एजेन्सी- लण्डन:- बेलायतमा फाइजर र बायोएनटेकले बनाएको कोरोना भाइरस विरुद्धको खोप लिने दुई जनामा एलर्जिक असर देखिएको छ।
द गार्डियनका अनुसार मंगलबार खोप लिएका दुई जनालाई एलर्जी भएको हो। योसँगै बेलायतको औषधि तथा स्वास्थ्यसेवा नियामक निकायले कुनै प्रकारकको एलर्जी भएका वा हुने मान्छेहरूले उक्त खोप नलिन भनेको छ।
खोप लगाएपछि असर देखिएका दुवै जना राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) का कर्मचारी भएको द गार्डियनले जनाएको छ।
एजेन्सीले एनएचएसलाई कुनै पनि औषधि, खाना वा खोपबाट एलर्जी हुनेलाई खोप नदिन अनुरोध गरेको हो। एनएचएसले पनि खोप वितरण गर्ने कार्यक्रममा सहभागी सबैलाई जानकारी गराइसकेको छ।
अब बुधबार खोप लिन सहभागी भएकालाई एलर्जी भए-नभएबारे सोधिनेछ।
एनएचएसका निर्देशक स्टेफेन पोविसले भने, ‘पहिले एलर्जी भएका दुई जनामा खोपले एलर्जीका असर देखाएको छ। दुवै जनाको स्वास्थ्य सुधार भइरहेको छ।’
बेलायतले मंगलबारदेखि फाइजरले बनाएको खोप लगाउन थालेको हो।