April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

भूपू गोर्खा सैनिक समस्या समाधानका लागि नेपाल र बेलायतबीच निर्णायक वार्ता हुँदै

2.2K

लण्डन । गोरखा भूतपूर्व सैनिकहरूको विभिन्न समस्याहरूको समाधानका लागि नेपाल र बेलायतबीच हुन लागेको निर्णायक वार्ताका लागि गोरखाहरूका तर्फबाट भाग लिने प्रतिनिधिहरूको टुङ्गो लागेको छ । शुक्रबार लण्डनस्थित नेपाली दुतावासमा भूतपूर्व सैनिकहरूका सरोकारवाला प्रतिनिधिहरूसहित भएको छलफलले वार्तामा भाग लिने प्रतिनिधिहरूको टुङ्गो लगाएको हो ।

नोभेम्बर २२ मा वेष्टमिन्स्टरस्थित रक्षा मन्त्रालयमा हुने निर्णायक द्विपक्षीय वार्तामा बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले नेपाली टोलीको प्रतिनिधित्व गर्ने छन् । नेपालबाट परराष्ट्र मन्त्रालयका युरोप महाशाखा हेर्ने सहसचिव पनि आउने जनाइएको छ ।

उक्त वार्तामा गोरखाहरूका तर्फबाट यसअघिका वार्तामा भाग लिँदै आएका मेजर रिटायर्ड जुदबहादुर गुरुङ र धर्मबहादुर तामाङले भाग लिनेछन् भने गोरखा सत्याग्रहका संयोजक कृष्णबहादुर राईले पनि भाग लिनेछन् । अन्तिम वार्तामा गोरखा सत्याग्राहीहरूले समेत भाग लिन इच्छा व्यक्त गरेपछि थप दुईजना गोरखाका प्रतिनिधिहरू सरिक गराउन बेलायती रक्षा मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरिएको छलफलमा सहभागी एक प्रतिनिधिले जानकारी दिए ।

Advertisement

गोरखा भूतपूर्व सैनिक संस्थाहरूका प्रतिनिधिहरूको अन्तिम वार्तामा पेन्सन पहिलो माग हुनुपर्नेमा छलफलको निचोड छ । पेन्सनको माग टुङ्गोमा पुगेपछि मात्र अरू विषयमा वार्ता अगाडी बढाउनु पर्ने उनीहरूको अडान छ ।

 यस तहमा निर्णय हुन नसकेको खण्डमा उच्चस्तरीय वार्ता हुने छलफलमा सहभागी एक प्रतिनिधिले बताए। उनका अनुसार वार्ता भङ्ग भएको खण्डमा गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले दुबै सरकारलाई ‘कि वार कि पार’ गर्ने चेतावनी चेतावनी दिइसकेको छ ।

छलफलमा राजदुताबासबाट राजदुत आचार्य, उपनियोग प्रमुख रोशन खनाल र सैनिक सहचरी रत्नबहादुर गोदार र गोरखाहरूका तर्फबाट सत्याग्राहीहरू ज्ञानराज राई, पुष्पा राणा घले र धनबहादुर गुरुङको सहभागिता थियो । यस्तै, वार्ताकारहरू मेजर रिटायर्ड जुदबहादुर गुरुङ र धर्मबहादुर तामाङ, गोरखा सत्याग्रह संयुक्त स‌ङ्घर्ष समितिका संयोजक कृष्णबहादुर राई, गोरखा भूतपूर्व सैनिक संघ (गेसो) उपसभापति क्षेत्रकला राई, शेर सुनार र मेजर रिटायर्ड उदयबहादुर गुरुङ सहभागी थिए ।