November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

वरिष्ठ पत्रकार दण्ड गुरुङलाई बेलायतमा सम्मान

1.2K

लन्डन । वरिष्ठ पत्रकार तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का पूर्वअध्यक्ष डण्ड गुरुङलाई बेलायतमा सम्मान गरिएको छ । हिन्दु महिलाहरुको महान् पर्व तीज कार्यक्रमको अवसरमा बेलायत आएका उनलाई तमु समाज युकेले स्वागत तथा सम्मान गरेको हो ।

तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालका सल्लाहकारसमेत रहेका गुरुङलाई आफ्नै सामुदायिक भवन बारहम पार्क वेम्लीमा ‘विशिष्ट समाज सेवा सम्मान’द्वारा सम्मान गरेको हो । पत्रकार गुरुङ एबीसी टेलिभिजनका सम्पादक तथा गुरुङन्यूज डटकमका संरक्षक तथा सम्पादक हुन् ।

सञ्चार माध्यमबाट तमुहरूको विकास र समुन्नतिका लागि विशेष योगदान पुर्‍याउनुका साथै तमु समाज युकेले कोभिड महामारीमा र बाढी पहिरोका कारण कष्टकर जीवनयापन गर्न बाध्य भएका नेपालीहरुका लागि राहत वितरण कार्यमा सहभागी हुनुका साथै तमु समाज युकेको मुखपत्र (स्मारिका) सलि टको प्रकाशनमा समेत विशेष योगदानको उच्च कदर गर्दै सो सम्मान प्रदान गरिएको समाजले जनाएको छ ।

Advertisement

उक्त स्वागत र सम्मान कार्यक्रमको संचालन समाजका निवर्तमान महासचिव धरम बल गुरुङले गरेका थिए भने संस्थाका अध्यक्ष बिन्दु घले, संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ र आमा समूहका अध्यक्ष बिमला गुरुङ, निवर्तमान अध्यक्ष उमादेवी गुरुङले खादा फेटा लगाई विशिष्ट समाज सेवा सम्मानपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा तमु समाज युकेका निवर्तमान अध्यक्ष शिवकुमार गुरुङ, पूर्वअध्यक्षहरु अर्जुनकुमार गुरुङ, शिवचन्द्र गुरुङ, वरिष्ठ उपाध्यक्ष भिम गुरुङ, उपाध्यक्ष मिरा गुरुङ, आमा समूहका पूर्वअध्यक्ष माया गुरुङ, तमु धीं युकेका पूर्वअध्यक्ष तथा तमु समाज युकेका सल्लाहकार सुवसिङ गुरुङ (बिईएम) का साथै सल्लाहकारहरु र कार्य समितिका पदाधिकारीहरुको उपस्थिति थियो ।