिका महत । यो फिल्ममा उनको अभिनय र सुन्दरताको निकै प्रशंसा भएको थियो ।
समीक्षक तथा फिल्मकर्मीले सम्भावना बोकेको अभिनेत्रीको रुपमा तारिफ गर्दा उनी दंग थिइन् । तर, फिल्म बक्सअफिसमा डिजास्टर सावित हुँदा उनको करिअरले गति लिन सकेको छैन । ‘यात्रा’ पछि उनले दोस्रो फिल्मको रुपमा अभिनेता खगेन्द्र लामिछानेको अभिनय र निर्देशनमा बनेको फिल्म ‘पानीफोटो’ मा काम गरेकी छन् ।
यसमा नाम चलेका कलाकारहरुको ठूलो जथ्था रहेका कारण मलिका सहायक भूमिकामा हुनसक्ने धेरैको अनुमान छ । उनी अहिले यही फिल्मको रिलिजको प्रतिक्षामा छिन् । स्थिति सामान्य भएपछि फिल्म प्रदर्शनमा आउने तयारीमा छ ।
गायक स्वप्न सुमनको स्वरमा रहेको ‘म तिम्रो’ बोलको गीतमा अभिनय गरेपछि चर्चामा आएकी मलिकालाई ‘सानुमाया’ बोलको गीतले लोकप्रियताको उचाईमा पुर्याएको थियो । फिल्म ‘यात्रा’ मा काम गरेपछि म्यूजिक भिडियोबाट दूरी बनाएकी उनले अभिनेता पल शाहसँग नयाँ म्यूजिक भिडियोमा स्क्रिन शेयर गरेकी छन् ।
‘फुलबुटे सारी’ बोलको गीत शनिवार सार्वजनिक भएको छ । पल शाहसँग म्यूजिक भिडियोमा काम गर्दा निकै रमाइलो भएको मलिका बताउँछिन् । उनलाई पलसँग फिल्ममा पनि काम गर्ने रहर रहेछ । उनी भन्छिन्, ‘मलाई उहाँको काम पहिलादेखि नै राम्रो लाग्थ्यो । पहिलो पटक सँगै काम गर्दा उहाँ कति प्रोफेसनल हुनुहुन्छ भनेर देख्न पाएँ । उहाँसँग काम गर्न एकदमै सजिलो भयो । यो देखेर उहाँसँग फिल्ममा काम गर्ने रहर चाहिँ जागेको छ ।’
पललाई पनि ‘यात्रा’ मा मलिकाले गरेको अभिनय मन परेको रहेछ । फिल्म हेरेदेखि मलिकासँग काम गर्ने इच्छा रहेको सुनाउँदै उनले ‘फुलबुटे सारी’ गीत सार्वजनिक कार्यक्रममा भने- ‘फिल्ममा मलाई मलिकाको अभिनय राम्रो लागेको थियो । त्यसबेलादेखि सँगै काम गर्ने इच्छा थियो । बल्ल त्यो संयोग जुर्यो, खुसी छु ।’ मलिकासँग फिल्ममा पनि काम गर्ने इच्छा रहेको उनले बताए ।




