काठमाडौँ – संगीतकार तथा निर्माता बादल घिमिरेले आफ्नो जन्मदिनको अवसर पारेर नयाँ म्युजिक भिडियो निर्माण गर्ने घोषणा गरेका छन् ।
आइतबार अनामनगरस्थित सिलौटो कटेजमा पत्रकार सम्मेलन गरेर नयाँ गीत ‘ पानी सलल ..’ मा नायक पल शाह र नायिका समृद्धि पौडेलको जोडी बाँधिने जानकारी गराइएको छ । बादल घिमिरेको शब्द / संगीत तथा निर्माण रहने गीतमा मेलिना राई र मन्दिप पोखरेलको आवाज रहनेछ । शिव बिकेले भिडियोलाई निर्देशन गर्नेछन् भने ज्ञानेन्द्र शर्माले खिच्नेछन् । करिब ५ लाख रूपैयाँ खर्च गरिने भिडियो यही पुषको पहिलो हप्ता रिलिज गरिनेछ ।
पत्रकार सम्मेलनमा गीतको एक हरफ पनि सार्वजनिक गरिएको थियो । साथै बादल घिमिरेलाई जन्मदिनको शुभकामना दिन नायक पल शाह , दुर्गेश थापा , रूपक डोटेल , अकेशा पोखरेल , रविन पोखरेल , दीपक शर्मा , सुब्रतराज आचार्य लगाएत उपस्थित भएका थिए ।




