काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा शुक्रबार सरकारी वकिलले जवाफी बहससँगै थुनछेक आदेश हुने भएको छ । प्रतिरक्षा बहस लम्बिएपछि पूर्वनिर्धारित समयमा थुनछेक आदेश सुनाउन असफल भएको जिल्ला अदालत काठमाडौंले पक्राउ परेका १८ आरोपितबारे शुक्रबार थुनछेक आदेश गर्ने तयारी गरेको हो ।
न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सरकारी वकिल र १८ आरोपितका कानून व्यवसायीहरूको बहस सकिएको छ । न्यायाधीश न्यौपानेले शुक्रबार बिहान सरकारी वकिलहरूको जवाफी बहस सुन्ने र त्यसपछि आदेश गर्नेछन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा २१ जेठदेखि जिल्ला अदालतमा थुनछेक बहस चलिरहेको छ ।
मंगलबार नै आदेश गर्ने जनाइएको थियो । तर शरणार्थी प्रकरणमा थुनामा रहेका व्यक्तिहरूको पक्षमा बहस लम्बिएको थियो । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका एमाले सचिव टोपबहादुर रायमाझी, नेपाली काँग्रेस केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १८ जना अहिले प्रहरी नियन्त्रणमा छन् । उनीहरूलाई थुनामा राख्ने, धरौटी माग्ने वा सामान्य तारेखमा छाड्नेमध्ये एक आदेश जिल्ला अदालत काठमाडौंले गर्नेछ ।
आरोपितहरूको भूमिका, संलग्नता, प्रमाणका आधारमा इजलासले हिरासतमा रहेकालाई एकै प्रकारको आदेश नगर्न पनि सक्छ । उनीहरूलाई फरकफरक आदेश हुन सक्छ । शुक्रबार थुनछेक आदेशपछि मात्र अदालतमा मुद्दाले प्रवेश पाउनेछ । मुद्दामा जिल्ला अदालतबाट आदेश हुन भने केही समय लाग्नेछ । जिल्ला अदालतले गरेको थुनछेक आदेशमा चित्त नबुझे दुवै ९आरोपी र सरकारी वकिल० पक्ष पुनरावेदनका लागि उच्च अदालत जाने बाटो खुल्नेछ ।
घटनामा संलग्न १२ जना अझै फरार छन् भने विभिन्न मितिमा पक्राउ परेका १८ जना हिरासतमा छन् । पक्राउ परेका रायमाझी, खाणसहितलाई रिहाको आदेश हुन सक्ने भन्दै विभिन्न पक्ष र समूहले माइतीघरमा प्रदर्शन गर्दै आएका छन् । नागरिक दैनिकबाट