लन्डन- बेलायत सरकारको सल्लाहकारसमेत रहेका एकजना वैज्ञानिकले बेलायत कोभिड-१९ को तेस्रो लहरको पनि चपेटामा पर्नसक्ने भन्दै सरकारलाई चेतावनी दिएका छन्।
उनले यससँग सम्बन्धित बेलायतमा पछिल्लो समयमा तीन हजार ३८३ जना यस्ता नयाँ संक्रमित भेटिएको भन्दै यस्तो अवस्था रहेका बताएका हुन्। तेस्रो लहर ल्याउनसक्ने प्रकारका यूके भेरियन्टका नयाँ संक्रमितहरु थपिने क्रम जारी नै रहेकोले त्यस्तो अवस्था आएको क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक रवि गुप्ताले बताएका हुन्।
उनले बेलायतको वर्तमान अवस्थाका बारेमा भनेका छन्, ‘हुनत हाल बेलायतमा देखापरिरहेका संक्रमितहरुको संख्या थोरै छ तर पनि ती संक्रमितहरुलाई भारतमा भेटिएका भारतीय प्रजातिका संक्रमितहरुका कारणले बल पुग्न पनि सक्छ।’
यसै कारणले बेलायतमा कोभिडको तेस्रो लहरको सुरुआत हुनसक्ने अवस्था रहेको उनले बताएका छन्। उनले बीबीसीसँगको कुराकानीमा सोमबार भनेका थिए कि अहिले बेलायतमा देखिएका संक्रमितको संख्या अहिलेको लागि थोरै जस्तो लाग्छ तर पछि गएपछि यी संख्या पनि धेरै नै हुँदै जाने छन्।
‘सुरुमा देखिँदा जुनसुकै भेरियन्ट पनि सानो संख्यामा नै देखापरेका थिए र अब तिनै सानोबाट नै धेरैमा फैलिनसक्ने अवस्था हिजोको जस्तो हुन पनि सक्छ,’ उनले भनेका छन्।
बेलायतमा दुई महिनाअघि भेटिएको भनिएको कोभिड-१९ को यूके भेरियन्टलाई निकै खतरानाक भनिएको छ।