November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

वर्षाले सुरु गरिन् ‘परदेशी २’ को छायांकन

4.3K

काठमाडौँ – एक महिना लामो अमेरिका बसाईपछि नेपाल फर्किएकी अभिनेत्री वर्षा सिवाकोटीले  फिल्म ‘परदेशी २’ को छायांकन सुरु गरेकी छन् । बिहीवारबाट उनले फिल्मको सुटिङ सेट ज्वाइन गरेकी हुन् । मंसिर ११ गतेदेखि फिल्मको पाल्पाबाट छायांकन सुरु भएको थियो ।

पाल्पाको छायांकन सकेर निर्माण टिम बुधवार चितवन फर्किएको छ । पाल्पामा भएको छायांकनमा वर्षाको सिन थिएन ।  आठ महिनापछि फिल्मको सेटमा फर्किन पाएकोमा उनले खुसी व्यक्त गरेकी छन् । निषेधाज्ञा खुकुलो भएपछि विभिन्न म्यूजिक भिडियोमा काम गरेकी उनी लकडाउनभन्दा अगाडि ‘परदेशी २’ कै छायांकन गरिरहेकी थिइन् । अब यो फिल्मको छायांकन अन्तिम चरणमा पुगेको निर्देशक नारायण रायमाझीले बताएका छन् ।

चितवनपछि फिल्मको केही सिन जनकपुरमा खिचिनेछ । फिल्ममा वर्षाका अलावा दीलिप रायमाझी, प्रशान्त तामाङ्ग, प्रकाश सपूत, केकी अधिकारी, नीर शाह, रमा थपलिया, देबेन्द्र बब्लूलगायतका कलाकारहरुको अभिनय रहेको छ । रमेश विजीले तयार पारेको कथामा निर्माण भइरहेको फिल्मलाई निर्देशक रायमाझी र राजेश वंशलले निर्माण गरेका हुन् । कोरोना महामारीका कारण यो फिल्मको छायांकन ८ महिना रोकिएको थियो । ‘परदेशी २’ मा विभिन्न कारणले विदेशिन बाध्य नेपालीहरुको कथालाई समेटिएको रायमाझीले बताए ।

Advertisement

 फिल्मको केही प्रतिशत छायांकन अमेरिकामा गर्नुपर्ने भए पनि कोरोना भाइरसका कारण विदेशमा छायांकन सम्भव नभएपछि नेपालमै सेट लगाएर खिच्ने तयारी भइरहेको जानकारी प्राप्त छ । यो फिल्म २०७२ सालमा प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘परदेशी’ को सिक्वेल हो ।