काठमाडौं । अमेरिकाले प्यालेस्टाइनी विद्रोही समूह हमासले गाजामा सर्वसाधारणमाथि आक्रमणको योजना बनाइरहेको दावी गरेको छ । हमासले गाजामा सर्वसाधारणमाथि आक्रमण गर्ने योजना बनाइरहेको संकेत गर्ने विश्वसनीय रिपोर्ट प्राप्त भएको अमेरिकी विदेश मन्त्रालयले बताएको हो ।
गाजामा फेरि आक्रमण भए युद्धविराम सम्झौताको गम्भीर उल्लङ्घन मात्रै नभइ मध्यस्ततामार्फत् अहिलेसम्म प्राप्त प्रगतिलाई कमजोर बनाउने मन्त्रालयको भनाइ छ ।
अमेरिकाले इजिप्ट, कतार र टर्कीलाई पहिले नै यसबारे जानकारी गराइसकेको र हमासलाई युद्धविरामका सर्तहरू पालना गर्न माग गरेको बताएको छ ।
’यदि हमासले आक्रमण गर्छ भने गाजाका जनताको सुरक्षा सुनिश्चित गर्न र युद्धविराम कायम राख्न कदम चालिनेछ,’ विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ । हमासले अहिलेसम्म यस कथनमा कुनै टिप्पणी गरेको छैन ।




